बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निगमले एयरबस ३३० जहाजमार्फत काठमाडौं-अष्ट्रेलिया सिधा उडान गर्ने

सिंगापुरमा इन्धन भरेर सिड्नी उडान

बिहीबार , चैत ९ २०७९
निगमले एयरबस ३३० जहाजमार्फत काठमाडौं-अष्ट्रेलिया सिधा उडान गर्ने

नेपाल वायुसेवा निगमले अष्ट्रेलिया, लण्डन तथा युरोपमा उडान गर्ने भन्दै पाँच वर्षअगाडि एयरबस ३३० जहाज खरिद गरेको थियो। जहाज खरिद गरेको पाँच वर्षपछि बल्ल अष्ट्रेलिया उडानको प्रस्ताव गरेको हो। 

काठमाडौं- नेपाल वायुसेवा निगमले काठमाडौं-सिंगापुर-अष्ट्रेलिया उडान गर्ने गरी तयारी थालेको छ। निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काठमाडौं-सिंगापुर-अष्ट्रेलिया उडान गर्ने गरी प्रस्ताव पेस गरेको हो।

निगमसँग भएको एयरबस ३३० जहाजले सिधा अष्ट्रेलियाको  सिड्नी उड्न नसक्ने भएकाले सिंगापुरमा तेल भरेर सिधा उडान गर्ने प्रस्ताव पेस गरेको हो। गत वर्ष नै नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच हवाई सम्झौता भइसकेको छ।

निगमले अष्ट्रेलिया, लण्डन तथा युरोपमा उडान गर्ने भन्दै पाँच वर्षअगाडि एयरबस ३३० जहाज खरिद गरेको थियो। जहाज खरिद गरेको पाँच वर्षपछि बल्ल अष्ट्रेलिया उडानको प्रस्ताव गरेको हो। सम्झौताअनुसार सातामा ७ उडान गर्न पाउने गरी सहमति भएको थियो। दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट सात उडान गर्न सक्नेछन्।

नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान प्रतिस्पर्धाको क्षमतामा र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी थियो।

यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमता पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नुपर्ने छ। सोही सम्झौता अनुसार निगमले अष्ट्रेलिया उडान गर्ने छ। 

२७४ सिट क्षमताको वाइडबडीले कोरोनोको समयमा मलेसियामा हवाई इन्धन भरेर सिड्नी उडेको थियो। काठमाडौंबाट सिधा उड्न १५ घण्टा लाग्ने भएकाले निगमले सिंगापुरमा तेल भरेर अष्ट्रेलिया उड्ने प्रस्ताव गरेको हो। काठमाडौंबाट सिंगापुर हुँदै सिड्नी पुगेर फर्कंदा करीब २५ घण्टाको उडान हुने छ।

जहाज खरिदको समयमा अष्ट्रेलिया उड्ने भन्दै प्रचार गरिए पनि हालसम्म पनि उडान भर्न सकेको छैन। निगमले हाल चार जहाजमार्फत दिल्ली, बैंकक, क्वालालम्पुर, बैंग्लोर, हङकङ, दोहा, नारिता, दुवइ, मुम्बई, रियादमा उडान गर्दै आएको छ। निगमसँग दुई वटा ३३० र दुई वटा ३२० जहाज रहेको छ। 

पछिल्लो समय अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको छ। उच्च शिक्षाका लागि बर्सेनि हजारौँ नेपालीहरु अष्ट्रेलिया जाने गरेका छन्। व्यावसायिक विषयको रोजाइ र पढाइ अनि मेहनत गरे आर्थिक रूपमा पनि व्यवस्थापन गर्न सहज हुने भएकाले अस्ट्रेलिया धेरैको रोजाइमा परेको हो। त्यहाँ विद्यार्थीले सातामा २० घण्टासम्म काम गर्न पाउँछन्। अघिल्लाे वर्षकाे सरकारी तथ्यांकअनुसार अष्ट्रेलिया भित्रने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली विद्यार्थी छन्। 


प्रकाशित : बिहीबार , चैत ९ २०७९०८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend