बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

वित्तीय प्रणालीमा आठ महिनामै २ खर्ब ८० अर्ब निक्षेप बढ्यो

बुधबार, चैत २९ २०७९
वित्तीय प्रणालीमा आठ महिनामै २ खर्ब ८० अर्ब निक्षेप बढ्यो

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूमा आठ महिनामा निक्षेप ५.५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५.५ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब ५७ करोड पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ९२ अर्ब १२ करोड ४.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.५ प्रतिशतले बढेको छ।

२०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.९ प्रतिशत, २५.७ प्रतिशत र ५९.९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.४ प्रतिशत, २९.२ प्रतिशत र ५५.५ प्रतिशत रहेको थियो।

फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.८ प्रतिशत रहेको छ। यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.८ प्रतिशतले १ खर्ब २८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब २२ अर्ब ४९ करोड अर्थात १२.८प्रतिशतले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ। फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.४ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षको आठ महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २.८ प्रतिशतले, विकास बैंकहरूको ३.१ प्रतिशतले र वित्त कम्पनीहरूको ०.७ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६७.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ।


प्रकाशित : बुधबार, चैत २९ २०७९०६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend