बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सडक सञ्जालले छोएपछि सेकुङ तालमा बढ्दै पर्यटक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २१ २०७९
सडक सञ्जालले छोएपछि सेकुङ तालमा बढ्दै पर्यटक

एक वर्ष अगाडि तालसम्म पुग्न पैदलमार्फत जानुपर्ने बाध्यता थियो। पैदल जाँदा करिब डेढ घण्टा लाग्थ्यो। सडक सञ्जालले छोएपछि सहज भएको छ।

मुस्ताङ- प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल। यो ताल मुस्ताङको थासाङ गाउँपालिका-२ मा पर्छ। जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा झन् बढेर गएको छ।

सडक सञ्जालले छोएपछि दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेको स्थानीयवासी बताउछन्। बहुचर्चित बेनी-जोमसोम- कोरोला सडक खण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका-२ मा पर्ने यो तालसम्म पुग्न अहिले लगभग १५ मिनेट लाग्छ। 

एक वर्ष अगाडि तालसम्म पुग्न पैदलमार्फत जानुपर्ने बाध्यता थियो। पैदल जाँदा करिब डेढ घण्टा लाग्थ्यो। तालबाट दुई ठूला हिमाल धौलागिरि र निलगिरि देख्न सकिन्छ। ताल समुद्री सतहदेखि दुई हजार सातसय २५ मिटर उचाइमा अवस्थित छ।

तालसम्म पुग्न व्यवस्थित सडक निर्माण सँगसँगै ताल वरपर रिङरोड, पार्किङ, प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार समेत निर्माण गरिएको वडा नं २ का अध्यक्ष गौतम शेरचनले बताए। मुस्ताङ जिल्लामा मात्रै करिब आधा दर्जनभन्दा बढी तालतलैया छन्। जसमा अत्यन्तै चर्चित ताल ढुम्बा हो। यो घरपझोङ गाउँपालिका- ५ मा पर्छ। तर अहिले सेकुङ ताल पनि आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको वडाध्यक्ष शेरचनको ठम्याइ छ। 

थासाङ गाउँपालिकाभित्रका प्रमुख आकर्षणको रुपमा रहेको टिटी ताल र भुछर ताललाई समेत विभिन्न निकायले संरक्षण र व्यवस्थापनमा आवश्यक पहलकदमी चालिरहेको अध्यक्ष शेरचनले बताए।

गत साल मात्रै तीन वटा तालको संरक्षण र प्रवर्द्धन गर्नको लागि संघीय सरकारले गुरुयोजना नै बनाएर एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजनसमेत गरेको थियो। पर्यटकलाई त्यहाँसम्म जाने वातावरण निर्माणका लागि विशेषतः प्रचारप्रसारको खाँचो देखिएको वडाध्यक्ष शेरचनको भनाइ छ। रासस 


प्रकाशित : मंगलबार, चैत २१ २०७९१०:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend