शनिबार, साउन १२ गते २०८१    
images
images
images

१६ अर्ब लगानीमा निर्माण हुने मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण धमाधम

images
शुक्रबार, चैत १० २०७९
images
images
१६ अर्ब लगानीमा निर्माण हुने मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण धमाधम
images

काठमाडौं- मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरूको निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। 

images
images

भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेका छन्। आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरू निर्माणाधीन छन्। 

images

खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ। भौगोलिक रुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरणहरू लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने छ। पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ। 

नयाँ भरतपुर सबस्टेसनमा सञ्चालन पूर्व गर्नु पर्ने परीक्षणका कामहरू भइरहेका छन्। उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएको छ। सबस्टेसनमा रहने उपकरणहरू निर्माण स्थलमा ढुवानी भइसकेका छन। उपकरणहरू जडान जारी छ। 

images

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरूसँग विस्तृत छलफल गरी  सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन्। 

नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमश २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहने छन्। 

खुदी र धारापानी सबस्टेसनमा क्रमश: २२०-१३२ केभी,१६० एमभिए तथा १३२-३३ केभी, ५० एमभिए र २२०-१३२ केभी, १०० एमभिए तथा १३२-३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू रहने छन्। खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएको छ। ट्रान्सफर्मरलगायतका उपकरणहरू निर्माणस्थलमा ढुवानी सुरु भएको छ।  

मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो। प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ। आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ। 

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ। दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन्। तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ। 

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ। 


प्रकाशित : शुक्रबार, चैत १० २०७९०८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend