आइतबार, मंसिर ९ गते २०८१    
images
images

लुम्बिनी केबलकार भोलिदेखि व्यावसायिक सञ्चालनमा आउँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १४ २०८०
images
images
लुम्बिनी केबलकार भोलिदेखि व्यावसायिक सञ्चालनमा आउँदै
images
images

लुम्बिनी- बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबलकार सोमबारदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका-३ बमघाटमा आधार ‘स्टेशन’ रहेको केबलकारको ‘टप स्टेसन’ पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित वसन्तपुरमा रहेको छ।

images
images
images

लुम्बिनी केबलकार प्रालिमार्फत निर्माण गरिएको तीन किलोमिटर दुरीको केबलकारको बेस स्टेशन, टावर, टप बटम स्टेसनलगायतका सम्पूर्ण निर्माणका काम पूरा भएको र सोमबार भोलिदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने कम्पनीका सञ्चालक चन्द्रप्रकाश ढकालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। 

images

उनले बुटवलबाट प्रदेशको राजधानी सरेको र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको अवस्थामा केबलकार सञ्चालनले बुटवल तथा भैरहवा क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।

images

'राजधानी र अन्तर्राष्ट्रिय विमानस्थलका कारण यस क्षेत्रमा होटल तथा पर्यटनका क्षेत्रमा ठूलो लगानी भएको छ', उनले भने, 'राजधानी बुटवलबाट सरेको र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा लगानी खेरजाने चिन्तामा रहेका व्यवसायीलाई केबलकारको सञ्चालनले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ।'

उनले यसबाट आन्तरिक पर्यटन प्रवर्द्धनका साथै बुद्ध जन्मस्थल लुम्बिनी आउने र भारतिय पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे। यसका साथै यस क्षेत्रको कृषि, हस्तकला लगायतको बजारीकरणमा मुख्य टेवा पुग्ने बताए।

वसन्तपुरमा क्यासिनोसहितको एक सय ५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट, मन्दिरलगायत संरचना निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो परियोजनाका लागि पाँच अर्ब लगानी भएको उनले जानकारी दिए। परियोजनाका लागि मुख्य लगानीकर्ता आइएमई समूहले ५१ प्रतिशत र अन्यको ४९ प्रतिशत लगानी रहेको सञ्चालक ढकालले जानकारी दिए। 

केबलकारमा २५  गोण्डुला रहने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् भने प्रतिघण्टा अधिकतम छ सय यात्रु आवातजावत गर्न सक्ने छन्। विसं २०७७ फागुन १ गते शिलान्यास गरिएको केबलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रुले आवातजावत गर्न सक्ने कम्पनीले जनाएको छ।

कोरोना महामारीलगायत कारणले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नहुँदा सञ्चालनमा ढिलाइ भएको सञ्चालक तेजप्रसाद विकले पत्रकार सम्मेलनमा बताए। केबलकारको हिल स्टेशन रहेको पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका-३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ। उक्त मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठाका लागि यही शुक्रबारदेखि सात दिने कालिका महापुराण चलिरहेको छ। भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको प्राण प्रतिष्ठाका लागि सुरु भएको महापुराण यही जेठ १८ गतेसम्म सञ्चालन हुनेछ।

‘कामाख्या भगवती मूर्ति प्राण प्रतिष्ठा अनुष्ठान समारोह’ नाम दिइएको यस पुराणमा जपात्मक, पाठात्मक र हवनात्मक विधिमार्फत वसन्तपुरमा निर्मित मन्दिरमा कामाख्या देवीको स्थापनार्थ कालिका पुराणको पाठपरायण र देवी महात्म्यासहितको भक्ति सङ्गीत चलिरहेको छ। 

कामाख्या भगवती मन्दिर परिसरमा कैलाश पर्वत, वर, पीपल, ढुङ्गे धारा, कुण्ड, पोखरीलगायतका संरचना निर्माण भएका छन्। करिब एक हजार मिटर उचाइमा रहेको वसन्तपुरमा यसअघि पातलो बस्ती रहेको अहिले मन्दिर निर्माण भई आकर्षक धार्मिक पर्यटकीय गन्तब्य बनेको छ। रासस


प्रकाशित : आइतबार, जेठ १४ २०८०१३:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend