बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सूचकमा अब्बल देखिएपछि एभरेष्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण

बिहीबार , वैशाख १४ २०८०
सूचकमा अब्बल देखिएपछि एभरेष्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं- समग्र सेयर बजार घट्दा पनि एभरेष्ट बैंकको सेयर मूल्य दोस्रो बजारमा बढिरहेको छ। बुधबार १७२ कम्पनीको सेयर मूल्य घटेको छ। एभरेष्ट बैंकको सेयर मूल्य भने सकारात्मक भइरहेको छ।

एभरेष्ट बैंकको ९ महिनाको वित्तीय विवरणमा उत्साहजनक सुधारले दोस्रो बजारमा लगानीकर्ताको आकर्षणमा परेको हो। बैंकले साउन देखि चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ। 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको सेयर मूल्य बुधवार पनि केही बढेको छ। बैंकको १.२९ रुपैयाँले बढेर ५२९.९० रुपैयाँमा कारोबार भएको छ। अहिलेको बढ्दो मूल्यले पुनः एकवर्ष अगाडिकै मूल्यसम्म पुग्ने देखिएको छ।

एकवर्षको बीचमा बैंकको मूल्य ५५८ रुपैयाँसम्ममा कारोबार भएको छ। बैंकको सेयर मूल्य ४११ रुपैयाँसम्म आएको थियो। पुनः बढेर ५२९ रुपैयाँ पुगेको हो। यो बढेसँगै आकर्षक सूचकका कारणले आकर्षण बढेको हो। बैंकको बुधवार मात्रै ६० हजार कित्ता कारोबार भएको थियो। 

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३९.२१ प्रतिशत बढेको छ।

त्यसैगरी बैंकको सञ्चालन नाफा ६२.५९ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य नाफा ३ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ २९ पैसा बढेर ३० रुपैयाँ ७४ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ८६ पैसा रहेको छ।

गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी १० अर्ब ६९ करोड पुर्याएको बैंकको जगेडा कोषमा १३ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ७.७७ प्रतिशत बढेको छ भने कर्जा १०.६० प्रतिशत बढेको छ।


प्रकाशित : बिहीबार , वैशाख १४ २०८००३:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend