शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कर्णाली करिडोरमा पाँच पुल बन्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १६ २०७८
कर्णाली करिडोरमा पाँच पुल बन्ने

 हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले  पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङगार पुल निर्माण गर्न लागिएको जानकारी दिए। 

काठमाडौं- कर्णाली करिडोरमा चालु आर्थिक वर्षमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढ्ने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा यो वर्ष पाँच पुलका लागि ठेक्का गरिने कर्णाली करिडोर हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ ।

 हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले  पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङगार पुल निर्माण गर्न लागिएको जानकारी दिए। 

'यी पुल बनेपछि पनि स्थानीयवासीलाई आवतजावतमा सजिलो हुनेछ' उनले भने। 

यसअघि नै खार्पुनाथमा पक्की पुल र छारे लेप्चेमा दुई बेलिब्रिज राख्नका लागि ठेक्का भई सम्झौता भइसकेको छ । तत्काल पुल आवश्यक भएकामा बेलिब्रिज राखिने भए पनि कर्णाली नदीको वहाब कम नभएसम्म राख्न नसकिने प्रमुख लामाले बताए। 

नदीको सतह घट्नासाथ मङ्सिरको पहिलो सातासम्म बेलिब्रिज निर्माणस्थल पुर्‍याउने लक्ष्य लिइएको छ । करिडोरमा निर्माण गर्नुपर्ने स्याम्ने, लाली, सुनाखडा, गोठी, न्यासी र सरिसल्ला पुलका लागि समेत बजेट विनियोजन भइसकेको छ । सो पुलको ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट मङ्सिरको अन्तिमसम्ममा ठेक्का गर्ने तयारी भइरहेको छ । 

सरिसल्लाको कर्णाली नदीमा पक्की पुल नबनेसम्म फेरि (गाडी वारपार गर्ने डुङ्गा) समेत राखेर यातायात सञ्चालन गरिने प्रमुख लामाले बताए।  राष्ट्रिय गौरबको कर्णाली करिडोरको निर्माण सम्पन्न हुने क्रममा हुँदा पुल निर्माण पनि अघि बढाउन लागिएको हो ।

कूल १४५ किमी लम्बाइको करिडोर हाल १० किमी मात्रै ट्र्याक खोल्न बाँकी छ । हिमाली जिल्ला भएकाले हिउँदमा काम गर्न कठीन भएको योजनाले जनाएको छ । कठीन भूगोलका कारण सडक विभागले सात किमी सडकको ट्र्याक खोल्न सेनालाई जिम्मेवारी दिएकामा तिहारलगत्तै काम सुरु गर्ने बताइएको छ।  रासस


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend