बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकको ओइरो

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २ २०८०
रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकको ओइरो

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडाैं उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खला अवलोकन गर्न सकिन्छ।

भक्तपुर- नयाँवर्ष २०८० को आगमनसँगै खुसी मनाउन र सूर्योदय हेर्न विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन्।

कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा विदेशीभन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीयस्थल खचाखच भएपछि व्यवसायी उत्साहित छन्। नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका-७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए।

चैत मसान्तदेखि वैशाख ३ गतेसम्म होटल बुकिङ भइसकेको र यहाँका सबै होटल आन्तरिक पर्यटकले भरिएको उनले बताए। नयाँ वर्षका लागि दुई साता अगाडिदेखि नै यहाँका होटल बुक भएका थिए।

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडाैं उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। होटल व्यवसायी बकेँ भन्छन्, 'नयाँवर्षमा आन्तरिक पर्यटक खचाखच भएका छन्। अब भने पर्यटन व्यवसाय पुनःचलायमान हुने आशा पलाएको छ।'

होटल व्यवसायी तथा घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथले घ्याम्पेडाँडा-रानीकोट पक्की सडक नर्माण भएसँगै पर्यटकको आगमन ह्वात्तै बढेको बताए। उनले सूर्यविनायक-रानीकोट-आशापुरी एवं सूर्यविनायक-रानीकोट-फुल्चोकी पदयात्रा मार्ग र रानीकोट, आशापुरी, बोकाचो गढी पर्यटकको रोजाइमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बताए।

पर्यटकको आगमन बढेपछि घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जीप लाइन सञ्चालनमा आएको छ भने ठूला होटल निर्माणको क्रम बढेको छ। निर्माण भइसकेको करिब १४ होटल आन्तरिक पर्यटकले नै भरिन थालेका छन्। भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षमा तीन दिन अगाडिदेखि नै होटल खचाखच भएका छन्। नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा एक रात बसेर सूर्योदय र हिमाली दृश्य हेरेर फर्कने पर्यटकले यहाँका होटल खचाखच भएको पर्यटन व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले बताए।

'मैले होटल क्षेत्रमा काम गरेको २० वर्षको अवधिमा विसं २०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भए, ०७८ र ०८९ सालको नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले अलिक राहत मिलेको थियो, ०८० को नयाँ वर्षमा भने आन्तरिक पर्यटकले नै होटल भरिए, यस वर्ष विदेशी पर्यटक पनि आए', होटल व्यवसायी लामिछाने भन्छन्। नगरकोट जाने सडक निर्माण पूरा भए पर्यटन व्यवसाय अझै फस्टाउने व्यवसायीको भनाइ छ। रासस 


प्रकाशित : शनिबार, वैशाख २ २०८००५:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend