बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

पुँजी बजारमा बैंक वित्तीय समूहकाे हिस्सा घट्दा हाइड्रोको बढ्दै, कुनको कति?

सोमबार, वैशाख १८ २०८०
पुँजी बजारमा बैंक वित्तीय समूहकाे हिस्सा घट्दा हाइड्रोको बढ्दै, कुनको कति?

काठमाडौं- पछिल्लो समय पुँजी बजारमा हाइड्रोको हिस्सा बढ्दो छ। सोही कारण पनि दोस्रो बजार बढेको बेला हाइड्रोको सेयरमा उभार आउने गरेको छ।

प्रतिफलका हिसाबल खासै आकर्षण नभए पनि सेयर बजारको खेलोमेलोमा जलविद्युतका सेयर सधैँ चर्चामा हुने गरेको छ। तीनवर्षको अवधिमा पुँजी बजारमा हाइड्रो कम्पनीको सेयर दोबरले बढेको छ। अन्य समूहको सूचक घट्दै जाँदा हाइड्रो समूहको सेयर हिस्सा बढ्दै गएको हो। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष बैशाखसम्म आइपुग्दा पुँजी बजारमा जलविद्युत कम्पनीको सेयर हिस्सा १३.९ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७६/०७७ मा यस समूहको सेयर हिस्सा ६.७ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा यस समूहको सेयर हिस्सा १०.६ प्रतिशत रहेको थियो। 

पुँजी बजारमा सबैभन्दा धेरै सेयर हिस्सा बैंक तथा वित्तीय संस्थाले ओगटेको छ। तर, बैंक तथा वित्तीय संस्थाको सेयर हिस्सा घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको सेयर हिस्सा घट्दा जलविद्युत कम्पनीहरुको सेयर हिस्सा तीनवर्षको अन्तरालमा दोबरले बढेको हो।

चालु आर्थिक वर्षको बैशाखसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको सेयर हिस्सा ६४.७ प्रतिशत रहेको छ। तीनवर्ष अघि वित्तीय संस्थाको सेयर हिस्सा ६९.६ प्रतिशत रहेको थियो। २०७८ को चैतमासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको सेयर घटेर ६६ प्रतिशतमा सीमित रहेको थियो।

उत्पादनमूलक समूहको सेयर हिस्सा घटेको छ। यस तीन वर्षको अन्तरालमामा आइपुग्दा उत्पादनमूलक समूहको सेयर ३.९ प्रतिशत पुगेको छ। जुनकि अघिल्लो वर्ष ४.१ प्रतिशत थियो भने २०७७ चैतमा ३.८ प्रतिशत रहेको थियो। 

होटल तथा पर्यटन समूहको सेयर हिस्सा बैशाखसम्म आइपुग्दा १.९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष ०.८ प्रतिशत रहेको थियो। त्यस्तै ट्रेडिङ समूहको ०.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस समूहको सेयर हिस्सा पनि ०.४ प्रतिशत नै रहेको थियो। २०७७ ०.७ प्रतिशत रहेको थियो।

पुँजी बजारमा लगानीगत समूहको सेयर हिस्सा ६.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष ७.१ प्रतिशत रहेको थियो। त्यस्तै अन्य समूहको सेयर हिस्सा ८.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष १०.३ प्रतिशत थियो। 


प्रकाशित : सोमबार, वैशाख १८ २०८००१:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend