बुधबार, वैशाख १२ गते २०८१    
images
images

प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाइ

images
बिजनेस न्युज
images
images
प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाइ

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन्।

images
images

काठमाडौं- यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन्। तर मौसम अनुकूल नहुँदा आरोहण हुन सकेको छैन।

images
images
images

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन्। तर, झण्डै दुई सातादेखि सगरमाथाको आधार शिविर र आसपास क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन।

images

आइसफल डाक्टरले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन्। उनीहरुले चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि मात्रै सगरमाथा आरोहण सुरु हुन्छ।

images

पश्चिमी र स्थानीय वायुको प्रभावले एक सातादेखि बिग्रिएको मौसम शुक्रबारदेखि क्रमिक रुपमा सुधार आएको छ। दुई दिनदेखि राजधानी काठमाडौंसहित देशभरको आकाश खुलेर चर्को घाम लागेको छ। देशभरको मौसममा सुधार आएपनि आरोहणको संघारमा बिग्रिएको सगरमाथा क्षेत्रको मौसममा अझै सुधार आएको छैन।

images
images

वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहेका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीव्र वेगको हावा चलिरहेको छ। उक्त क्षेत्रमा मे ३ तारिखदेखि बिग्रिएको मौसम अझै सुधार आउन नसकेको हो। 

'सगरमाथा क्षेत्रमा घाम लागिरहेको छ, तर, सात हजार ५०० मिटरभन्दामाथि तीव्र बेगको हावा चलिरहेकाले माथि जान सक्ने अवस्था नै छैन, बैशाख २६ र  २७ गतेसम्म नै यस्तो हावा चलिरहने देखिन्छ', उनले भने।

अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो। आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौं फर्किएका छन्। अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन्।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मौसम क्रमिकरुपमा सुधार हुँदै गएको छ। केही दिनका लागि नयाँ मौसमी प्रणाली देखिएको छैन। 'सगरमाथा क्षेत्रमा केही बादल लागेको छ, अपरान्हतिर सगरमाथाको माथिल्लो भेगमा बादल बढेर हल्का वर्षा हुने देखिन्छ', उनले भने।

महाशाखाले हरेक दिन साँझ सगरमाथालगायत हिमालको मौसम पूर्वानुमान गर्ने गरेको छ। पछिल्लो विवरणमा सगरमाथा क्षेत्रको मौसममा केही सुधार आइरहेको छ। महाशाखाको लुक्ला स्टेशनबाट समन्वय गरेर मौसम पूर्वानुमान गरिन्छ। महाशाखाले सगरमाथा, अन्नपूर्ण क्षेत्रलगायतमा सरसफाई अभियानलाई पाँच दिनसम्मको मौसम पूर्वानुमान गरेर पठाइने गरेको मौसमविद् लामिछानेले जानकारी दिए।

मौसम अनुकूल भइदिएको भए यही बैशाख २१ गते बिहीबार सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो। पूर्वनिर्धारित तालिकाअनुसार सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना रद्द भयो।

झण्डै दुई सातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ। प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ।

इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले मौसमले साथ दिएमा बैशाख २९ गते सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण सुरु हुने विश्वास व्यक्त गरे। 'सगरमाथा क्षेत्रको मौसम अझै पूर्णरुपमा सुधार आएको छैन, शुक्रबारको तुलनामाभन्दा आज मौसम राम्रो छ, आशा छ, बैशाख २९ सम्म चुचुरोसममको बाटो खुलाउने योजना साकार हुनेछ', उनले भने।

सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो बनाएको थियो। सगरमाथाको साउथ कोलसम्म बैशाख १० गते नै बाटो खुलिसकेको थियो।

सगरमाथा आरोहणको ढोका खुलाउने प्रतिक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतिक्षारत छन्।

केही आरोहीले आधार शिविरबाट विभिन्न शिविरतिर सामान ओसारिरहेका छन्। आरोहणका लागि सिजनमा विभिन्न कम्पनीले छुट्टाछुट्टै निकायबाट मौसम रिपोर्ट लिन्छन्। ‘वीन्डी एप’, ‘निम्सदाई स्टोर एप’ लगायतबाट मौसम रिपोर्ट लिइने गरिएको छ। विभिन्न मुलुकबाट आएका आरोहीले सम्बन्धित मुलुकबाट मौसमी विवरण लिएर आरोहणमा निस्कन्छन्।

पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले सगरमाथा क्षेत्रमा मौसम क्रमिक रुपमा सुधार हुँदै गएको बताए। उनले भने, 'सगरमाथा क्षेत्रमो मौसम सुधार भइरहेको छ, म आफू पनि आधार शिविर पुगेर आजै फर्किँदैछु। आरोही अनुकूल मौसमको प्रतिक्षामा आधार शिविरमा आराम गरिरहेका छन्।'

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चारसय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन्। जसमा ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको संख्या हो।

आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ।

खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार संघ, एसपिसिसी र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ। रासस

images

प्रकाशित : आइतबार, वैशाख २४ २०८००७:४२
प्रतिक्रिया दिनुहोस