बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कतारी राजकुमारी थानीले गरिन् अन्नपूर्ण आरोहण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ३ २०८०
कतारी राजकुमारी थानीले गरिन् अन्नपूर्ण आरोहण

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका छन्। अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो।

काठमाडौं- कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छिन्। इलाइट एक्सपिडिसनमार्फत उनले शनिबार अपराह्न ४ बजे ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन्। अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा अवस्थित छ।

पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गरेको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए। 'विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गर्ने थानी पहिलो कतारी महिला बन्नुभएको छ', उनले भने, 'आस्मासहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जीले पनि अन्नपूर्ण आरोहण गर्नुभएको छ।'

टोलीमा रहेका मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले पनि अन्नपूर्णलाई सफलतापूर्वक आरोहण गरेका छन्। राजकुमारी अल थानीले यसअघि सगरमाथा, धवलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु हिमालको आरोहण गरेकी थिइन्। 

पेसाले चिकित्सक रहेकी थानी कतारको ओलम्पिक कमिटीको पनि नेतृत्व गरेकी थिइन्। अन्नपूर्ण हिमाल आरोहणका लागि २०७९ फागुन २२ गते थानी म्याग्दीमा आएकी थिइन्।  

कतारको राजपरिवारको सदस्यबाट भएको अन्नपूर्ण हिमाल आरोहणले यस क्षेत्रको पर्यटन प्रर्वद्धन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए। 

अन्नपूर्ण प्रथम हिमालमा शनिबार बिहानदेखि चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको हो। सेभेट समिट ट्रेकका पासाङनुर्वु शेर्पाको नेतृत्वमा तीन नेपाली, एक पाकिस्तानी र एक जना अष्ट्रेलियन पर्वतारोहीले पनि शनिबार अन्नपूर्ण आरोहण गरेका थिए।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका छन्। अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो।

विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए। रासस


प्रकाशित : आइतबार, वैशाख ३ २०८००४:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend