काठमाडौं- माई खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।
यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ निष्कासन गरेको कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो।
कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला भएको हो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आईपीओका लागि बैशाख १२ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ। उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने बैशाख २४ गतेसम्म खुला रहनेछ ।
कम्पनीले जारी पुँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता आइपिओ निष्कासनका लागि छुट्याएको थियो।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पुँजीको १० प्रतिशतले हुन आउने ३ लाख ९२ हजार १५७ कित्ता सेयर बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणमा जारी हुने ३९ प्रतिशत सेयरमध्ये १० प्रतिशत दरको १ लाख ५२ हजार ९४१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ।
बाँकी रहेको सेयरमध्ये पनि ५ प्रतिशत दरको ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
यस्तै, २ प्रतिशत दरको ३० हजार ५८८ कित्ता सेयर कर्मचारीमा बाँडफाँट गरिसकेको कम्पनीले १२ लाख ६९ हजार ४११ कित्ता सेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो।