शुक्रबार, असोज १२ गते २०८०    

रेसुङ्‍गा विमानस्थलमा परीक्षण उडान सम्पन्न, नियमित उडानको तयारी गरिँदै

images
बिजनेस न्युज
रेसुङ्‍गा विमानस्थलमा परीक्षण उडान सम्पन्न, नियमित उडानको तयारी गरिँदै

निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए।

images

गुल्मी- गुल्मीको रेसुङ्‍गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ। रेसुङ्‍गा नगरपालिका-१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन-एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो।

images

निगम र रेसुङ्‍गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो । विसं २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो। कुल ३३ करोड रूपैयाँको लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ। एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्‍गा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा रहेको छ।

images

आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए। प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ। कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेल बताउँछन्। 'रेसुङ्‍गा- काठमाडौं उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर छ हजार पाँच सय हुने भनिए पनि अन्तिममा छ हजारसम्म कायम हुनसक्छ', उनले भने। 
 
निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए। रेसुङ्‍गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो । 

images

लामो समयपछि जहाज चढेर काठमाडौं जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुङ्‍गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए। रासस

images

images

प्रकाशित : शुक्रबार, वैशाख १५ २०८०१०:२२
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ