बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

वृद्धितर्फ गएन सेयर बजार, अर्थमन्त्रीको चासोपछि अब विश्वस्त होलान् लगानीकर्ता?

मंगलबार, चैत २१ २०७९
वृद्धितर्फ गएन सेयर बजार, अर्थमन्त्रीको चासोपछि अब विश्वस्त होलान् लगानीकर्ता?

काठमाडौं- निरन्‍तर उतारचढावमा रहँदै ओरालोतिर लागिरहेको सेयर बजारमा मंगलबारको कारोबार स्थिर देखिएको छ। अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजारको अवस्थालाई ध्यान दिँदै निरन्तर छलफल गरिरहँदा बजारप्रति लगानीकर्ता अझै पर्ख र हेरकै अवस्थामा देखिन्छन्। 

अहिले १९०० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले विश्वास गुमाएका छन्। 

मंगलबार ५.२० को झिनो अंकले घट्दै बजार १८६६.६८ बिन्दुमा झरेको छ। ८६ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९१ करोड ७६ लाख रूपैयाँको मात्रै कारोबार भएको छ। 

यो साता आइतबार २३.२४ अंकले घटेर १८८५.३१ बिन्दुमा झरेको बजार सोमबार पनि घटेको थियो। सोमबार १६.६७ अंकले घटेर बजार १८७१.८८ बिन्दुमा झरेको थियो। 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गएको शुक्रबार कांग्रेसबाट अर्थमन्त्रीमा प्रकाशशरण महत नियुक्त भए। उनले त्यसयता अर्थतन्त्र सुधारका लागि निरन्तर छलफल र भेटघाट गरिरहेका छन्। संगठित लगानीकर्तादेखि धितोपत्र बोर्डका पदाधिकारीका साथै बैंकर्सहरूसँग छलफल गरिरहेका छन्। मन्त्री महतले सोमबार बैंकर्स र उद्योगीसँग छलफल गरेर मंगलबार राष्ट्र बैंकसँग छलफल गरे।

अर्थमन्त्री महतलाई भेटेर लगानीकर्ताको समूह पुँजीबजार फोरमले सेयर बजारको विकास र विस्तारका लागि विभिन्न सुझावसमेत दिएको थियो।

लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्कँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको अवस्थामा अर्थमन्त्रीले अब लिने नीतिगत निर्णयले पुँजी बजारलाई पनि प्रभाव पार्ने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : मंगलबार, चैत २१ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend