बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सेयर बजारलाई नै ध्यान दिएर अर्थमन्त्री छलफलमा लागिरहँदा साताभर निरस कारोबार, ४५ अंकले घट्यो

बिहीबार , चैत २३ २०७९
सेयर बजारलाई नै ध्यान दिएर अर्थमन्त्री छलफलमा लागिरहँदा साताभर निरस कारोबार, ४५ अंकले घट्यो

काठमाडौं- निरन्‍तर उतारचढावमा रहँदै ओरालोतिर लागिरहेको सेयर बजारमा यो साता पनि सुधार देखिएन। समग्रमा सातामा ४५ अंकले घटेको बजारमा लगानीकर्ताले विश्वास गुमाउँदै गइरहेका छन्। 

बुधबार एक दिनको कारबारमा झिनो वृद्धि देखिँदै बजार बढ्ने संकेत देखिएको भए पनि बिहीबार पुन: ओरालो लाग्यो। बिहीबार ८.२८ अंकले घटेर बजार १८६६.७९ बिन्दुमा झरेको छ। ४८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ९२ करोड रूपैयाँको मात्र कारोबार भएको छ। कारोबार रकमका हिसाबले पनि यो साता बजार निकै कमजोर देखियो।

अहिले १९०० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले विश्वास गुमाएका छन्।अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजारको अवस्थालाई ध्यान दिँदै निरन्तर छलफल गरिरहँदा बजारप्रति लगानीकर्ता अझै पर्ख र हेरकै अवस्थामा देखिन्छन्। 

यो साता आइतबार २३.२४ अंकले घटेर १८८५.३१ बिन्दुमा झरेको बजार सोमबार पनि घटेको थियो। सोमबार १६.६७ अंकले घटेर बजार १८७१.८८ बिन्दुमा झरेको थियो। मंगलबार ५.२० को झिनो अंकले घट्दै बजार १८६६.६८ बिन्दुमा झर्‍यो। बुधबार ८.३९ अंकले बढेर बजार १८७५.०७ बिन्दुमा पुगेको थियो।

लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्कँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको अवस्थामा अर्थमन्त्रीले अब लिने निर्णयले पुँजी बजारलाई पनि प्रभाव पार्ने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , चैत २३ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend