सोमबार, मंसिर १७ गते २०८१    
images
images

पुर्खाले छाडेका सम्पदाले जोगाइरहेको उपत्यकाको पर्यटन

images
बिहीबार , चैत ३० २०७९
images
images
पुर्खाले छाडेका सम्पदाले जोगाइरहेको उपत्यकाको पर्यटन
images
images

काठमाडौं- एक सामान्य व्यक्तिलाई खोज्दै यहाँसम्म धाउनु, पहिलेको ठाउँमा नभेट्नु अनि हरसम्भव बल लगाएर तस्बिर देखाउँदै खोज्दै हिँड्नु तर सोधेको कसैले नबुझ्नु, बुझेकाले पनि पत्ता लगाउन नसक्नु, तर पनि खोजी जारी राख्नु।

images
images
images

माटोका भाँडा बनाउने भक्तपुरका इन्द्रप्रसादलाई भेट्न मिनल राजाले गरेको संघर्ष सानो थिएन।

images

पहिलो पटक नेपाल आएको २४ वर्षपछि साता दिनअघि बेलायतबाट पुनः नेपाल आएर मिनल भक्तपुरसम्म यसरी धाउनुको कारण इन्द्रप्रसादको आतिथ्यता थियो। 'पर्यटक देख्नेबित्तिकै ठग्नुपर्छ, जबरजस्ती सामान भिडाउनुपर्छ' भन्ने मानसिकताबाट कोसौँ दूर रहेका इन्द्रप्रसादको आत्मियता, सद्‌भावकै कारण फर्कीफर्की भक्तपुर आउँआउँ लाग्ने बनायो उनलाई।

images

भक्तपुरको मीठो आतिथ्यता, सत्कार त छँदैछ, नेवाः समुदायको बाहुल्यता रहेको यहाँका कलात्मक दरबार, प्राकृतिक सम्पदा, भेषभूषा र संस्कृतिले पनि उनलाई उत्तिकै लोभ्याएथ्यो। मिनलले परिवार, साथीसंगी सबैलाई इन्द्रप्रसाद र भक्तपुरका कला संकृतिबारे बेलायत पुगेर सुनाइन् पनि। 

अष्ट्रेलियाबाट चौथो पटक नेपाल भ्रमणमा आएका अर्का एक पर्यटक टोनीलाई पनि उपत्यकाका दरबार स्क्वायर, पशुपति, बौद्धनाथलगायत पर्यटकीय स्थलहरूले मन्त्रमुग्ध बनाए। नेपालीको आतिथ्यता, सत्कारको पनि उनले खुलेर तारिफ गरे। ‘आएपिच्छे केही न केही नयाँ भेटिन्छ, साँच्चै रोचक छ उपत्यकाको भ्रमण', उनले भने, 'यहाँको ऐतिहासिक प्राचीन सम्पदा, संस्कृति, धरोहर, इतिहासले मलाई एकदमै आकर्षित गर्छ। दरबार स्क्वायरको फ्यासिनेट लुक्सले अझै मोहित बनायो।’

मिनल र टनीमात्रै होइन, नेपाल प्रवेश गर्ने हरकोही पर्यटकलाई मोहित बनाउने कलात्मक प्राचीन संरचना, मठमन्दिर र प्राकृतिक सम्पदाहरू छन् उपत्यकामा। 

bhaktapur (1).jpg
बसन्तपुर दरबार क्षेत्र

भक्तपुरकै कुरा गरौँ। नेवारी समुदायको बाहुल्यता रहेको भक्तपुरमै छ नेपालको लिखित इतिहास सुरु भएको चाँगुनारायण। नेवारी भाषामा 'ख्वप' र 'भादगाउँ' नामले समेत परिचित भक्तपुरको चाँगुनारायणमा रहेको पाँचौ शताब्दीको लिच्छविकालीन शिलालेखबाटै नेपालको लिखित इतिहासको प्रारम्भ भएको मानिन्छ। 

यहाँका जुजु धौ, विविध नेवारी परिकार, सांस्कृतिक भेषभूषा, भादगाउँले टोपी, हाकु पटासी, माटोका भाँडाकुँडा र हस्तकलाले पर्यटकलाई आकर्षित गर्छ। क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरको पर्यटनमा ठूलो योगदान छ। दिनमा सयौँ पर्यटक विविध संस्कृतिले ओतप्रोत भक्तपुरको कलाकौशल नियाल्न पुगेका हुन्छन्।

ऐतिहासिक प्राचीन वास्तुकला र गौरवमय संस्कृतिको अभूतपूर्व समायोजनले सुसज्जित कला नगरी भक्तपुर विश्वकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित छ। मल्लकालीन कलाकृतिले सजीव संग्रहालयको रुपमा स्थापित छ भक्तपुर।

ऐतिहासिक भक्तपुर दरबार स्क्वायर, ५५ झ्याले दरबार, टौमढी क्षेत्रको पाँचतले मन्दिर, दत्रात्रय क्षेत्र, सिद्धपोखरी, कमलपोखरी, डोलेश्वर, घ्याम्पेडाँडा, पाइलटबाबा, नगरकोट, हिलस्टेसनहरू पनि यहाँका आकर्षणका केन्द्र हुन्। 

नेपालमा पर्यटन सुरू हुँदै गर्दाको चर्चित पर्यटकीय गन्तव्य नगरकोटमा सूर्योदय हेर्न र त्यहाँबाट देखिने सगरमाथा, अन्नपूर्ण, मकालु, गणेश, लाङटाङ, जुगल, रोलवालिङ लगायतका हिमाली मनोरम दृश्यावलोकन गर्न पर्यटक पुग्ने गर्छन्। ढुंगेधारा, मौलिक पुरातात्विक सम्पदा तथा संरचना, मठमन्दिर, पाटीपौवा, चैत्य स्तुपा, बाजागाजा, सांस्कृतिक नाचगानले पनि पर्यटकलाई लोभ्याउँछ। सरसफाइको दृष्टिकोणले पनि देशकै उदाहरणीय सहर हो भक्तपुर।

bhaktapur pachtale.jpg
भक्तपुर पाँचतले मन्दिर

कम छैनन् काठमाडौं र ललितपुर

नेपालको राजधानी काठमाडौं भक्तपुरजस्तै प्राचीन सम्पदा र कलाकृतिले भरिपूर्ण छ। काठमाडौं दरबार स्क्वायर (वसन्तपुर), रानीपोखरी, नौतले धरहरा, सुन्दरीजल, बौद्ध स्तुपा, पशुपति, ठमेल क्षेत्र, दरबारमार्ग, हनुमानढोका दरबार क्षेत्र, कीर्तिपुर सहर, चोभार, फर्पिङ, स्वयम्भू, यहाँका घुम्नलायक ठाउँहरू हुन्। 

यहाँस्थित पशुपति मन्दिर विशेषगरी धार्मिक पर्यटनको आकर्षणको केन्द्र बनेको छ। यहाँ अन्य देशभन्दा भारतीय दर्शनार्थी बढी आउने गर्छन्। धार्मिक पर्यटनमा पशुपतिको ठूलो योगदान छ।

उपत्यकाको ललितपुर जिल्ला पनि नेपालको ऐतिहासिक सहर हो। ऐतिहासिक तथा पुरातात्विकरुपले सम्पन्न ललितपुरमा प्रसिद्ध कृष्ण मन्दिर, अशोक स्तम्भ, महाबौद्ध, पाटन दरबार क्षेत्रलगायत विभिन्न मठ, मन्दिर, पाटीपौवा र स्तम्भहरू छन्। 

आठ दिन नौ रातसम्म धुमधामले मनाइने बिस्केट जात्रा, गाईजात्रा, घोडेजात्रा, रातो मच्छिन्द्रनाथ जात्रा, इन्द्रायणी जात्रा, मध्यपुर थिमीमा मनाइने सिन्दुर जात्रा, जिब्रो छेड्ने जात्राले पनि उपत्यकामा पर्यटकलाई आकर्षित गरिरहेको छ।

patan.jpg
पाटन परिसर

पर्यटनको उद्‍गम बिन्दु उपत्यका

सन् १९६५ देखि नेपालको पर्यटन व्यवसायमा रहेका आरआर पाण्डे उपत्यकामा भएका सांस्कृतिक सम्पदा र यस वरपरका प्राकृतिक सुन्दरताले नेपालमा पर्यटनको सुरुवात गरेको बताउँछन्। ‘पहिले त काठमाडौं बाहिर केही पनि थिएन। त्यस समयको रोयल नेपाल एयरलाइन्स सुरु भएपछि नै काठमाडौंमा पर्यटकहरू भित्रिन थालेका हुन्। जसका लागि पुर्खाले छाडेर गएका सम्पदा विशेष रहे। उपत्यका बाहिर पहिले पोखरा र पछि मात्रै चितवन जोडियो। जसले पर्यटकका लागि विविधता दियो।’

उनका अनुसार काठमाडौंमा एयरलाइन्समार्फत विदेश जोडिएपछि यहाँ आउने पर्यटकका लागि दिने ‘प्रोडक्ट’ सोचिएको हो। जसमा नजिकैका तीनवटा डाँडाहरू ककनी, नगरकोट र दामनमा भ्यूटावर बनाइयो। जसमार्फत पर्यटकहरूले हिमालको दृश्यावलोकन गर्थे। पर्यटक बढ्न थालेपछि नै होटललगायतका अन्य पूर्वाधारका बारेमा सोच्न थालिएको हो।

उपत्यकाको प्राचीन सहर भक्तपुर नेपालमा पर्यटन सुरु भएदेखि नै केन्द्रमा रह्यो। भर्खरभर्खर पर्यटन सुरू भएको समय नगरकोट पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र थियो। त्यहाँबाट देखिने सूर्योदय, सूर्योस्तको मनमोहक दृश्य नियाल्न पर्यटकहरू जाने गर्थे। हिमाली तथा दुर्गम क्षेत्रतिर जान यातायात तथा हवाई सुविधा नभएका कारण पर्यटकहरू नगरकोटको डाँडाबाटै हिमाली दृश्यानुभूति गर्थे।

'पहिले त विदेशीका लागि नेपाल खुला थिएन। सन् १९५१ तिरमात्रै विदेशीलाई नेपालमा आउनका लागि अनुमति दिइयो। त्यसबेला पर्यटक लागि देखाउने कुरा के त? नेपालमा हामीसँग तीन कुरा छन् भनिन्छ,' पर्यटन व्यवसायी पाण्डेले भने, 'यहाँको प्राकृतिक सुन्दरता, पुर्खाले छाडेर गएका कला र सम्पदाहरू। तेस्रोमा चाहिँ यहाँका मानिसहरू। नेपाली जातजाती, नेपाली स्वभाव र मानवीय भावना पनि हाम्रो सम्पत्ति नै हो। जसले पर्यटकलाई आकर्षित गरिरहेको हुन्छ।'

पाण्डेका अनुसार नेपालमा २०४६ अगाडि हिमाल हेर्न आउने पर्यटकहरू खासगरी काठमाडौंलाई केन्द्र बनाएर दृश्यावलोकन गर्न आउँथे तर लगानी खुला भएपछि नेपालमा पनि जंगल सफारी सञ्चालनमा आयो। सौराहामा टाइगर टप्स आएपछि सौराहा पर्यटकको लागि चर्चित भयो जसले गर्दा नेपाल जंगल सफारीको लागि पनि उपयुक्त छ भन्ने प्रचार भयो। त्यसपछि बिस्तारै सबैतिर पर्यटक बढ्न थाले।

'त्यसबेला नेपाल आउने पर्यटकका लागि देखाउने कुराहरूमा उपत्यकाका सम्पदा धरोहर नै भइहाले त्यससँगै उपत्यकानजिकका डाँडाहरू पनि केही विकास भए। नगरकोट, ककनी र अर्को चाहिँ दामनमा भ्यू टावर बनाइएका थिए', उनले भने, 'जसमार्फत पर्यटकहरूले हिमालको दृश्यावलोकन गर्थे। त्यही नै पहिलो पर्यटकीय प्रोडक्ट बन्यो।'

pashupatinath.jpg
पशुपति क्षेत्र

बढ्दैछ प्रवेशद्वारमात्रै बन्ने खतरा

उपत्यकाका तीनवटै जिल्ला विश्व सम्पदामा सूचीकृत छन्। सूचीमा रहेका नेपालका १० विभिन्न स्थानमध्ये सातस्थान भक्तपुरको चाँगुनारायण मन्दिर, भक्तपुर दरबार क्षेत्र, काठमाडौंको स्वयम्भूनाथ स्तुपा, पशुपति क्षेत्र, बौद्धनाथ महाचैत्य, हनुमानढोका दरबार क्षेत्र र पाटन दरबार क्षेत्र उपत्यकाभित्रै छ्न्। यहाँको सम्पदा निर्माण कलाको गुणगान विश्वले गाउने गर्छ।

प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पूर्ण रुपले भरिपूर्ण हुँदाहुँदै पनि नयाँ गन्तव्यको खोजी नहुँदा पछिल्लो समय उपत्यका नेपाल आउनेका लागि प्रवेशद्वार जस्तोमात्रै बनेको नेपाल पर्यटक गाइड संघ (टुर्गान) का अध्यक्ष बद्री नेपाल बताउँछन्।

होली, दसैँ, तिहार, छठ, शिवरात्री, पञ्चदान, इद, ल्होसार, तीजजस्ता पर्वहरूमा पनि पर्यटकहरू रमाइरहेको पाइन्छ। उपत्यकाका यस्ता पर्व तथा जात्राहरूमा पर्यटकलाई प्रत्यक्ष संलग्न तथा सहभागी गराउन सकियो भने धार्मिक तथा सांस्कृतिक पर्यटनमा वृद्धि हुन सक्ने अध्यक्ष बद्री नेपालको भनाइ छ।

'पर्यटकको मुख्य आकर्षण पर्वतीय पर्यटन नै हो। यसको मुख्य गेट-वे भनेको काठमाडौं नै हो', उनले भने, 'काठमाडौंसँग जोडिँदै गर्दा यहाँ भएका कला संस्कृति, ठाउँलगायतले पर्यटकलाई आकर्षित गर्छ नै। त्यसकारण पनि पर्वतीय पर्यटनका लागि आएका पर्यटकलाई यहाँ होल्ड गराउन सकिन्छ।' 

मुख्यगरी यहाँको सांस्कृतिक पर्यटनलाई नै पर्यटन बजारमा पस्किन सकेमा काठमाडौंमा विदेशीहरूको बसाइ पनि लम्बिन सक्ने उनी बताउँछन्। 'अरु जिल्लामा जाने, र पछि फर्किनेबेला मात्रै काठमाडौं आउने गेटवेजस्तो बनेको पनि पक्कै हो उपत्यका। तर पर्वतीय पर्यटनमा मुख्य आकर्षण भए पनि पर्यटकहरू सांस्कृतिक पर्यटनमा पनि आकर्षित भएर आएका हुन्छन्', उनले भने, 'सांस्कृतिक पर्यटकका लागि निकै उत्कृष्ट गन्तव्य हो उपत्यका। ऐतिहासिक सम्पदाले भरिपूर्ण छ। रोक्न सकिन्छ।'

यहाँ हुने हाम्रा जात्रा, मेला पर्वहरूमा पनि पर्यटकलाई साथसाथै जोडेर लैजान सकियो भने त्यसले उनीहरूलाई हाम्रो संस्कृतिसँग पनि जोड्न सकिने र त्यसका माध्यमबाट यहाँ भ्रमण गर्ने विदेशीहरूको संख्या पनि वृद्धि हुनसक्ने पर्यटक पथप्रदर्शकसमेत रहेका बद्री नेपालको तर्क छ। 

'अस्ती एउटा अभ्यास हामीले गर्‍यौँ। सेतो मच्छेन्द्रनाथको रथ तान्ने प्रक्रियामा विदेशीहरूलाई सहभागी गरायौँ। यीनै कुरालाई हामीले निरन्तरता दिँदै जान सक्यौँ, हाम्रा संस्कृतिसँग विदेशीहरूलाई पनि सँगसँगै जोडेर लैजान सकियो भने उपत्यका पर्यटन प्रवर्द्धन हुन सक्छ', उनी भन्छन्, 'नेवारी संस्कृति, नेवारी भेषभूषा खानाले धनी छ उपत्यका। यी कुराहरूमा पनि पर्यटकलाई आकर्षित गराउन सकिन्छ। यसो गर्न सकियो भने सांस्कृतिक पाटोबाट पर्यटकलाई जोडेर लैजान सकिन्छ।'

पुराना नेवारी बस्तीहरू कीर्तिपुर, बुङमती, खोकना र टोखाजस्ता ठाउँतिर पनि पर्यटक आकर्षित हुन्छन्। अर्को पर्यटकीय हब बनेको छ, ठमेल क्षेत्र। ठमेलमा पनि केही घण्टा बिताउनलाई विदेशीहरू रोमाञ्चित हुन्छन्। मुख्यतया उपत्यकाको जात्रा, पर्व र संस्कृतिले नै पर्यटकहरूको बसाइँ अलि लामो हुने हो। थांका पेन्टिङ, मण्डलातिर पनि पर्यटकको आकर्षण छ।

'कतिपय पर्यटकहरू ट्रेकिङ जाने वा माउन्टरिङ जाने या केही रात बिताउने ध्येयले मात्रै नेपाल आएका हुन्छन् भने काेही उपत्यकामात्रै घुम्न आएका पनि हुन्छन्', उनले भने, 'धेरैजसो पर्यटकहरू चाहिँ काठमाडौंमा आइसकेपछि यहाँ भएका ठाउँहरू पनि हेरौँ बुझौँ भन्ने मनसायका पनि हुन्छन् र यहाँ घुमेपछि मात्रै अन्यत्र जान्छन्।'

काठमाडौं उपत्यका वरिपरि धेरै हाइकिङ रुटहरू पनि छन्। तर तीनको उचित तवरले विकास नहुँदा त्यतातिर पर्यटकको ध्यान खिच्न नसकिएको अध्यक्ष नेपालको भनाइ छ। 'हाम्रो विकासका पूर्वाधारहरू, बाटोघाटोले गर्दा ट्रेलहरू सबै विनाश हुँदै गइरहेका छन्। ठूला सडक बाटो खुलिसकेपछि पदमार्गबाट हिँड्ने त्यति रुचि हुँदैन', उनले भने, 'त्यसैले पनि नितान्त हाइकिङ ट्रेलहरू हामीले विकास गर्नुपर्छ। बिस्तारै चन्द्रागिरी जाने, फुलचोकी जाने ट्रेलहरू पनि विकास हुँदै आएको छ। पर्यटकको बसाइ लम्ब्याउन हामीले यस्ता पूर्वाधारहरूको विकास गर्नुपर्छ।'

नयाँ गन्तव्यको खोजी नहुँदा र भएकाको पनि उचित तरिकाले संरक्षण गर्न नसक्दा उपत्यकामा धेरैदिन पर्यटक अड्याउन नसिकएको उनी बताउँछन्। 'नेपालको राजधानी रहेको काठमाडौं उपत्यका सहर घुम्न, बुझ्न, अध्ययन, अवलोकन गर्ने ध्येयले आउने पर्यटकहरू लामै समय बसिरहेका हुन्छन्। तर नयाँ केही नहुँदा र पुरानाको पनि संरक्षण नहुँदा उनीहरू १५/१६ दिन नेपाल बसाइमा आए भने सम्भवत: तीनदेखि चारदिन काठमाडौंको बसाइ हुन्छ।'

dhungedhara bhaktapr.jpg
भक्तपुर दरबार क्षेत्रमा रहेको ढुंगेधारा

समस्या र समाधान

पर्यटक आएर विमानस्थलबाट ओर्लिएदेखि गन्तव्यमा नजाँदासम्म अव्यवस्थित तार, फोहर, दुर्गन्ध, शौचालय, विश्रामस्थल लगायत सयौँ समस्याहरू रहेको टुर्गानका अध्यक्ष बद्री नेपाल बताउँछन्। 

'महँगा टिकट किनेर पर्यटकहरू विभिन्न ठाउँ प्रवेश गरिसकेपछि त्यहीअनुसारको सुविधा हामीले उपलब्ध गराउनुपर्छ तर हामीले दिन सकिरहेका छैनौँ। न शौचालय सुविधा छ न त विश्रामस्थल नै। हाम्रा नदी नालाहरू त्यतिकै फोहोर छन्, यसले सहर नै दुर्गन्धित बनेको छ। उपत्यकाको सुन्दरतामा दाग लगाएको छ', उनले भने, 'यी कुराहरू पनि विदेशीले धेरै नोटिस गरिरहेका हुन्छन्। अहिले सहरमा हेर्ने हो भने जताततै विद्युतका तारदेखि केबलका तारहरूले गन्जागोल बनेका छन्। जुनसुकै विदेशीले देख्नासाथै पहिलो नम्बरमा फोटो खिच्ने भनेकै हाम्रा गन्जागोल तारहरूको हो। ती कुराहरूले पनि हामीलाई नकारात्मक प्रभाव पारिरहेको छ। यस्ता समस्याका बिचमा उहाँहरूलाई घुमाउन असाध्यै चुनौती छ।'

उपत्यका घुम्ने पर्यटकले प्रशंसासँगै फोहर, अस्तव्यस्तता, ट्राफिकजाम लगायतका गुनासो पनि गर्ने गरेको उनले बताए। 

‘उपत्यका घुमिसकेपछि नेपाल असाध्यै सुन्दर देश रहेछ, यहाँका मान्छेहरू असाध्यै मिलनसार, मिजासिला रहेछन् भनेर प्रतिक्रिया राख्नुहुन्छ', उनले भने, 'नेपाल नआएका, भारत घुमेका विदेशीहरूले नेपाललाई पनि भारतजस्तै होला भन्ने आँखाबाट हेरिरहेका हुने रहेछन्, तर यहाँ आइसकेपछि उनीहरूले नेपाल त भारतभन्दा राम्रो रहेछ भनिरहेका हुन्छन्। हाम्रो आत्मियतासँगै कलाकृति संस्कृतिले पर्यटकलाई पटकपटक नेपाल आएर घुम्न लालायित बनाउँछ।'

पर्यटकहरूले नेपालको प्राचीन सम्पदा संरक्षणका विषय पनि उठाउने र यसमा चिन्ता जताउने गरेको उनको भनाइ छ। 

'उपत्यकाका ऐतिहासिक ठाउँ, दरबारहरू, मन्दिरलगायत ऐतिहासिक धरोहर हेरेर उनीहरू प्रफुल्लित हुन्छन्। भूकम्पपछि भत्किएका धेरै प्राचीन सम्पदा पुनर्निर्माण भइसकेका छैनन्, उनीहरूले यसमा चिन्ता पनि जताउने गरेका छन्', अध्यक्ष नेपाल भन्छन्, 'यति धेरै ऐतिहासिक ठाउँहरू हुँदाहुँदै पनि संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन, प्रचारप्रसारमा किन ध्यान नदिएको होला भन्छन्। हामीले यी कुराहरूमा पनि ध्यान दिन जरूरी छ। प्राचीन कलाकृति जोगाइराख्न सक्यौँ भने न पर्यटन उकासिने हो।'

तस्बिरको मान्छे खोज्दै २४ वर्षपछि बेलायतबाट नेपाल तस्बिरको मान्छे खोज्दै २४ वर्षपछि बेलायतबाट नेपाल


प्रकाशित : बिहीबार , चैत ३० २०७९१८:१६
  • सम्बन्धित विषय:

  • # TOURISM
  • # nepalitourism
  • # newyear2080
  • # tourismspecial


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend