बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

१९०० को बिन्दुबाट पनि तल लाग्यो सेयर बजार, नयाँ अर्थमन्त्रीले दिलाउन सकेनन् विश्वास

आइतबार, चैत १९ २०७९
१९०० को बिन्दुबाट पनि तल लाग्यो सेयर बजार, नयाँ अर्थमन्त्रीले दिलाउन सकेनन् विश्वास

काठमाडौं- लामो समयदेखि उतारचढावमा रहेको सेयर बजार सरकार विस्तारपछि पनि उही गतिमा देखिएको छ। सरकारमा नयाँ अर्थमन्त्री आएसँगै बजारले गति समात्ने विश्वासमा रहेका लगानीकर्ताले विश्वासको वातावरण अझै भेट्न सकेका छैनन्।

यो साता आइतबार २३.२४ अंकले घटेर बजार १८८५.३१ बिन्दुमा झरेको छ। १४ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब १६ करोड २६ लाख रूपैयाँको कारोबार भएको छ। आइतबार कालिन्चोक दर्शन लिमिटेडको कारोबारमा मात्र सकारात्मक सर्किट लाग्यो। 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गएको शुक्रबार कांग्रेसबाट अर्थमन्त्रीमा प्रकाशशरण महत नियुक्त भए। अर्थमन्त्रीले तत्कालका लागि सबै क्षेत्रको मनोबल उकास्नु सरकारको पहिलो प्राथमिकता हुने बताइरहँदा अर्थतन्त्रको अवस्था बुझ्न महत्वपूर्ण क्षेत्रका रुपमा लिइने पुँजी बजार भने सुधारतर्फ बढ्न सक्ने देखिएको छैन। 

लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्कँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको अवस्थामा अर्थमन्त्रीले अब लिने नीतिगत निर्णयले पुँजी बजारलाई पनि प्रभाव पार्ने विश्लेषकहरू बताउँछन्। 

गएको साता समग्रमा ६.९२ अंकको गिरावट देखिएको बजार अन्तिम दिन बिहीबारको कारोबारमा १०.८७ अंकले घटेको थियो। अहिले १९०० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले बजारमा विश्वास गुमाएका छन्। अहिलेको अवस्थामा लगानीकर्ताको विश्वास बढाउन नवनियुक्त अर्थमन्त्रीले पहल गर्नुपर्ने संगठित लगानीकर्ताहरूले बताएका छन्।


प्रकाशित : आइतबार, चैत १९ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend