आइतबार, मंसिर ९ गते २०८१    
images
images

सुनकोसीमा बढ्न थाले पर्यटक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २४ २०७९
images
images
सुनकोसीमा बढ्न थाले पर्यटक

पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जलयात्रा सेवाले पर्यटक तान्न थप सहयोग पुगेको छ।

images
images

सिन्धुली- सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती। छेउमा सलल बगेको सुनकोसी नदी। यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन्। 

images
images
images

सिन्धुलीको सुनकोसी गाउँपालिका-५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्ने पर्यटकको भीड लाग्ने गरेको छ। दिनकै एक-दुई सय पर्यटकले जलयात्रा गरेर आनन्द लिने गरेका छन्। 

images

पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जलयात्रा सेवाले पर्यटक तान्न थप सहयोग पुगेको छ। राजधानी काठमाडौंलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बिपी राजमार्गले पर्यटकलाई आवातजावतमा सहजता थपिदिएको छ।

images

सन् २०१८ अक्टोबर १० मा व्यवसायीले सञ्चालन गरेको जलयात्रा अहिले पर्यटकको आकर्षण बनेको छ। जाडोयाममा पनि जलयात्रा गर्ने पर्यटकको घुइँचो थियो। गर्मीयाम चैतदेखि असारसम्म भ्याइनभ्याइ हुने व्यवसायी तथा ताज रिभरसाइड रिसोर्टका प्रमुख श्रेष्ठ बताउँछन्।

'जलयात्राको मुख्य सिजन गर्मीयाम हो। यस याममा विशेषगरी काठमाडौंबाट प्याकेजमा मनोरञ्जन लिन आउने गर्दछन्, सार्वजनिक बिदामा दैनिक एक हजार जना बढीले जलयात्रा गर्दै आएका छन्', उनले भने। प्राविधिक दृष्टिकोणले सुनकोसी नदीमा जलयात्रा गर्न सुरक्षित देखिएपछि पर्यटकलाई जुनसुकै समयमा पनि जलयात्रा सेवा दिन सकिएको उनले बताए।

जलयात्राका लागि २० वटा बोट (डुङ्गा) छन्। प्रतिबोट आठ जनासम्म यात्रा गर्न सकिन्छ। हाल १० वटा बोटमात्रै नियमितरूपमा सञ्चालित छन्। उनका अनुसार सुनकोसी गाउँपालिका-१ को कुशेश्वर महादेव मन्दिरबाट मूलकोटसम्म (१७ किलोमिटर) वा यात्रुको चाहनाअनुसार मुलकोट-खुर्कोटसम्म जलयात्राको नियमित रुट हो। 

यहाँ जलयात्रा गरेवापत प्रतिव्यक्ति एक हजार पाँच सय शुल्क कायम गरिएको छ। पर्यटकले एक साताको प्याकेजमा मुलकोट-चतारासम्म जलयात्रा सेवा पनि लिन सक्छन्। यो सेवावापतको शुल्क अलि बढी भएकाले विदेशीले मात्र लिने गरेको उनले बताए।

रामेछाप खाडाँदेवी गाउँपालिका-३ भिरपानीका चेतबहादुर जर्गामगर बिहीबार सिन्धुलीको मूलकोटमा आएर जलयात्रामा सहभागी हुनुभयो। रामेछापको नमूना माझी बस्ती, डाँडापाखा, पहाड र नदीको र्‍याफ्टिङले स्वर्गीयआनन्द प्राप्त भएको उनले बताए। जलयात्राकै लागि उनी भिरपानीबाट मूलकोट आएका हुन्।

एक दिनको पूरै समय मूलकोटमा बिताउने गरी आएका उनले सुनकोसीमा जलयात्रा गरी बिताएको बताए सुनकोसी नदीमा जलयात्रा सुरु गरिएपछि यहाँका होटल र रिसोर्ट सधैँजसो भरिन थालेका छन्। 

व्यापार, व्यवसायमार्फत गाउँपालिकाको विकास गर्न होटल, होमस्टे निर्माण तथा र्‍याफ्टिङ गाइडरलाई तालिम दिनेजस्ता काम पनि बेला-बेलामा भइरहेका छन्। सुनकोसी गाउँपालिकामा पर्यटक भित्र्याउन सुनकोसी नदीमा सञ्चालन गरिएको जलयात्रा सेवाले सहयोग गरेको गाउँपालिका प्रमुख दीपा बोहोरा दाहालको बुझाइ छ।


प्रकाशित : शुक्रबार, चैत २४ २०७९०९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend