बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

गर्मी सुरू भएसँगै जलविरे झरनामा बढे पर्यटक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ८ २०८०
गर्मी सुरू भएसँगै जलविरे झरनामा बढे पर्यटक
फाइल तस्बिर

इच्छाकामना गाउँपालिकाले पछिल्लो ६ महिनामा झरनामा आउने पर्यटकबाट प्रवेश शुल्कबापत १४ लाखभन्दा बढी आम्दानी गरेको छ।

मुग्लिन- चितवनको इच्छाकामना गाउँपालिका-६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ। यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ। 

मुख्यतया गर्मीयाममा झरनामा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ। जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको संख्या बढ्दै गएको बताए। 'दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने गरेका छन्', उनले भने।

शनिबार र सार्वजनिक बिदाका दिन भने यहाँ अत्यधिक घुइँचो लाग्छ। नयाँ वर्षको पहिलो दिन एक हजार एकसय ५० जनाले टिकट काटेको तथ्यांक छ। कोरोना महामारीपछि यहाँ पर्यटक आउने क्रम बढेको हो।

झरना रहेको वडा नं ६ का बासिन्दालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। 'यहाँ झरना अवलोकनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन्', अध्यक्ष गुरुङ बताउँछन्।

पर्यटक लोभ्याउनका लागि यहाँ भौतिक पूर्वाधारसमेत निर्माण गरिएका छन्। केन्द्र, प्रदेश सरकार र गाउँपालिकाले विभिन्न संचरना निर्माण गरेका हुन्। झरनासम्म सडक ढलान तथा कालोपत्र गरिएको छ। सिँढी, रेलिङ, गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन्।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उक्त झरना आन्तरिक आयतर्फ गाउँपालिकाले सबैभन्दा बढी आम्दानी गर्ने पर्यटकीय गन्तव्यमा पर्छ। पछिल्लो छ महिनामा गाउँपालिकाले झरना आउने पर्यटकबाट प्रवेश शुल्कबापत १४ लाखभन्दा बढी आम्दानी गरेको गुरुङले बताए। यहाँ प्रवेश गर्न आन्तरिक पर्यटकले ५० र विदेशीले एकसय रूपैयाँ शुल्क तिर्नुपर्छ।

'आन्तरिक पर्यटकलाई लक्षित गर्दै झरनालाई थप आकर्षित गर्न विभिन्न योजना बनाउँदैछौँ', उनले भने। झरना नारायणगढ-मुग्लिन सडकबाट नजिकै रहेका कारण पर्यटक सजिलै पुग्न सक्छन्। चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्यमध्ये जलविरे लामो झरना उत्कृष्ट गन्तव्यभित्र पर्छ। यसले पर्यटकको मन लोभ्याएको छ।

यहाँ पर्यटक स्वफूर्तरूपमा आउँछन्। सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगाबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ। चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि पनि यो झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ। पूर्वाधार थपिएकाले पछिल्लो समय झरना आसपासको क्षेत्र व्यवस्थित बन्दै गएको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८००४:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend