आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम : पोखराबारे भारतको पटनामा चर्चा 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ५ २०८०
images
पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम : पोखराबारे भारतको पटनामा चर्चा 
images
images

पटना (भारत)- पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ। नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका विषयमा भारतका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तर्क्रिया गरिएको हो।

images
images
images

कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीले पोखरा प्राकृतिक एवं सांस्कृतिकरूपमा घुम्नैपर्ने गन्तव्य भएको बताउँदै गर्दा पटनाका पर्यटन व्यवसायीले त्यहाँका भोगाइ तथा अनुभवलगायतका विषयमा चर्चा गरेका थिए।

images
images

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्राकृतिकरूपमा विश्वकै सुन्दर गन्तव्यमध्येमा पोखरा पनि एक भएको बताउँदै आफूहरू विगतदेखि नै ‘अतिथि देवो भवः’ को मन्त्रलाई आत्मसात गर्दै आएको बताए। 'पोखरा मित्रराष्ट्र भारतका आम सर्वसाधारणका लागि सहजरूपमा घुमेर मनोरञ्जन लिनसक्ने गन्तव्य हो', उनले भने, 'भारतसँग नेपालको भौगोलिक निकटतासँगै वर्षौँदेखिको आपसी भाइचारा कायम रहँदै आएको छ।'

images
images

नजिकैबाट हिमाली दृश्यको अवलोकनसँगै साहसिक पर्यटनका विभिन्न गतिविधि पोखरामा गर्न पाइने बताउँदै उनले आफूहरू सधैँ भारतीय पर्यटकको न्यानो आतिथ्यताका लागि तयार रहेको बताए।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले भारत पोखरा तथा नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजार रहेको बताए। पोखरा सबै किसिमको मौसममा घुम्न उपयुक्त रहेको बताउँदै उनले भारतीय पर्यटकले पोखरा घुम्न आउने क्रममा विगतमा भोग्ने गरेका समस्या बुझ्दै र आगामी दिनमा त्यसको निराकरण गर्ने पनि प्रवर्द्धनात्मक कार्यक्रमको उद्देश्य रहेको बताए।

टुरिजम एशोसिएसन अफ विहारका सचिव प्रकाश चन्द्रले पोखरा आफूहरूको रोजाइमा पर्ने गन्तव्यमध्येको एक भएको बताए। भारतीय अधिकांश पर्यटकले घुमाइका क्रममा राम्रैसँग खर्च गर्ने गरेको उल्लेख गर्दै उनले पोखरामा अनलाइन पेमेन्टलाई सहज एवं प्रभावकारी बनाउन जरुरी रहेको बताए।
 
पटनाका सिनियर टुरिजम कन्सल्टेन्ट सञ्जय शर्माले नेपाल र भारतबीचको सदियौँदेखिको रोटी र बेटीका सम्बन्धका कारण पनि एकअर्कामा नजिक रहँदै आएको धारणा राखे। पोखरा र पटनाबीचको कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिँदै उनले सिधा हवाई सम्पर्कका लागि दुवैतर्फबाट पहल गर्नुपर्ने आवश्यकता औँल्याए। भारतबाट नेपाल आउनका लागि सडक सञ्जाललाई पनि चाँडो व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ।

पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले पोखरा हरेक मौसममा घुम्न सकिने गन्तव्य भएको बताउँदै धार्मिक पर्यटनसँगै साहसिक पर्यटनका विभिन्न गतिविधि एकसाथ गर्नका लागि पोखरा घुम्न आउन आग्रह गरे। आतिथ्यताका दृष्टिले पोखरा अग्रस्थानमा रहेको उनको भनाइ छ।

नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेलले प्रवर्द्धनात्मक भ्रमणका क्रममा भारतीय पर्यटकले विगतमा भोग्ने गरेका असहज अवस्थाबारे समेत जानकारी लिइने बताए। पोखरा धार्मिक, सांस्कृतिक एवं साहसिक पर्यटनको गन्तव्य रहेको कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दहालले बताए। विश्वमै विशिष्ट धार्मिक महत्व बोकेको शालिग्राम पाइने क्षेत्रका रूपमा गण्डकी रहेको उनले बताए।

कार्यक्रममा पोखरा र पटनाका व्यवसायीबीच व्यावसायिक साझेदारीबारे छलफल (बिटुबी) गरिएको थियो। प्रवर्द्धनात्मक कार्यक्रमअन्तर्गत आज बनारस पुगी त्यहाँका पर्यटन व्यवसायी एवं सञ्चारकर्मीसँग छलफल गरिने उनले जानकारी दिए। बनारसपछि अयोध्या एवं गोरखपुरलगायतका गन्तव्यमा प्रवर्द्धनात्मक कार्यक्रम गरी यही बैशाख ८ गते पोखरा फर्कने कार्यक्रम रहेको उनले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००३:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend