बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नेपाल उद्योग परिसंघले अर्थमन्त्रीलाई दियो १० सुझाव 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १९ २०७९
नेपाल उद्योग परिसंघले अर्थमन्त्रीलाई दियो १० सुझाव 

सेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार १०० प्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसंघले दिएको छ

काठमाडौं-  नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । 

परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त अर्थमन्त्री महतलाई आईतबार बधाई दिदै अर्थतन्त्र सुधारका सुझाव प्रस्तुत गरेको हो । 

परिसंघका अध्यक्ष अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराईनुपर्ने, लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताए।  यी तीन विषयलाई केन्द्रमा राखेर उच्च मनोबलका साथ काम हुन पाएमा अर्थतन्त्रमा छिटो सुधार आउने उनले विश्वास व्यक्त गरे। 

ब्याजदर घटाउन एवं तरलताको स्थिती सहज बनाउन सीआरआर ३ प्रतिशतमा झारिनुपर्ने, नीतिदर र बैंक दर घटाईनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानिय तहको संचित कोषमा भएको मौज्दात रकमको सत प्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्नुपर्ने सुझाव अध्यक्ष अग्रवालले दिए। यस्तै मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम ५ प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, सेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार १०० प्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसंघले दिएको छ । निर्माण क्षेत्रमा दिईनुपर्ने भुक्तानी छिटो निकासा गराउन पनि परिसंघले सुझाव दिएको छ । यसले बजारमा तरलता बढाउन सहयोग पुग्ने परिसंघको विश्वास छ। 

परिसंघको सुझाव लिँदै अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए।  उनले सकारात्मक ‘सेन्टीमेन्ट’ सिर्जना गर्न लागि पर्ने बताए। 

'अर्थतन्त्र सुधारका लागि सकारात्मक सेन्टीमेन्ट निर्माण गर्न पूर्ण रूपमा लाग्नेछौं । जहाँबाट समस्या आएको छ, त्यहीबाट सुधार गर्न तयार छौं । त्यसमा तपाईहरुको पनि सहयोग आवश्यक पर्छ” उनले भने। 

 


प्रकाशित : आइतबार, चैत १९ २०७९१५:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend