बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

ब्याजदर घटेसँगै सेयर बजारमा उभार, ९२ अंकको वृद्धि

बुधबार, चैत २९ २०७९
ब्याजदर घटेसँगै सेयर बजारमा उभार, ९२ अंकको वृद्धि

काठमाडौं- लामो समयपछि सेयर बजारमा उभार आएको छ। बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेसँगै बजारमा व्यापक वृद्धि देखिएको हो। लगानीकर्तालाई विश्वास दिलाउने प्रयासमा अर्थमन्त्री प्रकाशशरण महत लागिरहँदा बजारमा सुधार देखिएको हो। 

बुधबार ९२.२२ अंकले बढेर बजार १९६३.५५ बिन्दुमा पुगेको छ। कारोबार भएका २ सय १८ कम्पनीकै सेयर मूल्य बढेको बजारमा १ अर्ब ९७ करोड ६० लाख रूपैयाँको कारोबार भयो। कारोबार रकममा पनि बुधबार पछिल्ला केही सातायताकै राम्रो वृद्धि देखियो। 

यो साता आइतबार २८.३१ अंकले घटेको बजार सोमबार ५.५४ अंकले बढेर १८४४.०२ बिन्दुमा पुगेको थियो। मंगलबार २७.३१ अंकले बढेर बजार १८७१.३३ बिन्दुमा पुगेको थियो। बुधबार भने बजारमा थप उत्साह देखियो।

नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले ब्याजदर घटाउने निर्णय गरेसँगै बजारमा विश्वासको आधार बढेको देखिन्छ। संघको बैठकले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले  घटाउने निर्णय गरेको हो। ऋणको ब्याजदर भने गत माघको घटेको दरअनुसार समायोजन हुनेछ।

अर्थतन्त्रका अन्य सूचकहरूमा पनि सुधार भइरहेको छ। १५ महिना लगातार घाटामा गएको मुलुकको शोधनान्तर अवस्था फागुनसम्म १ खर्ब ४८ अर्बले बचतमा गएको छ। फागुनमा रेमिट्यान्स पनि १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको आएको छ। यो वर्षको ८ महिनामा रेमिट्यान्स २५ प्रतिशतले बढेको छ। 

अर्थमन्त्री महतले पदभार सम्हालेदेखि नै बजार सुधारका लागि निरन्तर छलफलमा जुटिरहेका छन्। लगानीकर्ताले विश्वास गुमाएको बजारमा अब स्थिरतासँगै वृद्धितर्फ नै देखिने विश्लेषकहरू बताउँछन्।

अहिले अर्थतन्त्रको अवस्थामा सुधार देखिँदै जाँदा अब सेयर बजारले पनि बैशाखदेखि गति समात्ने विश्वासमा संगठित लगानीकर्ताहरू रहेका छन्।


प्रकाशित : बुधबार, चैत २९ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend