बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मन्त्रालय भागबण्डा नहुँदाको असर सेयर बजारमा, विश्लेषक भन्छन्- अर्थतन्त्रमा सुधार हुँदैछ, बैशाखदेखि उकालो लाग्छ

आइतबार, चैत ५ २०७९
मन्त्रालय भागबण्डा नहुँदाको असर सेयर बजारमा, विश्लेषक भन्छन्- अर्थतन्त्रमा सुधार हुँदैछ, बैशाखदेखि उकालो लाग्छ

काठमाडौं- गएको साता ६९.३९ अंकले घटेको बजारमा यो साता पहिलो कारोबार स्थिर देखिएको छ। लगातार घटिरहेको सेयर बजारमा लगानीकर्ताको साथ मिल्न सकेको छैन। पछिल्लो समय २००० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले विश्वास गुमाएका छन्।

लगानीकर्ताहरू बजारको सकारात्मक पक्षको अपेक्षामा बसेका छन्। केही लगानीकर्ताहरू भएको मूल्य पनि गुम्ने चिन्तामा समेत देखिन्छन्। बजारको आधार बिन्दु नदेखिए पनि १९०० को बिन्दुबाट तल नजाने अपेक्षामा लगानीकर्ताहरू छन्।

यो साता पहिलो कारोबारमा आइतबार ६.९० अंकले घटेर बजार १९२६.४० बिन्दुमा झरेको छ। ७४ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ६ करोड रुपैयाँको मात्र कारोबार भएको छ। 

बजारले आधार नभेट्दा गिरावटको बाटोमा नै देखिएको छ। लगातार गिरावटसँगै कारोबार रकम निकै सुस्त बनेको छ। घटेको बजारमा प्रवेश गर्न लगानीकर्ता डराइरहेका छन्। 

सरकारमा नयाँ अर्थमन्त्री निश्चित नहुँदा र नीतिगत साथ मिल्ने विश्वस्तता नहुँदा पनि बजारमा लगानीकर्ता आश्वस्त नभएको विश्लेषकहरू बताउँछन्। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा पुन: उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहेको देखिन्छ। 

अहिले बैंक तथा वित्तीय संस्थाहरू धमाधम ब्याजदर घटाउँदैछन्। बैंकको निक्षेप पनि बढ्दो ट्रेन्डमा रहेको छ। तर पनि सेयर बजार भने बढ्न सकेको छैन। ब्याजदर घट्दा धितोपत्र बजारमा त्यसको सकारात्मक प्रभाव पर्ने यसअघिका प्रक्षेपणहरू अहिले असफल भएका छन्।

अहिले अर्थतन्त्रमा देखिएको सुधारले बैशाखपछि भने बजारले गति समात्ने विश्लेषकहरू बताउँछन्। विश्लेषक छोटेलाल रौनियार ब्याजदर अझै तल्लो बिन्दुमा नआएको तथा राष्ट्र बैंकले नीति परिर्वतन नगर्दा सेयर बजारमा प्रभाव नदेखिएको बताउँछन्। ‘अहिलेको अर्थतन्त्रको सकारात्मक सुधारले बैशाखदेखि केही प्रभाव पर्ने देखिन्छ,’ रौनियारले भने।  


प्रकाशित : आइतबार, चैत ५ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend