बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

निरन्तर ओरालोमा सेयर बजार

आइतबार, वैशाख १७ २०८०
निरन्तर ओरालोमा सेयर बजार

काठमाडौं- निरन्तर उतारचढावमा देखिएको सेयर बजार ओरालोतिर लागिरहेको छ। गएको साता १४.६८ अंकले घटेको बजारमा यो साताको पहिलो कारोबार पनि ओरालोतिर नै लागेको हो।

आइतबार १९.११ अंकले घटेर बजार १८७०.६५ बिन्दुमा झरेको छ। २६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ९५ करोड ४३ लाख २२ हजार रूपैयाँको कारोबार भएको छ। आइतबार १८९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन। समग्र अर्थतन्त्र नै समस्यामा देखिइरहँदा पुँजी बजारमा पनि निराशा छाइरहेको छ। 

अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

गएको साता पहिलो कारोबारमा आइतबार १८.८० अंकले घटेको थियो। सोमबार २.७१ अंकले बढेको बजार मंगलबार १७.३६ अंकले बढेको थियो। बुधबार १३.६८ अंकले घटेको बजार बिहीबार २.२७ अंकले घटेर १८८९.७३ बिन्दुमा झरेको थियो। 


प्रकाशित : आइतबार, वैशाख १७ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend