बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

ग्राउन्डेड गुण एयरलाइन्सको वित्तीय अवस्था नाजुक, बक्यौता भुक्तानी नभएसम्म उड्डयनसम्बन्धी काम गर्न नपाउने

मंगलबार, फागुन ३० २०७९
ग्राउन्डेड गुण एयरलाइन्सको वित्तीय अवस्था नाजुक, बक्यौता भुक्तानी नभएसम्म उड्डयनसम्बन्धी काम गर्न नपाउने

विमानस्थल कार्यालयलाई एयरलाइन्सले फेब्रुअरी ९ सम्म तिर्नुपर्ने बक्यौता मात्रै ४ करोड ४४ लाख रुपैयाँ छ। 

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी गुण एयरलाइन्सको वित्तीय अवस्था नाजुक रहेको पाइएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको वित्तीय अडिटमा कम्पनीको अवस्था सन्तोषजनक नरहेको देखिएको प्राधिकरण प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। 

निरौलाका अनुसार अब कम्पनीले उडान सुरू गर्नु पहिले विमानस्थल कार्यालयलाई तिर्न बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्नुपर्ने छ। विमानस्थल कार्यालयलाई एयरलाइन्सले फेब्रुअरी ९ सम्म तिर्नुपर्ने बक्यौता मात्रै ४ करोड ४४ लाख रुपैयाँ छ। 

वित्तीय संकटका कारण एयरलाइन्सको उडान फागुन सुरू भएदेखि बन्द भएको थियो। एयरलाइन्सले पाइलटलाई समेत तलब भुक्तानी गर्न सकेको थिएन। संकटका बिच प्राधिकरणले एयरलाइन्स नै ग्राउन्डेड गराएको थियो। ग्राउन्डेड एयरलाइन्सको वित्तीय अवस्थामामा प्राधिकरणले अडिट गरेको थियो।

अडिटमा वित्तीय अवस्था सन्तोषजनक नरहेको भेटिएको हो। एयरलाइन्सले कर्मचारीलाई समेत तबल भुक्तानी गर्न सकेको छैन।  संकटले घेरिएपछि एयरलाइन्सले यतीसँग खरिद गरेको ५ वटा जेट स्ट्रिम जहाज बिक्री प्रक्रिया सुरू गरेको थियो। तर जहाज बिक्रीको अनुमति लिनका लागि पनि एयरलाइन्सले विमानस्थलको बक्यौता भुक्तानी गर्नुपर्ने छ।

एयरलाइन्ससँग हाल ७ वटा जहाज रहेका छन्। कमजोर वित्तीय अवस्था भएको एयरलाइन्स कम्पनीलाई बक्याैता रकम भुक्तानी नगरेसम्म उड्डयन सम्बन्धित कुनै पनि गतिविधिमा रोक लाग्ने छ। 


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend