शनिबार, असोज १९ गते २०८१    
images
images

तस्बिरको मान्छे खोज्दै २४ वर्षपछि बेलायतबाट नेपाल

images
शनिबार, चैत १८ २०७९
images
images
तस्बिरको मान्छे खोज्दै २४ वर्षपछि बेलायतबाट नेपाल

पर्यटक नेपालमा के खोज्न आउँछन्? के हेर्न आउँछन्? प्राकृतिक सुन्दरता। कलात्मक दरबार। हिमालतिरको यात्रा। यस्तै यस्तै। तर उनका लागि यसपटकको नेपाल भ्रमण मानवीय साथको निश्चल यादका लागि रह्यो।

images
images

भक्तपुर- त्यसबेला उनी 'कुम्ह: त्व' मा खुब रमाएकी थिइन्। मनमौजी उमेरको घुमाइमा विशेष बनेको थियो भक्तपुर। भाषाको अर्थभन्दा वृहत मानवीय संवादमा घुलेकी थिइन्। माटोको भाँडा बनाउन सिकेकी थिइन्। माटोको सुगन्ध जस्तै मीठो बनेको थियो उनको भ्रमण।

images
images
images

'पोटरी स्क्वायर'को परिचयले व्यापक बनिसकेको उही कुम्ह: त्वमा २४ वर्षपछि उनी पुरानो फोटो देखाउँदै एउटा अनुहार खोजिरहेकी छिन्। माटोका पाला, दियो, खुत्रुके, मूर्ति र सजावट सामग्री बनाइरहेका र वरपरका हरेकलाई सोधिरहेकी छिन्, 'उहाँलाई चिन्नुहुन्छ?... यो धेरै पहिलेको फोटो हो, तपाइँले चिन्नुहुन्छ कि?' 

minal bkt (26).jpg
कुम्ह: त्व

जसले एकपटक मात्रको भेटले पनि मुस्कुराइरहने सहारा दियो। पल्टाएर हेरिरहन मिल्ने यादका तस्बिरहरू दियो। बितेका दिन फर्केर हेर्दा खुसी हुने बाटो दियो। आफ्नाहरूलाई सुनाइरहन मिल्ने कथा दियो। २४ वर्षअघिको त्यही एक भेटले मात्र पनि नेपालप्रतिको उनको सम्बन्ध हरेक दिनजसो जोडिने बनिरह्यो।

images

उनले देखाइरहेको फोटो धमिलो भए पनि स्मृति भने हिजोकै झैँ ताजा गरी सुनाइरहेकी छिन्। 'भर्खरै त छुटिएका हौँ तर पनि कहाँ गयो' जस्तोगरी आँखाहरू घुमाइरहेकी छिन्। त्यस्तो एक साथी खोजिरहेकी छिन् जसले केही घण्टाको भेटले हरेक दिनजसो सम्झिरहने बनाइदियो। त्यस्ता एक शिक्षक खोजिरहेकी छिन् जसले माटोको भाँडा बनाउन सिकाएर जीवनको कला बुझाइदियो। जिउनुमा उत्साह थपिदियो।

images

'म मेरो १३ वर्षकी छोरीलाई पनि उनको बारेमा भनिरहेकी हुन्छु। प्राय कुराकानी गरिरहेकी हुन्छु। क्या गजवका मानिस छन्, मलाई माटोको भाँडा बनाउन सिकाए। घरमा लगेर खाजा खुवाए। परिवारसँग भेटाए। न त मैले बोलेको अंग्रेजी उनले बुझ्थे, न त उनले बोलेको नेवारी र नेपाली नै म बुझ्न सक्थेँ तर पनि हामी खुब गफिएका थियौँ', एक्कासी भरिएका जस्ता आँखा पारेर उनले सुनाइन्।

pottery squ.jpg
कुम्ह: त्व

एकपटक आफैले फोटो हेरिन्। एल्बममा राखिएको फोटो उनले मोबाइलमा खिचेर ल्याएकी थिइन्। आफ्ना यादहरू खोज्न। 'मैले यो फोटो अलि बुझिनेगरी खिचिनछु कि के हो! यहाँको फोटो त एल्बममा अरु पनि थिए तर मैले यही एउटामात्र ल्याएँ' अरू पनि फोटो ल्याएको भए सायद भेटिन्थ्यो कि भनेजसरी उनले सुनाइन्।

फोटो हेरेर धेरैले त चिनेनन्। कतिले भनिदिए, उहाँ त बितिसक्नु भयो। तर भरपर्दो जानकारी नपाएसम्म उनी घुमिरहिन्। यताउति सोधिरहिन्। उनी छन् र भेटिन्छन् भन्ने आश उनमा बलियो बनेको थियो।

कुम्ह: त्वको अलि पुछारतिरैको पसलमा काम गरिरहेका छन् गणेशकुमार प्रजापति। उनी चक्कामा माटोलाई आकार दिएर धुपौरो बनाउँदै छन्। उनको परिवार धुपौरोमा समात्ने बिँड बनाउँदै छ। अघिदेखि मोबाइलको फोटो देखाएर सोधखोज गरिरहेकी मिनल राजा अहिले गणेशकुमारको पसलअघि छिन्। गणेशले काम रोक्लान् अनि सोधौँला भनेर केहीबेर पर्खिइन्।

minal bkt (2).jpg
मिनल राजा

मिनल राजा, उनको हजुरबुबा पुस्ता भारत गुजरातबाट व्यापारका लागि केन्या गएका। उनको बुबा पुस्ता केन्यामै बस्यो। उनी उतै जन्मिइन्। विद्यालय शिक्षापछि थप अध्ययनका लागि बेलायत गइन्। अध्ययनपछि उतै काम गर्न थालिन्। बेलायत छँदै सन् १९९९ मा उनी एक्लै नेपाल घुम्न आइन्। भक्तपुरको उनको पुरानो सम्झना त्यहीबेलाको हो, उनी २९ वर्षकी हुँदाको।

उही पुरानो दिन खोज्दै ५३ वर्षकी उनी अहिले कुम्ह: त्वका गल्ली चहारिरहेकी छिन्। तिल चामल भएको कपालमाथि एउटा चस्मा अड्याएकी छिन्। ट्रेकिङ जाने ब्यागमा पछाडि दुई लठ्ठी हालेकी छिन्। र हातमा लिएको मोबाइलमा फोटो देखाउँदै सोधिरहेकी छिन्, 'उहाँलाई चिन्नुहुन्छ?'

गणेशकुमारले काम रोकेरै मिनलतिर ध्यान दिए। उनले देखाएको फोटो नियाले। एकैक्षणमा भनिहाले, 'उहाँ त इन्द्रप्रसाद हो... इन्द्रप्रसाद प्रजापति।'

'ओहो! तपाइँ उहाँलाई चिन्नुहुन्छ? अहिले कता हुनुहुन्छ उहाँ?' खुसी हुँदै मिनलले सोधिन्।

'पहिले त यहाँ नजिकै काम गर्नुहुन्थ्यो, अहिले त अलि तलतिर हुनुहुन्छ। अलि तल नयाँ घर बनाइरहेको ठाउँमा गएर सोध्नुस् त' गणेशकुमारले बाटो देखाइदिए।

minal bkt (27).jpg
२४ वर्षअघि भक्तपुर आउँदा मिनल र इन्द्रप्रसाद

अघिसम्म एउटा पुरानो फोटोको मात्र सहारामा यताउता गरिरहेकी मिनलका लागि अब सोध्न मिल्ने नाम भेटियो। सम्भावित ठाउँ भेटियो। कुम्ह: त्वका इन्द्रप्रसाद प्रजापति।

केही ओरालो बाटोबाट सोध्दैसोध्दै मिनल तलतिर लागिन्। अब नाम भनेपछि स्थानीयले उनलाई सही ठाउँ नै देखाइदिए। उनले काम गर्ने भनेको ठाउँमा ढोका बन्द रहेछ। त्यहीँनेर स्थानीयले भनिदिए उनी घर गएका होलान्। अलिकति माथि छ घर।

काम गर्ने ठाउँमा पर्खिरहनभन्दा घर भनेको ठाउँमा नै जाने भइन् मिनल। केही तेर्सो र केही उकालो लागेर फेरि सोधिन्, इन्द्रप्रसादको घर कता होला?

minal bkt (3).jpg
इन्द्रप्रसादलाई खोज्दै मिनल

'त्यो हरियो छाना निस्किएको घर।' ... हातले इशारा गरिदिएतिर बढिन् मिनल।

भनिएको घरमा आवाज दिएर बोलाइन्। एकैछिनमा निस्किए एक पाका व्यक्ति। निधारमा ठाडो टीका। ढाका टोपी र काननेर फूल सिउरिएका।

तपाइँ इन्द्रप्रसाद हो? भनेर सोध्दानसोध्दै मिनलले चिनिहालिन्। खुसीले ठूलै स्वरमा कराइन्, 'या द्‍याट्स हिम, द्‍याट्स हिम।'

minal bkt (4).jpg
इन्द्रप्रसाद प्रजापति

इन्द्रप्रसाद एकैछिन ट्वाल्ल परे। मोबाइलको फोटो देखाएपछि उनले बुझिहाले। अनि मीठोसँग दाँत देखाएर हाँसे। 'हाहा... यो फोटो म उता माथि बसेर काम गर्ने बेलाको हो।'

minal bkt (6).jpg
पुरानो फोटो देखाउँदै मिनल

खोजिहिँडेको माटोको सुगन्ध भेटेजस्तो आनन्दित भइन् मिनल। इन्द्रप्रसादले भित्रै बसौँ न भनि अतिथि सत्कार टक्र्‍याउन चाहे। मिनल एकछिन चुपचाप हेरिरहिन्। उनलाई एकपटैक धेरैकुरा भन्न मन थियो। तर इन्द्रप्रसाद उनको उत्साह र भावमात्र बुझिरहेका थिए, शब्द बुझिरहेका थिएनन्। '२४ वर्षअघि पनि हामीले एकअर्काको भाषा नबुझी भाव नै बुझेर संवाद गरेका थियौँ' मिनलले सम्झिइन्।

२४ वर्षअघि भेटेको पर्यटकले फेरि आफैलाई सम्झेर खोज्दै आउनु इन्द्रप्रसादका लागि पनि अविश्वासिलो खुसीको क्षण बन्यो। उनले भने, 'तपाइँहरू बस्दै गर्नुस्, म मेरो बुढीलाई पनि बोलाएर आउँछु है। ऊ तल छ।'

'उहाँलाई बोलाउन पर्दैन, बरु हामी पनि उतै जाऔँ न।'

निस्कँदै गर्दा आफ्नो घरबारे इन्द्रप्रसादले भने, 'यो घर चाहिँ मैले भूकम्पपछि किनेको। यत्तिकोमा बस्न त ठीकै हुन्छ भनेर।'

minal bkt (5).jpg
इन्द्रप्रसादको घरअघि

'मैले हरेक समय त्यो समयका कुराहरू सम्झिरहेको हुन्छु। उहाँले सम्झिनुहुन्छ होला त?' मिनलले जिज्ञाशा राखिन्। उनको कुरा बुझाइदिएपछि इन्द्रप्रसादले भने, 'हो हो मलाई याद आइसक्यो। सम्झिन्छु नि। खाजासाजा खाएर पठाएको। तपाइँसँग भाँडा बनाएको पहिलेको ठूलो चक्का यहाँ घरमा नै छ। अहिले तल काम गर्ने ठाउँमा सानो चक्का मात्रै चलाउँछौँ।'

आठ वर्षको हुँदादेखि नै माटोको भाँडा बनाउँदै आइरहेका इन्द्रप्रसाद अहिले ६६ वर्षका भए। कुम्ह: त्वमा उनले काम गरिरहेको यो ५८ वर्षमा कति पर्यटक आए गए। हरेकलाई उनले आत्मीय व्यवहार गरिरहेका छन्। साथीका रुपमा साथ दिइरहेका छन्। माटोको कला सिक्न चाहनेलाई गतिलो सिकाइका लागि अभ्यास गराइरहेका छन्। राम्रो शिक्षक बनेका छन्। 

minal bkt (7).jpg
इन्द्रप्रसादले काम गर्ने ठाउँमा जाँदै

पहिले उनलाई खोज्दै गएकोतिर नै इन्द्रप्रसादले लिएर गए। अँध्यारो घरको साघुँरो भर्‍याङ हुँदै काम गर्ने तल्लो तलामा लगे। भर्‍याङ ओर्लिरहँदा मोबाइलको लाइट बालेर मिनलले भनिन्, 'म भाग्यमा विश्वास गर्छु, चिताएको कुरा पूरा भएरै छाड्नेरहेछ, आखिर मैले भेटेँ।'

भर्‍‍‍याङको कुनोलाई इन्द्रप्रसादले कार्यकक्ष बनाएका रहेछन्। एउटा सानो चक्का अहिले बिजुली मोटरमार्फत घुम्ने बनाएका रहेछन्। 'पहिले हातैले घुमाउने ठूलो चक्काभन्दा त यो अलि सजिलो नै छ' उनले भने।

minal bkt (9).jpg
इन्द्रप्रसादले काम गर्ने ठाउँ

दुवैजना बसेर माटोको भाँडा बनाउन मिल्नेगरी इन्द्रप्रसादले ठाउँ मिलाए। 'के गर्नु काम गर्न हामीलाई सबै कुरा अगाडि नै चाहिन्छ' भन्दै उनले पानीको भाँडा अगाडि सारे। मिनललाई बस्न सजिलो होस् भनेर काठको होचो कुर्चिमाथि बोरा राखिदिए। 

'कसरी बनाउने रे! यतिका वर्ष भइसक्यो, पहिले सिकेको त मैले बिर्सिएँ' मिनलले भनिन्।

'हात यहाँ राख्नुस् अनि चारवटा ‌औँला यसरी राख्नुस्' दुईहातभरिको माटो चक्कामाथि राखेर इन्द्रप्रसादले सिकाए।

minal bkt (12).jpg
माटोको भाँडा बनाउन सिकाउँदै

इन्द्रप्रसादले भनेजसरी नै दुई हातका औँला फिजाएर मिनलले माटोलाई आकार दिन थालिन्। काम गरिरहँदा हाँस्दै भनिन्, 'हि इज भेरी ह्याण्डसम म्यान याट द्‍याट टाइम।' त्यति भनेर फेरि इन्द्रप्रसादतिर हेरेर हाँसिन्। उनले भनेको नबुझे पनि इन्द्रप्रसाद पनि हाँसे।  

'लिटल फोर्स एण्ड मोर वाटर' यसपटक इन्द्रप्रसादले हातको भाउमा काम बुझाउँदै अंग्रेजी नै बोले।

कुम्ह: त्वको ६६ वर्षले उनलाई धेरै सिकाएको छ। माटोसँगको सम्बन्ध बनाएको छ। जीवन जिउने सीप दिएको छ। कला दिएको छ। संस्कार दिएको छ। उनको त्यही मानवीय संस्कार नै हो जसले एकपटकको भेटपछि पनि मिनललाई सम्झिरहने बनाइदियो। फर्केर फेरि आऔँआऔँ बनाइदियो।

minal bkt (16).jpg
काम सिकाउँदै

काम गरिरहँदा इन्द्रप्रसादले भने, 'माटो लिन धेरै नै गाह्रो छ अहिले त। किन्नु नै पर्छ। पहिले त सित्तैमा नै दु:ख गरेर माटो ल्याउँथ्यौँ। तर अहिले प्लटिङले गर्दा माटो ल्याउने जग्गा नै छैन।'

काम गरिखानेहरूका लागि अहिले दु:ख बढेको हो कि घटेको हो मिनलले बुझिनन्। उनले देखेरै यति बुझिन्, काठमाडौं-भक्तपुर अहिले धेरै नै परिवर्तन भइसकेको रहेछ। पहिले धेरै देखिने खुला ठाउँहरू अहिले भरिएछन्। ठाउँ फेरिए पनि नेपालमा मानिसहरू पहिले जस्तै शान्त स्वभावकै पाइन् उनले। मानवीय सम्बन्ध र पर्यटकप्रतिको व्यवहार आत्मीय नै पाइन्।

minal bkt (17).jpg
कैद गर्दै यादहरू

'नेपालमा पहिलोपटक आउँदा २९ वर्षकी थिएँ। त्यो बेला बिहे त भइसकेको थियो तर पनि म आफ्ना लागि सबै विषयमा स्वतन्त्र नै थिएँ। म जहिले पनि नेपालको बारेमा नै कुरा गरिरहेकी हुन्छु। सन् १९९९ मा भ्रमणमा आउनुअघि पनि नेपाल भ्रमण केटीहरूका लागि निकै सुरक्षित छ भन्ने पढेकी थिएँ। त्यसैले नेपाल नै आएकी थिएँ', मिनलले सुनाइन्।

minal bkt (13).jpg
चिया खाँदै हाँसो।

इन्द्रप्रसादकी श्रीमतीले चिया ल्याएर दिइन्। चियाको चार चुस्की लिएपछि मिनलले नेपालीमै भनिन्, 'चिया मीठो छ।' चियाभन्दा मीठो सुनियो उनको लयात्मक नेपाली उच्चारण।  

बेलायतमा एक औषधी कम्पनीमा काम गरेर अवकास जीवनमा छिन् मिनल। अहिले पनि स्पेनिस भाषा पढाउने काम भने गरिरहेकी छिन्। 'मैले फार्मेसी पढेको हो तर युनिभर्सिटी सकिएपछि स्पेनिस भाषा पनि पढेँ। केही समय स्पेनमा अंग्रेजी भाषा पनि पढाउने काम गरेँ। अहिले बेलायतमा नै बसेर स्पेनिस भाषा पढाउँछु' उनले आफ्नो कामबारे सुनाइन्।

minal bkt (15).jpg
माटोको कप बनाउँदै

इन्द्रप्रसादले मिनलजसरी नै अरू पनि एकपटक आएपछि फर्केर पुन: आउने गरेको बताए। तर २४ वर्षपछि यसरी आफैलाई खोज्दै आएको देखेर उनी दंग पनि छन्। भन्छन्, 'जर्मन, क्यानडा, इटाली, भारतबाट पनि कतिजना आउनुभएको थियो। मलाई पैसाको लोभ छैन। मान्छेहरू आउँदा खुसी लाग्छ।'

इन्द्रप्रसादको बोली टुंगिनेवित्तिकै मिनलले भनिन्, 'मलाई यो सबै 'म्याजिकल' लागिरहेको छ। यतिका वर्षपछि भेट भयो, उसैगरी माटोको भाँडा बनाउन पाएँ। यो कलाको काम एकैदमै गाह्रो रहेछ। उहाँहरू गजवको कलाकार हुनुहुन्छ।'

minal bkt (18).jpg
मिनलले बनाएको फूलदानी

एउटा माटोको कप बनाएपछि मिनलले फेरि फूलदानी पनि बनाइन्। बिग्रिएको आकार इन्द्रप्रसादले सच्याइदिए। त्यसमा इन्द्रप्रसादको नाम लेखेर राखिदिन मिनलले भनिन्। 'म अन्नपूर्ण सर्किट पनि घुमेर १५ दिनपछि आउँछु र यो लिएर जान्छु है' उनले भनिन्।

जब तपाइँ एक्लै भ्रमणमा निस्कनुहुन्छ तब यो-यो गर्छु भन्ने सूचीको समझदारी आवश्यक पर्दैन। मन लागेको ठाउँमा बसिदियो। मन लागेको ढुंगोमा सुस्तायो। मन लागेको कुरा खाइदियो। यो गर भन्ने कोही छैन। यो नगरौँ भन्ने कोही छैन। एकदमै स्वतन्त्र। आफैमा। आफ्नै लागि। मिनल त्यसैगरी नेपाल घुमिरहेकी छिन्। २४ वर्षअघि पनि त्यसरी नै घुमेकी थिइन्। स्वतन्त्र। मनमौजी।

minal bkt (22).jpg
मिनल र इन्द्रप्रसाद

अब केही दिनमा मिनलकी छोरी पनि नेपाल आउँदै छिन्। सँगै अन्नपूर्णतिर घुम्न जाने योजनामा उनी छिन्। त्यसअघि काठमाडौं, भक्तपुर र नगरकोट। घुमाइको लामो योजनामा उनलाई इन्‍द्रप्रसादको त्यो छिँडी छाडेर हिँड्न मन छैन। 'अब त अबेला भयो होला हैँ?' साढे दुई घण्टा इन्द्रप्रसादको सिकाइमा माटोसँग घुलेपछि मिनलले प्रश्न गरिन्।

के गरौँ के गरौँ भावमा भाँडा बनाइरहेको कालो माटो मिनलले आफ्नो अनुहारमा पोतिन्। त्यो सुगन्ध अझै मजाले भोगिन्। नेपाली माटोसँगको सम्बन्ध बोकिन्। आउने दिनहरूमा सम्झिरहनका लागि थप कथाहरू जोडिन्। भनिन्, 'ओहो अलि पागलपन पनि भयो कि के हो!'

minal bkt (19).jpg
कालिमाटी लगाएपछिको हाँसो

इन्द्रप्रसादले साथ दिए, 'होइन होइन, यो त गालाको लागि राम्रो हुन्छ नि। गाला फुट्दैन।' उनको गालामा पनि मिनलले माटो लगाइदिइन्। इन्द्रप्रसादले आफ्नो टोपी मिनललाई लगाइदिए। भने, 'तपाइँलाई टोपी त अलि सानो भयो।'

जानेबेला इन्द्रप्रसादले दोस्रो तलामा उक्लिएर आफ्ना अरु सामानहरू पनि देखाए। बारम्बार भनिरहे, 'किन्न भनेर देखाएको होइन है। तपाइँलाई कामहरू देखाउन मात्र हो।' फेरि एकपटक इन्द्रप्रसादले आफ्नो निश्चल मनले मन जिते। पर्यटकसँगको मीठो व्यवहारले नेपाल चिनाए।

minal bkt (20).jpg
भाँडा बनाउने काम सकेपछि

इन्द्रप्रसादले बनाएको धेरैवटा माटोको भाँडा हेरेपछि मिनलले भनिन्, 'मलाई बिर्को भएको दही राख्ने भाँडा दुईवटा बनाइदिनू है। एउटा अलि ठीक्कको, एउटा अलि सानो।'

काठको साघुँरो भर्‍याङमा बस्दै बस्दै मिनल तल झरिन्। पछिपछि आए इन्द्रप्रसाद। बिदाको हात हल्लाउनुअघि इन्द्रप्रसादले खानका लागि निम्तो दिए। मिनलले बेलुकाको खाना खान आउने बचन दिइन्। 'तर धेरै दु:ख चाहिँ नगर्नू है! म मासुहरू खाँदिन, शाकाहारी मात्रै।'

minal bkt (8).jpg
रक्सी राख्न बनाएको भाँडा

इन्द्रप्रसादले भने, 'त्यस्तो केही राख्दिनँ, दही र तरकारीहरू खाऔँला नि। यति वर्षपछि पनि सम्झेर आइदिनुभएकोमा धन्यबाद। मलाई धेरै खुसी लाग्यो।'

मिनलले पनि अनुहारको भावले खुसी व्यक्त  गरिन्। धन्यबाद भनिन्। फर्केर उनको घर आइपुग्न बाटोको फोटोहरू खिचिन्। चोकका बोर्डहरू खिचिन्। उनलाई डर लाग्यो, 'म बाटो पहिल्याएर बेलुका इन्द्रप्रसादको घर आइपुग्न सक्छु कि सक्दिनँ होला।'

minal bkt (24).jpg
इन्द्रप्रसादले काम गर्ने ठाउँबाट निस्कँदै

मिनल बेलुका इन्द्रप्रसादको घर पहिल्याएर पुगिछाडिन्। खाना खाइन्। परिवारसँग बसिन्। तस्बिरहरू लिइन्। २४ वर्षअघि जस्तै बेलायत फर्केर सुनाउन मिल्ने यादका अरू कथाहरू थपिन्।

minal bkt (28).jpg
इन्द्रप्रसादको घरमा खाना खाँदै

पर्यटक नेपालमा के खोज्न आउँछन्? के हेर्न नेपाल आउँछन्? प्राकृतिक सुन्दरता। कलात्मक दरबार। हिमालतिरको यात्रा। यस्तै यस्तै। तर मिनलका लागि यसपटकको नेपाल भ्रमण मानवीय साथको निश्चल यादका लागि रह्यो। यादले तानेर आइन्। बाँचुन्जेल पुग्ने यादहरू थपिन्। पहिलेजस्तो तस्बिरमात्र होइन, उनीसँग अब त प्यारो साथीको नाम पनि छ- इन्द्रप्रसाद प्रजापति। कुम्ह: त्वका इन्द्रप्रसाद। 

minal bkt (21).jpg
इन्द्रप्रसादको परिवारसँग मिनल
minal bkt (25).jpg
बिदाइको हाँसो


प्रकाशित : शनिबार, चैत १८ २०७९०४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend