काठमाडौं- नागरिक लगानी कोषले मुद्दती निक्षेपमा राखेको ७५ करोड ७१ लाख ८३ हजार रुपैयाँ लगानी डुबेको छ। कोषले विभिन्न फाइनान्स कम्पनीहरूको मुद्दती खातामा राखेको पैसा फसेको हो। फाइनान्स कम्पनीहरू समस्याग्रस्त भएर निक्षेप फिर्ता गर्न नसक्दा कोषको उक्त रकम फसेको हो।
कोषको मुद्दती खातामा ७५ करोड ७१ लाख ८३ हजार ५७४.३० रुपैयाँ फसेको हो। गत वर्ष समस्याग्रस्त खातामा ६३ करोड ५ लाख रुपैयाँ लगानी रहेको थियो। कोषले लगानी गरेका फाइनान्स कम्पनीहरू विभिन्न कारणले डुबेपछि उक्त रकम फसेको हो।
लगानी कोषले हालसम्म २ खर्बभन्दा बढी रकम लगानी गरेको छ। कोषले हिमालयन फाइनान्स, कृष्टल फाइनान्स, क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स र नेपाल सेयर मार्केट फाइनान्समा उक्त रकम लगानी गरेको थियो।
नेपाल सरकारको समेत लगानीमा नागरिक लगानी कोष ऐन, २०४७ अनुसार २०४७ चैत्र ४ गते स्थापना भई २०४८ माघ १ गते देखि कोषले औपचारिक रूपमा कारोबार संचालनमा ल्याएको थियो। कोषले सर्वसाधारण, विभिन्न संगठीत संघ-संस्थामा कार्यरत कर्मचारी-कामदार तथा संगठीत संघ-संस्थाहरूबाट समेत विभिन्न कार्यक्रम अन्तर्गत बचत संकलन गरी त्यसरी संकलित बचत रकमलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी प्रबन्ध गर्दै आएको छ। कोषको चुक्ता पुँजी हाल ५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५१ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३८ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
ब्याज आम्दानी उल्लेख्य बढेसँगै खर्च नियन्त्रण गरेका कारण कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको हो। समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १३९.३३ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी ४.०३ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी २३.३६ प्रतिशत बढेको छ भने कुल खर्च ४.४९ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३३ पैसा बढेर २४ रुपैयाँ १५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ६५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८७.९९ गुणा रहेको छ।