बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सात करोड लागतमा पर्यटकीय क्षेत्र लिंगेश्वरमा पूर्वाधार निर्माण गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २१ २०८०
सात करोड लागतमा पर्यटकीय क्षेत्र लिंगेश्वरमा पूर्वाधार निर्माण गरिँदै

अहिले यहाँ केन्द्र सरकारले ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा विभिन्न पूर्वाधार निर्माण भइरहेका छन्।

दोधारा चाँदनी- कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिंगेश्वरधामको विकासका लागि सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ। बेदकोट-४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिंगेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन्।

धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्तरुपमा संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेका छन्। बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यहाँको पर्यटकीय विकासका लागि सात करोड बजेट विनियोजन गरेर पूर्वाधार निर्माणको काम अघि बढिसकेको बताए।

'नगरपालिकाले शिव लिंगेश्वर धाम र बेदकोट तालको विकास गर्न विभिन्न संरचना बनाउँदै छ', उनले भने, 'हामीले बेदकोट नगरभित्रका पर्यटकीयस्थलको विकासलाई प्राथमिकतामा राखेका छौँ।'

अहिले यहाँ केन्द्र सरकारले ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा विभिन्न पूर्वाधार निर्माण भइरहेका छन्।

भूक्षय भइरहेको ठाउँमा तटबन्ध निर्माण, बाटो विस्तार, सडक कालोपत्र र बिजुली बत्ती पुर्‍याउने काम भइरहेको छ। नगरपालिकाका इन्जिनियर शतिस शामीले पार्किङस्थल, मन्दिर निर्माण, कफी हाउस निर्माण र विवाहमण्डप बनाउने काम अघि बढेको बताए। दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी जोशी विल्डर्ससँग ठेक्का सम्झौता भएको छ।

बेदकोट नगरपालिकाले यहाँ ‘सेल्फी प्वाइन्ट’को निर्माण गरेको छ। सात वर्ष अघि २५ लाख रूपैयाँको लागतमा सेल्फी प्वाइन्ट निर्माण गरिएको हो। पछिल्लो समय महेन्द्रनगर आउने आन्तरिक तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन्। लिंगेश्वरधाम पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००४:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend