बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लघुवित्तको निष्क्रिय कर्जा ६ महिनामा ८३ प्रतिशतसम्म बढ्यो

मंगलबार, फागुन ३० २०७९
लघुवित्तको निष्क्रिय कर्जा ६ महिनामा ८३ प्रतिशतसम्म बढ्यो

काठमाडौं- पछिल्लो समय लघुवित्त कम्पनीको निष्क्रिय कर्जा बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिको ‘लघुवित्त वित्तीय संस्थाको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार निष्क्रिय कर्जा पछिल्लो ६ महिना अवधिमा करिब ८३ प्रतिशतसम्म बढेको देखिएको हो।

'पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपातमा वृद्धि भएको छ। त्यस्तै खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएको छ', प्रतिवेदनमा भनिएको छ।
     
हाल सञ्चालनमा रहेका ६४ वटा लघुवित्त वित्तीय संस्थामध्ये चारवटा थोक कर्जा प्रदायक र ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था रहेका छन्।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा रकम गत असारको तुलनामा ३ दशमलव १७ प्रतिशतले बढेर पुस मसान्तसम्म ५९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम पुस मसान्तमा ३ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा ५२ करोड रुपैयाँ र खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा १८ अर्ब ३४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ। अर्थात् कुल प्रवाहित कर्जामध्ये थोक कर्जा प्रदायकको निष्क्रिय कर्जा शून्य दशमलव ८७ प्रतिशत र खुद्रा कर्जा प्रदायकको निष्क्रिय कर्जा ४ दशमलव ६८ प्रतिशत रहेको छ।
     
गत असार मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ५६ प्रतिशत थियो। अर्थात् पछिल्लो छ महिनामा निष्क्रिय कर्जा ८२ दशमलव ६२ प्रतिशतले बढेको छ ।
     
गत पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको सदस्य सङ्ख्या ५९ लाख ८८ हजार र ऋणी सङ्ख्या ३२ लाख ६० हजार रहेको छ। गत असार मसान्तको तुलनामा लघुवित्तका ऋणी एक दशमलव ३० प्रतिशतले घटेको पनि राष्ट्र बैंकले जनाएको छ।
     
लघुवित्त वित्तीय संस्थाले आफ्नो जोखिमभारित सम्पत्तिको अनुपातमा न्यूनतम प्राथमिक पुँजी चार प्रतिशत र पुँजीकोष आठ प्रतिशत कायम गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ। गतपुस मसान्तसम्म समग्रमा लघुवित्त वित्तीय संस्थाको जोखिमभारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः १२ दशमलव २३ प्रतिशत र १३ दशमलव ४५ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको छ महिना अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी दुई दशमलव २३ प्रतिशतले र जोखिमभारित सम्पत्ति एक दशमलव शून्य सात प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ। 

लघुवित्त वित्तीय संस्थाको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदन


प्रकाशित : मंगलबार, फागुन ३० २०७९१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend