बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

साताभर ओरालो लागेर ६९ अंकले घट्यो सेयर बजार, लगानीकर्ता खोज्दैछन् विश्वासको आधार

बिहीबार , चैत २ २०७९
साताभर ओरालो लागेर ६९ अंकले घट्यो सेयर बजार, लगानीकर्ता खोज्दैछन् विश्वासको आधार

काठमाडौं- यो साताभर सेयर बजारमा कारोबार सुखद रहन सकेन। पहिलो कारोबारमा आइतबार नै २६ अंकले घटेको बजार त्यसपछि पनि सुधारतर्फ बढ्न सकेन। समग्रमा साताभरको कारोबारमा बजार ६९.३९ अंकले घटेको छ।

यो साताको पहिलो कारोबारमा आइतबार २६.८० अंकले घटेको बजार सोमबार २४.६८ अंकले घटेको थियो। मंगलबार १.८५ अंकले बढेको बजार बुधबार १४.४४ अंकले घटेर बजार १९३८.६२ बिन्दुमा झरेको थियो। 

साताको अन्तिम कारोबारमा बिहीबार ५.३२ घटेर बजार १९३३.३१ बिन्दुमा झरेको छ। ९२ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब १४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ। ११९ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको मूल्यमा परिवर्तन आएको छैन। युनिक नेपाल लघुवित्त र शुभम पावर लिमिटेमा सर्किट लागेको छ।

लगातार घटिरहेको सेयर बजारमा लगानीकर्ताको साथ मिल्न सकेको छैन। पछिल्लो समय २००० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले विश्वास गुमाएका छन्।

बजारले आधार नभेट्दा गिरावटको बाटोमा नै देखिएको छ। कारोबार रकम निकै सुस्त बनेको छ। घटेको बजारमा प्रवेश गर्न लगानीकर्ता डराइरहेका छन्। लगानीकर्ताको साथ नपाउँदा ओरालो यात्रा देखिएको छ। 

सरकारमा नयाँ अर्थमन्त्री निश्चित नहुँदा र नीतिगत साथ मिल्ने विश्वस्तता नहुँदा पनि बजारमा लगानीकर्ता आश्वस्त नभएको विश्लेषकहरू बताउँछन्। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा पुन: उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहेको देखिन्छ। 

लगानीकर्ताहरू बजारको सकारात्मक पक्षको अपेक्षामा बसेका छन्। केही लगानीकर्ताहरू भएको मूल्य पनि गुम्ने चिन्तामा समेत रहेको देखिन्छन्। बजारको आधार बिन्दु नदेखिए पनि १९०० को बिन्दुबाट तल नजाने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।


प्रकाशित : बिहीबार , चैत २ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend