बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

निजी क्षेत्रमा विस्तार सुस्त : गतवर्ष ५ खर्ब ५० अर्ब बढेको कर्जा यो वर्ष १ खर्ब ६१ अर्बमात्रै बढ्यो

बुधबार, वैशाख २७ २०८०
निजी क्षेत्रमा विस्तार सुस्त : गतवर्ष ५ खर्ब ५० अर्ब बढेको कर्जा यो वर्ष १ खर्ब ६१ अर्बमात्रै बढ्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ६१ अर्ब ९८ करोड (३.५ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ५० अर्ब ६४ करोड (१३.५ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा बैंक तथा वित्तीयसंस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.२ प्रतिशतले बढेको छ।

२०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३७.१ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३.४ प्रतिशतले, विकास बैंकहरूको ४.७ प्रतिशतले र वित्त कम्पनीहरूको १.१ प्रतिशतले बढेको छ।

२०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२.२ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ। २०७८ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७९/८० को नौमहिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.२ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १९.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.९ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३.१ प्रतिशतले बढेको छ भने आवधिक कर्ष कर्जा ६५.८ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ६.७ प्रतिशतले र हायर पर्चेज कर्जा १४.६ प्रतिशतले घटेको छ।


प्रकाशित : बुधबार, वैशाख २७ २०८००७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend