बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नेप्सेले ‘नेप्से ३० इन्डेक्स’ ल्याउने, माग्यो सुझाव

बुधबार, वैशाख २० २०८०
नेप्सेले ‘नेप्से ३० इन्डेक्स’ ल्याउने, माग्यो सुझाव

फ्रि-फ्लोट बजार पुँजीकरण लिइदा २०७९ पुस ३० गतेलाई आधार लिइने भएको छ।

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ परिसूचक ‘नेप्से ३० इन्डेक्स’ ल्याउने तयारी गरेको छ। नेप्सेले तयार पारेको यस्तो सूचक गणना विधि लगायतमा लगानीकर्ता सहित सरोकारवालाहरूसँग नेप्सेले राय सुझाव मागेको छ।

'नेप्से ३० इन्डेक्स' बजारमा तत्काल कारोबार योग्य रहेका सेयरहरूको बजार पुँजीकरणको आधारमा तयार पारिन लागिएको जनाएको छ। 

नेप्सेले प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी भएको, पछिल्लो तीन आर्थिक वर्ष ३ वर्ष खुद नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षको मूल्यवृद्धि दरभन्दा बढी भएको कम्पनीहरूलाई यो इन्डेक्स तयार गर्दा राखिने प्रस्ताव गरेको छ। 

त्यस्तै, कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरू (फ्रि–फ्लोट) को कुल बजार पुँजीकरणमा यो इन्डेक्समा राखिने कम्पनीको यस्तै सेयरहरूको बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ। फ्रि-फ्लोट बजार पुँजीकरण लिइदा २०७९ पुस ३० गतेलाई आधार लिइने भएको छ।

पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रूपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भएको, दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको कम्पनी यो इन्डेक्समा राख्न योग्य हुनेछन्।  

पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएका कम्पनीलाई यो इन्डेक्समा राख्न लागिएको हो। 

यसरी कम्पनी छान्दा हाल नेप्सेमा रहेका ६ वटा समूहगत परिसूचकबाट प्रत्येक समूहमा उच्च भार प्राप्त गर्ने ८/८ वटा कम्पनी छानिने छन्। नेप्सेले गरेको यो प्रस्तावमा आगामी जेठ ५ गतेभित्र सुझाव दिन नेप्सेले आग्रह गरेको छ।


प्रकाशित : बुधबार, वैशाख २० २०८०१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend