बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज छनोटका लागि गौतमको नेतृत्वमा मूल्यांकन समिति

आइतबार, वैशाख १७ २०८०
नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज छनोटका लागि गौतमको नेतृत्वमा मूल्यांकन समिति

काठमाडौं- नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज कम्पनी सिफारिसका लागि मूल्यांकन समिति गठन गरेको छ। बोर्डको आइतबार बसेको बैठकले आबेदन परेका कम्पनीहरूको मूल्यांकन गरी सिफारिस गर्नका लागि मूल्यांकन समिति गठन गरेको हो। 

बोर्डको सञ्चालक समितिको बैठकले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्वको मूल्यांकन समिति गठन गरेको हो। गौतम धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य पनि हुन्।

समितिमा अर्थ मन्त्रालयबाट बोर्डमा सञ्चालक रहेका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकबाट बोर्डमा सञ्चालक रहेका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री सदस्य छन्। मूल्याकंन समितिमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक अम्बिका गिरीसमेत सदस्य छन्।

दोस्रो स्टक एक्सचेञ्च सञ्चालनका लागि भएको आह्वानमा तीन कम्पनीले आवेदन दिएका छन्। नयाँ स्टक एक्सचेञ्चको लाइसेन्स माग्दै नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आवेदन दिएका हुन्। 

आवेदन दिनेमा हिमालयन स्टक एक्सचेञ्च, नेशनल स्टक एक्सचेञ्च र अन्नपूर्ण स्टक एक्सचेञ्च रहेका छन्। तीन कम्पनीमध्ये एकले लाइसेन्स पाउने छ। लाइसेन्स पाउने कम्पनी नेपाल स्टक एक्सचेञ्चपछि दोस्रो स्टक कम्पनी बन्दै दोस्रो बजारको सेयर कारोबारमा हुनेछ। 

वस्तु विनिमय बजार सञ्चालनका लागि चारवटा कम्पनीले आवेदन दिएका छन्। आइतबार ५ बजेसम्म चार कम्पनीले आवेदन दिएका हुन्। जसमा नेपाल मल्टी कमोडीटी एक्सचेञ्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज, मल्टी डेरिभेटिभ एक्सचेञ्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेञ्ज रहेका छन्। नेपाल धितोपत्र बोर्डले चार मध्ये दुई कम्पनीलाई अनुमति दिने छ।


प्रकाशित : आइतबार, वैशाख १७ २०८००९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend