रामपुर- व्यवसाय सञ्चालन गर्ने र छोड्ने नेपाली समाजको वास्तविकतामा रामपुरका वासुदेव ढुंगाना भने फरक देखिएका छन्।
दुई दशकदेखिको गाईपालन व्यवसायलाई निरन्तरता दिँदै आएका ढुंगानाले आफ्नो कामलाई थप व्यावसायिक बताएका छन्। करिब दुई दशक अघिदेखि नै ढुंगानाको घरमा स्थानीय जातका गाई पालिन्थ्यो। स्थानीयवासी गाईको दूधले मानव शरीरलाई पोषिलोपन दिने भएकाले उनी जानकार भएदेखि नै घरमा अनिवार्यजसो गाईपालन गर्थे।
गाईलाई लक्ष्मीका रुपमा हिन्दू समुदायमा पुज्ने तथा पोषिलो दूध सेवन गर्न पाइने हुँदा स्थानीयले गाई पालनलाई नै जोड दिँदै आएका छन्। घरायसी दूध प्रयोजनका लागि मात्र गाईपालन गरेका पाल्पा रामपुर नगरपालिका-५ स्थित सानीअमराई बस्ने ढुंगाना अहिले भने उन्नत जातका गाईपालनबाट समाजमा अनुकरणीय बनेका छन्।
लामो समयसम्म निरन्तर गाईपालनमा लाग्ने उनको शैली, जोश र उत्साह बेग्लै खालको छ। जीवनमा कुनै पनि कुरामा विचलित नहुने ६४ वर्षीय ढुंगानालाई संघर्ष र मेहनतले पाल्पामा अब्बल गाईपालन किसानको रुपमा परिचित बनाएको छ। यस व्यवसायबाट समाजमा नाम र दाम दुवै मिलेपछि उमेरले बुढ्यौलीपनमा छोए पनि व्यवसायमा अझै जोश जागर थपिँदैछ।
‘पहिला त ब्राह्मणका घरमा प्रायजसो स्थानीय जातका धेरैथोरै गाईपालन गर्ने चलन थियो, स्थानीय जातका गाईले पोषिलो दूध दिने, औषधिको रुपमा प्रयोग गरिन्थ्यो’, उनले भने, ‘यसले व्यवसायमुखी हुन सकिएन, पशुपालनबाट आम्दानी पनि बढाउनुपर्यो भनेर स्थानीय छाडेर उन्नत जाततर्फ आकर्षित भइयो।’
उनले विसं २०६० देखि तराईका विभिन्न स्थानबाट उन्नत गाई खरिद गरी व्यवसाय सुरू गरेका हुन्। व्यवसायलाई विस्तार गर्दै जाँदा विसं २०७३ मा कामधेनु उन्नत पशुपालन फार्म दर्ता गरी व्यवसायमा लागेका छन्, ढुंगाना। उनको फार्ममा हाल साना ठूला गरी १३ वटा गाई र एक भैँसी छन्। तीमध्ये अहिले दुईवटा गाई, एक भैँसीबाट दूध उत्पादन भइरहेको छ भने चारवटा गाई ब्याउने छन्।
हाल दैनिक गाई र भैँसीबाट ३० लिटर दूध उत्पादन भइरहेको उनले बताए। रामपुर बेझाड बजारस्थित अमृत दुग्ध भण्डारमा गाईको प्रतिलिटर ६५ र भैँसीको प्रतिलिटर ८५ रूपैयाँमा दूध बिक्री गरिररहेका छन्। उनले बढीमा ६५ लिटरसम्म दूध उत्पादन गरी बजारमा खपत गर्न गर्छन्। ‘गोठमा पालिएका गाईभैँसीबाट राम्रै दूध उत्पादन भइरहेको छ, घर नजिकै बजार रहेको हुँदा बिक्री गर्न झन्झट छैन, बिहान उत्पादित दूध बजार लग्यो बेच्ने, हातमा दाम बुझ्यो, यसले व्यवसायमा हौसला बढिरहेको छ’, उनले सुनाए।
एक गाईबाट उनले एक पटकमा बढीमा २५ लिटरसम्म र कम्तीमा १२ लिटर दूध उत्पादन लिँदै आएका छन्। राम्रोसँग समय समयमा दानापानी, घाँसपात पुर्याउन सकियो भने एक छाकमै धेरै दूध उत्पादन लिन सकिने उनको अनुभव छ। उनले एक महिनामा बढीमा एक लाख र कम्तीमा ४० हजार रूपैयाँसम्म दूध बिक्रीबाट आम्दानी लिइरहेको बताए।
आफ्नै जग्गामा दुईवटा गोठको संरचना तयार पारेर गाईपालन गरिरहेका छन्। गाईको दूध बिक्रीबाट मात्र नभइ मल बिक्री गरेर पनि किसान ढुंगानाले आम्दानी लिइरहेका छन्। गाउँघरमा खेतबारीमा गाईभैँसीको मल प्रयोग गर्ने किसानाई एक ट्र्याक्टर मल आठ हजार रूपैयाँमा बिक्री हुने गरेको छ।
उनी भन्छन्, ‘यस व्यवसायबाट म सन्तुष्ट छु, घरमा दिन बिताउने माध्यम बनेको छ, बिहान साँझ केही समय काम गरेपछि दिनभर फुर्सदिलो भइन्छ, दूध दुहेर बजार पठाएर लिएको आम्दानीले व्यवसायमा ऊर्जा दिएको छ।’ उनले तराईबाट खरिद गरेका पाँच उन्नत जातका गाईबाट व्यवसाय थालनी गरेका हुन्।
अहिले सोही गाईबाट उत्पादन भएका गाई आम्दानीको स्रोत बनिरहेको छ। जर्सी र होलस्टिन गाईलाई खानपान, घाँसपात समयमा मिलाएर दिन सकियो भने दूध उत्पादन राम्रो दिने ढुंगानाको अनुभव छ। एक पटक ब्याएको गाई अर्को पटक ब्याउनुअघि दुई महिना दूध दुहुन छाड्ने गरेको उनी बताउँछन्।
स्थानीय जातको गाईपालनसमेत गरेका उनी अहिले उन्नतमा जोड दिए पनि स्थानीय गाईको दूध सेवन गर्दा स्वाद नै बेग्लै हुने, चरनका कारणले तागतिलो हुने तर आयस्रोतका लागि भने स्थानीय गाईबाट आम्दानी लिन नसकिने अनुभव सुनाए। आफ्नै प्रशस्त जग्गा रहेकाले विभिन्न उन्नत जातका घाँसपात लगाएका छन्। उनले यस व्यवसायका अलवा घरमा तरकारी, फलफूल तथा अन्नबाली समेत उत्पादन गर्दै आएका छन्।
केरा, आलु, धान, मकैलगायतका विभिन्न बालीनाली लगाएका छन्। प्रशस्त गोठमेल खेतीपातीमा प्रयोग गर्दा उत्पादन राम्रो भएको छ। एउटा व्यवसायबाट अन्य व्यवसायमा सघाउ पुग्ने भएकाले किसान राम्रो आर्थिक लाभ लिन सक्नेछन्। रासस