बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लयमा रेमिट्यान्स, तीन महिनादेखि खर्बमाथि आयो

सोमबार, फागुन २९ २०७९
लयमा रेमिट्यान्स, तीन महिनादेखि खर्बमाथि आयो

गत वर्षको साउनदेखि माघसम्मको अधविमा रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो। 

काठमाडौं - गत आर्थिक वर्ष रेमिट्यान्समा खासै सुधार नहुँदा दबाबमा परेको अर्थतन्त्रलाई यो वर्षको सुरूदेखि नै लयमा देखिएको छ।  चालु आर्थिक वर्ष सुरु भएदेखि नै विदेशबाट आउने रेमिट्यान्समा सुधार देखिएको छ। 

गत आर्थिक वर्षको अन्तिम त्रैमासदेखि भएको सुधारले अहिलेसम्म निरन्तरता पाएको छ। कोरोना महामारीको समयमा विदेश जाने नेपालीको संख्यामा कमी आउँदा गत वर्ष प्रभावित भएको रेमिट्यान्स यो वर्ष भने लयमा देखिएको हो। राष्ट्र बैंकका अनुसार चालु वर्षको सात महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। 

अमेरिकी डलर बलियो हुँदा रेमिट्यान्सको वृद्धिदर नेपाली रुपैयाँमा उच्च देखिएको छ। नेरुमा रेमिट्यान्स गत वर्षको तुलनामा २७.१ प्रतिशतले बढेको छ। यद्यपि अमेरिकी डलरमै पनि रेमिट्यान्स गत वर्षको यही अवधिको तुलनामा १६ प्रतिशतले बढेको छ। 

गत वर्षको साउनदेखि माघसम्मको अधविमा रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो। 

पछिल्लो समय कामका लागि विदेश जाने नेपालीहरूको संख्यामा वृद्धि भएको तथा अमेरिकी डलर बलियो हुँदा नेपाल आउने रेमिट्यान्समा उच्च वृद्धि देखिएको छ। यही वृद्धिदर कायम भए बाह्य क्षेत्रलाई सन्तुलनमा राख्न सहज हुनेछ। 

पछिल्ला तीन महिनामा भने मासिक १ खर्बबढी रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर, पुष र माघमा खर्बमाथि भित्रिएको छ। 

साउनदेखि असोजसम्म ९० देखि ९७ अर्बको बीचमा रहेको मासिक आप्रवाह मंसिरदेखि भने खर्बमाथिको आँकडा निरन्तर रहेको छ। राष्ट्र बैंकका अनुसार मंसिरमा १ खर्ब २ अर्ब रेमिट्यान्स भित्रिएको थियो। त्यस्तै पुसमा १ खर्ब ४ अर्ब भित्रिएको थियो। माघमा पनि १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ। 

नेपालको भुक्तानी सन्तुलन कायम राख्नमा रेमिट्यान्सको भुमिका रहेको छ। वस्तु व्यापारमा रहेको चरम घाटालाई रेमिट्यान्सबाट प्राप्त विदेशी मुद्राले सन्तुलन कायम गर्दै आएको छ। आयात उच्च हुँदा रेमिट्यान्स सुस्त हुनेवित्तिकै भुक्तानी सन्तुलन प्रभावित हुँदै आएको छ। 

पछिल्लो समय रेमिट्यान्समा देखिएको सुधारलाई अझै तीव्रता दिन सकिने अधिकारीहरूको भनाइ छ। विशेषगरि चुहावट नियन्त्रण गरि रेमिट्सान्स अझै बढाउन सकिने यसअघिका सरकारी अध्ययनको निष्कर्ष छ। 

यो वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा उच्च वृद्धि भएकाले आगामी दिनमा रेमिट्यान्समा अझै वृद्धि हुने आधार रहेको छ। 


प्रकाशित : सोमबार, फागुन २९ २०७९००:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend