बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

चैतमा कुन-कुन कम्पनीको आउँदैछ आईपीओ? 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १५ २०७९
चैतमा कुन-कुन कम्पनीको आउँदैछ आईपीओ? 

मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्दैछ। सिटी होटलले पनि चैतमै दुई चरणमा आईपीओ निष्कासन तथा बिक्री गर्ने भएको छ।

काठमाडौं- मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्दैछ। 

यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको कम्पनीले अब २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ खुलाउन लागेको हो। 

प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ। यो मध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात् ८० हजार कित्ता र कर्मचारीहरूका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुट्टाइएको छ। साथै बाँकी १३ लाख ३७ हजार ३०२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। चैत १९ देखि खुल्ने उक्त आईपीओमा २२ चैतसम्म आवेदन दिन सकिनेछ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छन्। 

यस्तै सिटी होटलले दुई चरणमा आईपीओ निष्कासन तथा बिक्री गर्ने भएको छ। कम्पनीले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र वैशाख २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीले वैशाख ५ गतेसम्म आवेदन दिन पाउनेछन्। सर्वसाधारणले भने वैशाख २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो। 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ६७ हजार ४०० कित्ता, ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। यस्तै बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले १० देखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। सर्वसाधारणले भने १० देखि २ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। 

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले पनि चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात् १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। जसमध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरेको कम्पनीले बताएको छ। 

बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।

आईपीओ निष्कासन बन्द छिटोमा चैत २७ गते हुनेछ भने उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि २०८० वैशाख ७ गतेसम्म लम्बिनेछ।

चैत २३ गतेदेखि नै रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २ लाख ८० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। 

सो आईपीओमा खोटाङ जिल्ला केपीलासगडी गापा (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस) का सम्पूर्ण वडा बासिन्दाहरूले आवेदन दिन सक्ने कम्पनीले बताएको छ।

यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको सेयरको १० प्रतिशत अर्थात् ५६ लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ५६ हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ। अधिकतममा स्थानीय बासिन्दाहरूले १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले २ हजार ८०० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ।

उक्त आईपीओमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्। 


प्रकाशित : बुधबार, चैत १५ २०७९०६:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend