बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, आकाशमै फन्को लगाउँदै जहाज

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, आकाशमै फन्को लगाउँदै जहाज

प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’(आइएफआर) उडान मात्रै भइरहेको छ। लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ।

काठमाडौं- प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ।

‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’ (आइएफआर) उडान मात्रै भइरहेको छ।

अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन्। मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ।

अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि उडान सामान्य प्रभावित भएको छ।

ट्रंक रुटको उडान सामान्य भइरहेको विमानस्थलका प्रवक्ता सिटौलाले बताए। 'काठमाडौं विमानस्थलमा आइएफआर उडान भइरहेको छ, अन्तर्राष्ट्रियका केही जहाज होल्डमा हुने सम्भावना छ, आन्तरिकतर्फ उडान डिले भइरहेको छ', उनले भने।

कोलम्बोबाट काठमाडौं आएको श्रीलंकन एयरलाइन्स र बैंककबाट आएको थाई स्माइलको जहाज केही समय आकाशमा होल्ड भएको थियो। आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागमा केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

काठमाडौंमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००७:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend