पछिल्लो समय विमानस्थल पूर्वाधार निर्माणले छलाङ नै मारेको छ। एकवर्षकै अवधीमा भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आएका छन्। आन्तरिक विमानस्थल निर्माण र सुधारको काम पनि धमाधम अगाडि बढिरहेको छ। तीन विमानस्थलको क्षमता १ करोड २७ लाख यात्रु धान्ने छ। सन् २०२४ पछि काठमाडौं विमानस्थल पूर्ण क्षमतामा चल्ने छ। सोही कारण पनि अबको १० वर्षभित्रै पूर्ण क्षमताको निजगढ विमानस्थल निर्माण नगर्ने हो भने पर्यटक भित्र्याउने बाटो बन्द हुने बताउँछन् नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारी। १० वर्षपछिको हवाई पूर्वाधारका विषयमा केन्द्रित रहेका अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश-
नेपालको अहिलेको विमानस्थल र हवाई पूर्वाधारले कति पर्यटक र यात्रु धान्न सक्ने क्षमता रहेको छ?
विमानस्थलको क्षमताको कुरा गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ९२ लाख यात्रुलाई धान्न सक्ने छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता १५ लाख रहेको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक यात्रु क्षमता २० लाख रहेको छ। यसले समग्र हाम्रो विमानस्थलले धान्न सक्ने यात्रु क्षमता भनेको १ करोड २७ लाख रहेको छ। अन्य आन्तरिक विमानस्थलको त अझै पनि पूर्ण क्षमतामा सञ्चालनमा आइसकेका छैनन्।
त्रिभुवन विमानस्थलले सन् २०१९ मै यात्रुको चाप धान्न नसकेको भन्ने थियो। पछि कोरोना महामारी आएपछि यात्रु नआउँदा केही थामियो। फेरि पर्यटक आगमन बढ्दो छ, पोखरा र भैरहवाको संरचनाले मात्रै चाप धान्ने देखिन्न। भनेपछि यो संरचनाले कति वर्षसम्म धान्छ त?
कोभिड नभएको भए अवस्था अर्को नै भइसकेको हुने थियो। सन् २०१९ को लयमा फर्किन अझै केही वर्ष कुर्नुपर्ने हुनसक्छ। कोरोना नभएको भए २०२२ मै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धान्न सक्ने अवस्था हुने थिएन। एयर ट्राफिकको वृद्धिलाई भैरहवा र पोखरा पठाउने गरी काम गरिरहेका छौँ। जुन कामले केही वर्ष हामीलाई थेग्ने अवस्था रहन्छ।
पोखरा र भैरहवा प्रयोगविहीन भयो भन्ने पनि आइरहेको छ। यसलाई कसरी सञ्चालन गर्ने भन्ने मोडालिटी केही छैन?
पोखरा र भैरहवा विमानस्थल प्रयोगविहीन भयो भन्ने कुरा होइन। अहिले पनि विमानस्थल सञ्चालनमै रहेका छन्। खाली अन्तर्राष्ट्रियतर्फको उडान हुन नसकेको हो। कोरोना महामारीले गर्दा संसारभर हवाई यात्रु घटेका थिए। अब सन् २०१९ को यात्रु सन् २०२६ मा पुग्ने प्रक्षेपण भइरहेका छन्।
त्यही समयसम्म पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउने देखिन्छ। यो अन्तर्राष्ट्रिय व्यापार कसरी चलेको छ? सोहीअनुसार विमानस्थलहरू सञ्चालन हुने हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा आएपछि अन्यत्र यात्रु लैजाने भनेर पूर्वाधार खडा गरिएको हो।
पूर्वाधार भन्ने कुरा आजको आजै उपयोग हुने कुरा नभएर भविष्यका सन्ततिलाई चाहिने कुरा हो। यसैले अहिले नै उपयोग भएन भन्नु गलत हो।
जस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको ७६ वर्ष भयो। अहिलेसम्म पनि पूर्ण क्षमतामा आएको छैन। भनेपछि निर्माण भएको ७६ वर्षसम्म पनि पूर्ण क्षमतामा नआएको विमानस्थल त अब भरिने भएको छ यस्तोमा भर्खरै आउन लागेको, निर्माण सम्पन्न भएको एकवर्ष पनि पूरा नभएको विमानस्थल अहिले नै उपयोग भएन भन्नु गलत हो।
तपाईंले भनेजस्तै केही वर्षमा नै पनि अब यी तीन विमानस्थलले यात्रु धान्न सक्ने अवस्था नहुने देखियो तर अझै पनि पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु हुन सकेको छैन नि?
हामी समयमा काम सुरु नै गर्दैनौँ यहि नै यहाँको दु:खको कुरा छ। मैले अहिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेँ भने पोखरा र भैरहवा नै चलेको छैन भन्ने आरोप खेप्नु पर्छ। तर वास्तवमा भने कोभिडका कारणले मात्रै प्रक्षेपणहरू नमिलेका हुन्।
अब सन् २०१९ मा फर्किएर जाँदा सन् २०२४ मा काठमाडौं विमानस्थल पूर्ण क्षमतामा चल्ने छ। तर फेरि २०२६ मा पोखरा र भैरहवा विमानस्थल चल्ल थाल्ने छ। अन्तर्राष्ट्रिय यात्रुको वृद्धिदर १० प्रतिशतको हाराहारी रहेको छ। एसिया प्यासिकमा धेरै यात्रु वृद्धि भइरहेको अवस्था छ। वार्षिक ६ लाख वृद्धि हुँदा पनि हामीलाई निजगढ विमानस्थल निर्माणको विकल्प छैन।
सर्वोच्च अदालतबाट पनि वातावरणीय प्रभाव कम पर्ने गरी काम अगाडि बढाउन आदेश आइसकेको छ। तर पनि ठोस रुपमा काम भने अगाडि बढ्न सकेको छैन।
अदालतको समेत आदेश आइसक्दा पनि निर्माणमा जान कुन कुराले रोकियो?
यो विमानस्थलको काम अघि बढाउन सरकारले निर्देशन नै दिइसकेको अवस्था हो। यो विषयमा दुईवटा कुुरा गर्न बाँकी छ। विज्ञ टोलीले दिएको प्रतिवेदन मन्त्रिपरिषद्मा पुगेको छ। यो मन्त्रिपरिषद्ले पास गरेपछि पुनः अर्को ईआईईएको प्रक्रियामा जाने छौँ। अनि मात्रै वित्तीय व्यवस्था र मोडलको विषयमा छलफल हुने छ। तर एउटा कुरा चाहिँ के हो भने अब छिट्टै निजगढ सुरु गर्न सकिएन भने हामी समस्यामा जाने छौँ। हाम्रो आर्थिक वृद्धिदरमै असर पार्ने छ।
यहिबीचमा सरकारले १० वर्षभित्रै वार्षिक ५० लाख पर्यटक भित्र्याउने अभियान नै सुरु भएको छ। भोलि विमानस्थलकै कारणले यो संख्या रोकिने अवस्था आउने त होइन?
यहि भएर नै सरकारका सबै अंगहरूले निजगढ सुरु गर्नुको विकल्प देखिरहेका छैनन्। बीचमा केही समस्या आएकै हो। अब यसलाई छिटो भन्दा छिटो सुरु गरेर सञ्चालनमा ल्याउने बाटोमा हिँड्नै पर्ने हुन्छ। २०३३ सम्म वार्षिक ५० लाख पर्यटक ल्याउन प्रवेशद्वार सुरु गर्नुपर्ने हुन्छ। त्यो भनेकै निजगढ विमानस्थल हो।
पूर्वाधारहरू तयार भए पनि एयरलाइन्स क्षेत्रमा लगानी भने आउन सकेको छैन। भएका हिमालय र नेपाल वायुसेवा निगमको पनि राम्रो अवस्था छैन। एयरलाइन्समा समस्या कहाँ हो?
हवाई क्षेत्र भनेको तीनवटा विषय हो। सिभिल एभिएसन भनेको थ्रि ए सिष्टम हो। जसमा एयरपोर्ट, एयरलाईन्स र एयररुट हो। तीनवटैले राम्ररी काम गर्दा राम्रो हुन्छ। राष्ट्रिय ध्वजावाहकहरू बलियो भएको भए विमानस्थल सञ्चालनमा समस्या नै हुने थिएन। अहिले विमानस्थल बनेको छ। तर एयरक्राप्टको संख्या घटेको छ।
एयरलाइन्सले प्रगति गरेनन् भनेर विमानस्थल निर्माण रोक्नु त भएन। वास्तवमा दुवैपक्ष सँगै जानुपर्ने थियो। जसले जे गर्नुपर्ने हो त्यो नभएको हो।
विमानस्थल बनाउनु पर्ने हाम्रो निकायले काम गरियो तर एयरलाइन्स गएन भनेर आलोचित भइयो। तर जानु पर्ने निकाय एयरलाइन्स हो नि त, हामीले एयरलाइन्स चलाउने त होइन। अहिले दुई एयरलाइन्ससँग १०/१० वाटामात्रै जहाज भएको भए तीनवटै विमानस्थल चलिसक्थे।
अहिले नेपालका एयरलाइन्सले हवाई सम्झौताको ११ प्रतिशतमात्रै सिट उपयोग गरिरहेको अवस्था हो। बाँकी ८९ प्रतिशत पैसा विदेशी एयरलाइन्सले लगिरहेका छन्। योतर्फ सबै निकायले ध्यान दिनुपर्ने हो। यहाँ सबै छ तर जहाज छैन। समस्या यहि हो।
प्राधिकरणले पूर्वाधार खडा गर्ने हो तर एयरलाइन्स कम्पनीहरू केही पछाडि हटेका कारण विमानस्थल नचलेको जस्तो भएको हो। हामीले गर्नपर्ने काम सबै समयमै गरेका हौँ।
अबको १० वर्षभित्र हाम्रो हवाई पूर्वाधार कस्तो हुने छ?
हवाई क्षेत्र भनेको सधैँ नयाँ हुने हो। हरेक दिन नयाँ नयाँ आविष्कार भरहेका छन्। तीभित्रका उपकारणहरू पनि मेनुअलबाट मेसिनमा गइरहेका छौँ। विमानस्थल चाहिँ नयाँ बनाउनै नहुने भाष्य निर्माण भइरहेको छ।
घर नयाँ चाहिने, नयाँ फोन टीभी चाहिने सबै अत्याधुनिक चाहिने तर विमानस्थल चाहिँ पुरानो पहिले सफा गर्दा पनि सफा नहुने ट्वाइलेट यस्तो चाहिने। यस्तो भाष्य निर्माण गरेर समाजलाई कता लैजान खोजिरहेका छौँ? हुलाक कार्यालय जस्ता छन् तराईका विमानस्थलहरू। अब सबै चिज नयाँ चाहिन्छ भने टर्मिलनल भवन पनि नयाँ चाहिन्छ। अहिले हामीले धमाधम धावनमार्ग र अत्याधुनिक टर्मिलन भवन बनाउने र तराईका सबै विमानस्थलमा रात्रिकालिन उडान हुने गरी निर्माण गर्नेगरी काम अगाडि बढाएका छौँ। विमानस्थल विमानस्थलजस्तै हुनुपर्दछ भनेर अहिले तराईका विमानस्थलमा आर्थिक रुपममा चलायमान बनाउने काम भइरहेको छ। पहाडमा पनि सुहाउँदा तराईको जस्तो नभए पनि राम्रो बनाउने काम भइरहेको छ। ५४ विमानस्थलमध्ये ४० वटामा कालोपत्रे भएको छ।
प्रजातन्त्र आएपछि बनेको ७ वटा विमानस्थल हो। यहाँ १५ औँ योजनाले ३७ वटा विमानस्थल कालोपत्रे गर्ने लक्ष्य लिएको थियो। तर हामीले ४० वटा गरिसकेका छौँ। खास खर्च पनि भएको छैन। तर राज्यमा संकट आउँछ त्यो समयमा विमानस्थलको उपयोग हुने छ। यो बन्यो चलेन भनेर मन दु:खाउने काम गर्न हुँदैन। आज बनाएको पूर्वाधार सन्ततिका लागि हो। चलेन भनेर विमानस्थल बन्द गर्दा पहाडमा नुनबिनाको तरकारी हुन्छ। किताबबिनाका विद्यार्थी हुन्छन्, बर्दीबिनाको प्रहरी हुने अवस्था आउँछ। खाली नाफा अन्यत्रबाट लिएर भए पनि दुर्गममा सेवा दिनुपर्ने हुन्छ।
नाफा घाटा नहेरी विकास अगाडि बढाउनु पर्दछ। पूर्वाधार खडा भएपछिमात्रै प्रतिफल आउने छ। अबको १० वर्ष भनेको पूर्वाधार खडा गर्ने हो। त्यसपछि प्रतिफलको अपेक्षा गर्ने हो। विकासलाई बुझेर व्यक्तिगत लहडमा नभएर सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश भएर विमानस्थलहरू बनेका हुन्।
यात्रु आइसकेपछि विमानस्थल बनाउने होइन। भविष्य हेरेर अब हवाई पूर्वाधार खडा हुनेछन्। निजगढ विमानस्थल पनि अब सोही अवधारणाअनुसार निर्माण हुनेछ। हामीसँग समुन्द्र जोडिएको छैन। सोही कारण पनि विमानस्थल र सडक पूर्वाधारलाई जोड्न राज्य रोकिनु हुँदैन। भोलिको पुस्ताले गाली नगर्ने गरी काम गर्नुपर्दछ। त्रिभुवन विमानस्थलका लागि पेप्सीकोलाको जग्गा किन नलिएको भनेर अहिले गाली गरिरहेका छन्। सोहीकारण पूर्वाधार भनेको भविष्य हो। सोहीअनुसार सबै क्षेत्र लाग्नु पर्दछ।
भिडियोमा हेर्नुहोस्