बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

इन्साइडर ट्रेडिङमा मुछिएका ज्ञानेन्द्रलाल प्रधानविरुद्ध मुद्दा दायर

मंगलबार, वैशाख २६ २०८०
इन्साइडर ट्रेडिङमा मुछिएका ज्ञानेन्द्रलाल प्रधानविरुद्ध मुद्दा दायर

काठमाडौं- नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। बोर्डले धितोपत्रसम्बन्धी ऐनको दफा ९८ अनुसारको कारबाही मागगरी मुद्दा दायर गरेको हो। 

नेपाल हाइड्रो डेभलपर्स कम्पनीको अध्यक्ष हुँदा र अध्यक्ष पदबाट हटेको एक वर्ष पूरा नहुँदै आफ्नो र आफ्नो परिवारका सदस्यका नाममा भएको सेयर बिक्री गरेको पाइएको छ।

धितोपत्र दर्ता निष्काशन नियमावली ३८ १ (क) अनुसार कुनै पनि सूचीकृत कम्पनीको संचालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको एक वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था गरेको छ। प्रधानले गरेको कारोबार छानबिन गर्न गत मंसिर २५ गते बोर्डले तहकिकात अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरेको थियो।  

बोर्डले दायर गरेको मुद्दामा भनिएको छ- 'निजले आफू स्वयमले आफ्नो सेयर बिक्री नगरेता पनि परिवारको सहयोग लिइ सेयर बिक्री गर्ने कार्य सफा मनसायले गरेको देखिएन। निज ज्ञानेन्द्र लाल प्रधानले धितोपत्र लगायतका कानूनमा रहेको छिद्र प्रयोग गरी श्रीमती, छोरा तथा छोरीको नाममा घरायसी नामसारीको परिपञ्च गरी सोही सेयर बिक्री गरेको अवस्था देखिँदा संस्थागत गतिविधिभन्दा पनि बजार मूल्यबाट लाभ लिने गरी कारोबार गरेको देखिन आउँछ।'  

प्रधानले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९८ को जालसाजीयुक्त कारोबार गरेको देखिएको बोर्डले जनाएको छ। मुद्दामा भनिएको छ- 'निज ज्ञानेन्द्र लाल प्रधानले नियमन निकाय नेपाल धितोपत्र बोर्ड, धितोपत्र बजार लगायत अन्य सरोकारवालालाई झुक्याउने योजना वा काम गरेको प्रष्ट देखिन आयो।'

gyane.jpg


प्रकाशित : मंगलबार, वैशाख २६ २०८००४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend