बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २ २०८०
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ
फाइल तस्बिर

चौकीडाडाँमा चौकीडाँडा रिसोर्टसमेत निर्माण गरेर यहाँको पर्यटन प्रवर्द्धनमा काम गर्ने योजना छ।

चितवन- चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ। हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो।

जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए। भरतपुर महानगरपालिका-२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो।

यहाँ जङ्गल सफारीका लागि अत्यधिक पर्यटक आउने गरेका छन्। समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो। यसबारे तीन वर्ष अध्ययन गरिएको थियो। एक सय २० किलोभन्दा कम तौल भएको अवस्थामा मात्र प्याराग्लाइडिङ उडान भर्न सकिने उनले जानकारी दिए।

चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान भरेर देवघाट गाउँपालिका-५ स्थित त्रिशूली नदी किनारमा अवतरण गरिनेछ। कम्पनीका सञ्चालक शालिक दबाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ सुरु गरिएको बताए। यस क्षेत्रमा निकट भविष्यमा रोप साइक्लिङ, बन्जीजम्पजस्ता गतिविधि गर्ने योजना रहेको उनको भनाइ छ।

दबाडीले भने, 'चौकीडाडाँमा चौकीडाँडा रिसोर्टसमेत निर्माण गरेर यहाँको पर्यटन प्रवर्द्धनमा काम गर्ने योजना छ।' कम्पनीले उडानका लागि कविलास डाँडाबाट समेत अनुमति पाएको छ।

प्याराग्लाडिङ उडानका लागि प्रति व्यक्ति रु आठ हजार शुल्क तोकिएकामा हाललाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। दैनिक ४५ जनासम्मलाई उडाउन सकिने दबाडीको भनाइ छ। नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले नागबेली सडक र त्रिशूली नदीमाथिको उडानले पर्यटक आकर्षित हुने बताए।

प्याराग्लाइडिङ चालक सञ्जय गौतमले यहाँ उडानका लागि उपयुक्त हावा र स्थान रहेको बताए। नारायणगढ-मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला आउने पर्यटकका लागि फरक अनुभव लिने गरी भरतपुरमा प्याराग्लाइडिङ सुरु भएको बताए। सबै खालका पर्यटक रमाउन सक्ने गरी भरतपुरमा पर्यटन प्रवर्द्धनको काम भइरहेको उनको भनाइ छ। सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन गइरहेको उल्लेख गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउने किसिमका गतिविधि गर्न जरुरी रहेको बताए। रासस


प्रकाशित : शनिबार, वैशाख २ २०८००६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend