बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आईपीओ जारी गर्न लागेकाे काठमाडौंको पाँचतारे होटल ह्यात प्लेसमा अब र्‍यांक क्यासिनो पनि

बुधबार, चैत २२ २०७९
आईपीओ जारी गर्न लागेकाे काठमाडौंको पाँचतारे होटल ह्यात प्लेसमा अब र्‍यांक क्यासिनो पनि

क्यासिनोमा ३ सय जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। 

काठमाडौं- ह्यात प्लेस होटलमा पनि क्यासिनो सञ्चालन हुने भएको छ। सिटी होटल लिमिटेडद्वारा सञ्चालित ह्यात प्लेसमा क्यासिनो सञ्चालनका लागि र्‍यांक इन्टरटेनमेन्ट सर्भिसेस प्रालि नाममा उद्योग विभागमा दर्ता भएको छ।

वार्षिक १ लाख ५० हजार जनालाई क्यासिनो खेल खेलाउने प्रस्तावसहित कम्पनी उद्योगमा दर्ता भएको हो। कम्पनीको २५ करोड चुक्तापुँजी रहेको छ। क्यासिनोमा ३ सय जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। 

गोल्यान समूहको मुख्य लगानीमा काठमाडौंमा एकवर्ष अगाडि पाँचतारे होटल सञ्चालनमा आएको थियो। अन्तर्राष्ट्रिय चेन ब्राण्डको ह्यात प्लेस पनि सञ्चालनमा आएको छ। ५ अर्ब लगानीमा निर्माण गरिएको होटल काठमाडौंको सोल्टिमोडमा १० रोपनी क्षेत्रमा फैलिएको छ। नेपालमा ह्यात ब्राण्डकै ह्यात रिजेन्सी पाँचतारे होटल सञ्चालनमा रहेकोमा ह्यातको अर्को ब्राण्ड ह्यात प्लेस होटल पनि सञ्चालनमा ल्याइएको थियो।

ह्यात प्लेस विश्वका विभिन्न सहरका गरी ३ सय ८५ स्थानमा सञ्चालनमा छ। होटलका सञ्चालक पवन गोल्यानले यसले नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए। विशेषगरी टेक्सटायल, जलविद्युत् तथा कृषि क्षेत्रमा लगानी विस्तार गरेको गोल्यान समूहले होटल क्षेत्रमा पनि ठूलो लगानी विस्तार गरेको थियो।

१४ तले भवनमा होटलका लागि १ सय ५३ कोठा छन्। होटलमा ७ वटा टेरेस रुम पनि रहेको व्यवस्थापनले जनाएको छ। होटलले १ सय ५३ मध्ये प्रत्येक दिन १०० वटा रुमले अकुपेन्सी पाउने लक्ष्य राखेको छ। होटलले सेयर बिक्रीसमेत खुला गरेको छ। कम्पनीले सर्वसाधारणका साथै विदेशमा काम गर्न गएका नेपालीहरुलाई सेयर जारी गरेको हो।

कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरुलाई बैशाख ५ गतेसम्म सेयर जारी गर्ने छ। आम सर्वसाधारणलाई वैशाख २५ देखि २८ गतेसम्म सेयर जारी गर्नेछ। कम्पनीको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ। यसको १० प्रतिशत सेयर बिक्री गर्न लागेको हो। कम्पनीले १६ करोड ७४ लाख रुपैयाँको सेयर बिक्री गर्नेछ। यसको १० प्रतिशत एक लाख ६७ हजार ४०० कित्ता सेयर रोजगारीमा गएकाहरुलाई छुट्याएको छ।

कम्पनीले ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ। बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरमा सर्वसाधारणले दाबी गर्न पाउनेछन्।


प्रकाशित : बुधबार, चैत २२ २०७९१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend