बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जीवित संग्रहालय : जहाँ ‘माटोसँग’ जोडिन्छन् पर्यटक

बिहीबार , चैत ३० २०७९
जीवित संग्रहालय : जहाँ ‘माटोसँग’ जोडिन्छन् पर्यटक

झकिझकाउ रंगीचंगीका आधुनिकतातिर जान खोजिरहेका पर्यटकीय नगरीहरूलाई कुम्ह: त्वले भनिरहेको छ, ‘आफ्नोपन नछाड।’

भक्तपुर- जीवित संग्रहालय नै हो कुम्ह: त्व। वर्षौंदेखि यसले स्थानीय कलासंस्कृति र कर्मको जगेर्नामा निरन्तर मेहनत गरिरहेको छ। ‘पोटरी स्क्वायर’मा परिचय फेरेको यो कुमाले टोलले धेरै देख्यो। भोग्यो। तर उसैगरी पुर्खाले छाडिगएको सम्पदा निरन्तर जीवन्त पारिरहेको छ।

भक्तपुर यतिबेला जात्रामय छ। पर्यटकहरू भक्तपुरको संस्कृतिमा रमाइरहेका छन्। स्थानीय कलासंस्कृति र जीवनसँग जोडिन पाउँदा भक्तपुर पुग्ने पर्यटक उल्लेखनीय नयाँपनको अनुभूति गर्छन्। जात्रापर्वका बेलामात्रै होइन भक्तपुरले पर्यटकका लागि स्थानीयपनको आभास सधैँ दिलाइरहेको छ। त्यसमा विशेष छ कुम्ह: त्व। 

pottery square (8).jpg

आठ वर्षको उमेरदेखि नै माटोको भाँडा बनाउँदै आइरहेका इन्द्रप्रसाद प्रजापति अहिले ६६ वर्षका भए। कर्ममा उसैगरी निरन्तर छन्। कुम्ह: त्वमा उनले काम गरिरहेको यो ५८ वर्षमा धेरै पर्यटकले उनीहरूको काम नियाले। सँगै काम सिक्न चाहे। माटोमार्फत स्थानीय कला संस्कृति बुझे। 

अहिले आफूपछिका पुस्ताले यही कामलाई निरन्तरता दिन सक्दैनन् कि भन्ने चिन्ता इन्द्रप्रसादमा देखिन्छ। ‘अब त माटोको अभावले गर्दा नै काम निरन्तर गर्न गाह्रो हुनेछ। सबैतिर प्लटिङ भइदिनाले माटो पाउने ठाउँ नै छैन। टाढाबाट किनेरै ल्याउनुपर्छ माटो’ उनले भने। 

pottery square (4).jpg

माटोकै अभावले जीवित संग्रहालय कुम्ह: त्व मृत भइदिने हो कि भन्ने चिन्ता स्थानीय प्रजापतिहरूमा छ। पर्यटकलाई माटोको कला देखाएर आकर्षित गरिरहेका उनीहरू सम्पदा जगेर्नामा लागिरहेका अभियन्ता हुन्। जो दैनिकी चलाउने मेसोबाट माथि उठेर पुर्खाको कर्म जोगाउने अभियानमा छन्। 

पर्यटकहरू स्थानीय कलाकर्ममा समाहित हुन पाउँदा खुसी हुने गरेको बताउँछन् कुम्ह: त्वमा माटोको भाँडा बनाइरहेका विनोदकुमार प्रजापति। बाबुबाजेले गरिआएको कामलाई निरन्तरता दिइरहेका उनी विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकहरू पनि आफ्नै हातले केही बनाउन चाहने गरेको सुनाउँछन्। 

pottery square (3).jpg

‘पर्यटकहरू माटोको सामान आफै बनाउन पनि रुचि देखाउँछन्। उनीहरूले बनाएको कला हामी तयार पारेर फेरि उनीहरूलाई नै दिन्छौँ जसले गर्दा स्थानीय उपहार उनीहरूसँग सधैँ रहिरहन्छ’, विनोदकुमारले भने, ‘एकघण्टा माटोको भाँडा बनाएको स्थानीय पर्यटकका लागि पाँचसय र विदेशी पर्यटकका लागि एकहजार रूपैयाँसम्म लिइरहेका छौँ।’

कुम्ह: त्वमा काम गरिरहेका सबैको चिन्ता अहिले माटो अभावले काम नै छाड्न पर्ने हो कि भन्नेमा छ। १० वर्षको उमेरदेखि माटोको कलामा लागिरहेका गणेशकुमार प्रजापति अहिले ४१ वर्षका भए। कुम्ह: त्वमा धेरै परिवार अहिले पनि माटोकै काममा लागिरहँदा अब भने निरन्तर नहुने डर रहेको गणेशकुमार बताउँछन्। 

pottery square (2).jpg

‘भूकम्पपछि पनि धेरैले काम छाडे। काममा रहिरहेकाहरूले पनि माटोको अभाव भोगिरहेका छन्’, गणेशकुमारले भने ‘जे होस् कामको जगेर्नासँगै परिवार चलाउन पनि पुगिरहेको छ। यो काममा परिवारका सबै सदस्य नै संलग्न हुन मिल्छ।’

कुम्ह: त्वमा अहिले धेरैजसो माटो थली र साँखुबाट आउँछ। उनीहरूले किलोको आठ रूपैयाँदेखि १२ रूपैयाँसम्म हालेर माटो किन्छन्। 

तिहारको समयमा व्यस्तता बढ्ने कुम्ह: त्वमा अन्य समयमा पनि खाली बस्नुपर्ने अवस्था छैन। माटोको समस्या भोगिरहँदा बनाएका सामान थुपारेर राख्नुपर्ने समस्या भने नभएको गणेशकुमार सुनाउँछन्। ‘बनाएको सामान स्टकमा बसेको छैन। बनाएकाजति बिक्री भइरहेको छ। कोभिडको समयमा केही समस्या परेको हो अहिले त विस्तारै राम्रो हुँदैछ’ उनले भने।

pottery square (6).jpg

विगतमा परम्परागत रूपमा माटोका भाँडाहरू पोल्ने गर्दा झण्डै ४० प्रतिशत फुटेरै नष्ट हुँदा आम्दानी निकै कम हुने गरेको स्थानीय प्रजापतिहरूको अनुभव छ। अहिले पनि आधुनिक भट्टीले सहज भएको छ। 

अहिले उनीहरू सामुदायिक भट्टीहरूमा पालैपालो माटोका भाँडा पोल्ने गर्छन्। स्थानीय प्रजापतिहरूका अनुसार परम्परागत रुपमा भन्दा अहिलेको काममा भाँडा कम फुट्ने साथै धुलोधुवाँ वा खरानीको सास्ती कम भएको छ। हातैले घुमाउनु पर्ने चक्रको ठाउँमा अहिले विद्युतीय चक्र आएपछि दिनमै सयौँ भाँडाकुँडा बनाउन सकिने भएको छ।

pottery square (5).jpg

कुम्ह: त्वमा उनीहरू आर्थिक आर्जनका लागि मात्र काम निरन्तर गरिरहेका होइनन्। सन्ततिलाई आफ्नो पेसा र पहिचान बुझाउन जरुरी छ भन्ने ठानेर पनि मेहनत गरिरहेका छन्। भक्तपुरको जीवित संस्कृति जोगाइरहेका छन्। सामाजिक आवश्यकता पुर्‍याउनेदेखि धार्मिक परम्परा निर्वाह गर्न चाहिने सामानसम्म उनीहरू तयार पार्छन्। 

त्यसमा पर्यटकीय दृष्टीले भएका काम त अझ महत्वपूर्ण छन्। उनीहरूका उत्पादन देशभित्र र बाहिर धेरैले रुचाएका छन्। कति त त्यही कामको सम्बन्धले पुन: फर्किफर्की आउने गरेका छन्। बेलायतबाट २४ वर्षपछि कुम्ह: त्वमा पुन: आएकी मिनल राजा यहाँको संस्कृति र मानवीय सम्बन्ध अनुपम रहेको बताउँछिन्। ‘म त यहाँ फेरि कहिले आऔँ जस्तो भइरहेकी थिएँ, यहाँ यो माटोको काम र यहाँका मानिसको व्यवहार मनमा बसिरहने खालको छ’ उनले भनिन्। 

pottery square (10).jpg

हरेकदिन कुम्ह: त्वमा पर्यटकको चहलपहल भइरहन्छ। पर्यटक नेपालमा के हेर्न चाहन्छन्? के बुझ्न चाहन्छन्? प्रश्नको जवाफ कुम्ह: त्वमा माटोको कलाले दिइरहेको छ। स्थानीय कला र संस्कृतिको नौलोपनमा आफै संलग्न हुन पाउँदा पर्यटकहरूको मनमा नेपालको भिन्न तस्बिर बनिरहेको छ।

झकिझकाउ रंगीचंगीका आधुनिकतातिर जान खोजिरहेका पर्यटकीय नगरीहरूलाई कुम्ह: त्वले भनिरहेको छ, ‘आफ्नोपन नछाड।’ 

तस्बिरको मान्छे खोज्दै २४ वर्षपछि बेलायतबाट नेपाल तस्बिरको मान्छे खोज्दै २४ वर्षपछि बेलायतबाट नेपाल


प्रकाशित : बिहीबार , चैत ३० २०७९१८:१६
  • सम्बन्धित विषय:

  • # tourismspecial
  • # nepaltourism
  • # visitnepal
  • # bhaktapur


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend