बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

तरलता प्रवाह गरेर ब्याजदर घटाउन अर्थमन्त्रीलाई महासंघको सुझाव

आइतबार, चैत १९ २०७९
तरलता प्रवाह गरेर ब्याजदर घटाउन अर्थमन्त्रीलाई महासंघको सुझाव

सहकारी र लघुवित्तमा तरलता बढाउने गरि काम अघि बढाउन महासंघले अवसरमा अर्थमन्त्रीलाई सुझाव दिएको हो। 

काठमाडौं- नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आइतबार बिहान सिंहदरबारमा भेट गरेको छ। सो अवसरमा महासंघ अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ गरेका थिए। 

भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिए। यसका लागि केन्द्रीय बैंक  र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव महासंघको छ। सहकारी र लघुवित्तमा तरलता बढाउने गरि काम अघि बढाउन महासंघले अवसरमा अर्थमन्त्रीलाई सुझाव दिएको हो। 

सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिए। अहिले करिब २४ प्रतिशतमात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उनले आग्रह गरे। अहिले सरकारसँग राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ। यसका लागि बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने गोल्छाको सुुझाव थियो। यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा महासंघले जोड दिएको छ।  

नवनियुक्त अर्थमन्त्रीसंँगको भेटमा अध्यक्षले राज्यसंयन्त्र पूर्णरुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुर्‍याउने सुुझाव दिए। अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्र्याउनका लागि दाताहरुसँग पहल गर्नुपर्ने बताउँदै स्थानीय दाताहरुसँग पनि सम्मेलन गर्न आग्रह गरे।  

निजी क्षेत्रको मनोबल उकास्ने खालका संदेश प्रवाह गनुपर्ने भन्दै महासंघ अध्यक्षले राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने र मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव दिए।  

नवनियुक्त अर्थमन्त्री डाक्टर महतले समस्याग्रस्त अर्थतन्त्र सुधारने आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाए। ‘तपाईहरुको मनोवल घट्न दिन्न, तपाईहरुसँग निरन्तर संवादमा रहन्छु। मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिबद्धता पुरा गर्न तपाईहरुबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु,’ नवनियुक्त अर्थमन्त्री डा. महतले महासंघ प्रतिनिधिसँगको भेटमा भने। 


प्रकाशित : आइतबार, चैत १९ २०७९०८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend