नेपाल उद्योग वाणिज्य महासंघको चैतमा हुने साधारणसभाले आगामी कार्यकालका लागि नेतृत्व पनि चयन गर्दैछ। चैत २८, २९ र ३० गते काठमाडौंमा हुने साधारणसभा तथा निर्वाचनका लागि आकांक्षीहरू देश दौडाहमा छन्। महासंघको वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने व्यवस्था छ। यही कारणले सबैभन्दा धेरै प्रतिस्पर्धा र चासो वरिष्ठ उपाध्यक्ष पदमा हुन्छ। आसन्न नेतृत्व चयनको महाधिवेशनमा व्यवसायी अञ्जन श्रेष्ठले आफूलाई वरिष्ठ उपाध्यक्षका रूपमा अघि सारेका छन्।
प्रस्तुत छ विगत दुई दशकदेखि महासंघको केन्द्रिय कार्यकारिणी तथा वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठको चुनावी तयारीका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश -
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभामा तपाईंले आफूलाई वरिष्ठ उपाध्यक्षका रूपमा अघि सार्नुभएको छ। तपाईंले आफ्नो उम्मेद्वारीलाई कसरी अघि सार्नुभएको छ?
नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि मैले दाबेदारी प्रस्तुत गरेको छु। ५७ औँ साधारणसभा तथा नेतृत्व चयनको महाधिवेशनमा मैले आफूलाई वरिष्ठ उपाध्यक्षका रूपमा अघि सारेको छु।
चुनावमा नेतृत्वमा दाबी गरेपछि स्वभाविक रूपमा धेरैभन्दा धेरै व्यवसायी साथीहरूको निकट पुगिन्छ। यसै पनि हामी यही सर्कलमा हुन्छौँ त्यसमाथि अहिलेको समय नै त्यस्तो छ कि २४ सै घण्टा व्यवसायीको सरोकारमा अपडेट हुनुपर्ने छ।
चुनावकै सन्दर्भ तथा वर्तमान आर्थिक अवस्थाका बारेमा जानकारी लिन देशभर पुगिएकै छ। गएको दुई वर्षदेखि हाम्रो दैनिकी यस्तैमा गएको छ। स्वभाविक रूपमा चुनावी अधिवेशन सम्मुखमा पुगेपछि चुनाव तथा भोटको कुरा पनि यहीबीचमा हुने भयो।
निजी क्षेत्रको खम्बाको रूपमा स्थापित महासंघको नेतृत्वमा आफूलाई तयार पार्नका लागि मैले सबैसँग सहकार्य गरिरहेको छु। भोट मागिरहेको छु। साथीहरूका गुनासासँगै सुझाव पनि मागिरहेको छु।
२० वर्षअघि महासंघमा प्रवेश गरेदेखि अहिलेसम्म मैले थुप्रै कुरा सिकेको छु। केही आफैले गरेर, भोगेर र देखेर थुप्रै कुरा सिकेको छु। यो सिकाइसँगै देशभरका व्यवसायीको हकहितका लागि कसरी काम गरेको छु भनेर साथीहरूले महसुस पनि गर्नुभएको छ।
देशको आर्थिक तथा औद्योगिक वातावरण राम्रो बनाउनका लागि निजी क्षेत्रको प्रतिनिधमूलक संस्थाको तर्फबाट केही योगदान गर्न सकिन्छ भनेर म महासंघमा प्रवेश गरेको थिएँ। पहिले म समितिको सदस्यको रुपमा थिएँ। अहिले पदाधिकारीमा नै रहेर व्यवसायीको काम गरिरहेको छु। हामी व्यवसायीहरूको विभिन्न खालको व्यापार व्यवसाय हुन्छ। हामी सबैको एउटै प्रकृतिको एजेन्डा हुन्छ। व्यवसाय प्रवर्द्धनका लागि नीतिगत, संस्थागत र संगठनात्मक रुपमा काम गर्नु पर्ने हुन्छ।
यस्ता कामका लागि संगठनात्मक भूमिका पनि रहन्छ। नीतिगत व्यवस्थाका लागि लविङ गर्नुपर्न हुन्छ। कतिपय आइपर्ने आपतकालीन अवस्थाका लागि पैरवी गर्नुपर्ने हुन्छ। यी काम महासंघबाट गर्न सकिन्छ। यी सबै कामको प्रतिफल भने अन्तत: राज्यलाई नै हुन्छ।
जुन काम महासंघबाट गर्न सकिन्छ भन्ने विश्वासका साथ म सुरूमा छिरेको थिएँ त्यसपछिको सिकाइ तथा भोगाइबाट अझै धेरै गर्न सकिन्छ भन्ने विश्वास अहिले पलाएको छ। त्यहि भएर महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिन लागेको हुँ। समग्रमा भन्नुपर्दा व्यवसायको सुरक्षा र लगानीको वातावरण बनाउन नेतृत्वदायी भूमिका खेल्नका लागि मैले उम्मेद्वारी दिएको छु। मैले संस्थागत रुपमा नेतृत्व लिएर नेपालको समाजिक तथा आर्थिक रुपान्तरणका लागि केही अगाडि बढाउन सक्छु भने दृढ विश्वास छ।
आफूलाई वरिष्ठ उपाध्यक्षको उम्मेद्वारको रुपमा प्रस्तुत गर्दै जिल्ला दौडमा हुनुहुन्छ? देशभरका व्यवसायीको अपेक्षा अहिले के छ महासंघबाट?
लगानीको सुरक्षा नै व्यवसायीको पहिलो प्राथमिकता हो। विभिन्न कारणले उत्पन्न हुने संकट र जोखिम न्यूनीकरणका लागि संस्थागत पैरवीको अपेक्षा व्यवसायीबाट हुन्छ। व्यापार व्यवसायका लागि सहज अवस्थाका लागि नेतृत्वले भूमिका खेलोस् भन्ने उहाँहरूको अपेक्षा हुन्छ।
सरकारले विभिन्न समयमा नीति नियम तर्जुमा गर्छ। यस्ता नीति निर्माणको चरणदेखि नै हरेक व्यवसायी आफैले सहभागिता जनाउन सम्भव हुँदैन। सकभर तर्जुमाको चरणदेखि नै नभए पनि जारी भएपछि पनि व्यवासयिक हितका लागि होस् भन्ने उहाँहरूको अपेक्षा हुन्छ।
व्यवसायको विस्तार तथा प्रबर्द्धनका लागि उपलब्ध हुने सार्वजनिक स्रोतको परिचालन न्यायिक हो, सुविधाको समान पहुँच उपलब्ध हो र व्यवसायका लागि समान मैदान होओस् भन्ने सदाबहार अपेक्षा हुने नै भयो।
१२ वर्ष कार्यसमिति सदस्य तथा अहिले पदाधिकारी (वस्तुगत उपाध्यक्ष)मा रहेर काम गर्दा के अनुभव लिनुभयो? अहिलेसम्म गरेकोभन्दा भिन्न र अझै धेरै काम गर्ने तपाईंको विश्वासको आधार के हो?
नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छासमेत पाँचजना अध्यक्षसँग मैले काम गरिसकेको छु। नेतृत्वअनुसार काम गर्ने शैली फरक हुन्छन्। नेतृत्वअनुसार मिसन र भिजन अवश्य पनि फरक नै थियो। तर सबैले व्यवसायीहरूको हकहितमै काम गर्नु भयो। तर अहिलको परिवर्तित समय पहिलेको भन्दा फरक छ।
पहिले आधुनिक युगको कुरा भइरहेको थियो भने अब डिजिटल युगको कुरा आएको छ। अबको युग भनेको स्मार्ट हो। यस्तो अवस्थामा स्मार्ट नेतृत्व नै चाहिएको छ। व्यवसाय तथा व्यवसायीले पनि स्मार्ट नेतृत्व नै खोजिरहेको छ। स्मार्ट युगमा स्मार्ट नेतृत्वका लागि नै काम गर्न सक्छु भनेर मैले उम्मेद्वारी दिन लागेको हुँ।
यसका लागि मसँग परम्परागत एजेन्डमा काम गरेको अनुभव छ। वर्तमान समयको रियलटाइम बोध पनि मसँग छ। व्यावसायिक वृत्तमा आएको परिवर्तन र सोहीअनुसारको पैरवीको नेतृत्व गर्नसक्ने मसँग धेरै आधार छन्। म सबै हिसाबले योग्य पनि छु। सबैसँग समन्वय गर्नसक्ने मेरो विशेषताले थप योग्य बनाउँछ।
कतिपय व्यक्ति एउटै पदमा बारम्बार दोहोरिन खोज्छन्। जिते पनि हारे पनि दोहोर्याएर फेरि अर्को चुनावमा उनीहरू आइहाल्छन्। तपाईंको यसमा बुझाइ के छ?
मेरो त एउटा स्पष्ट मान्यता छ एउटै ठाउँमा बारम्बार रहिरहने छैन। मैले यो पटक वरिष्ठमा प्रयास गरिरहेको छु। यो प्रयासमा सफल हुने र अगाडि बढ्ने नै मेरो लक्ष्य हो।
म चाहिँ मेरो पूर्ण शक्ति लगाएर व्यवसाय तथा व्यवसायीको हक हितका लागि काम गर्ने अठोट लिएको छु।
५७ औँ साधरणसभामा तपाईंकैहरूकै टिमको एउटा एजेन्डा थियो 'पारदर्शी महासंघ'। यसपटक चाहिँ तपाईं नै टिमको नेतृत्व गर्दै हुनुहुन्छ के छ तपाईंको मुख्य नारा?
मेरो नेतृत्वको टिमले एजेन्डा तयार गर्ने काम गरिरहेका छौँ। हामीले एउटा चाहिँ महासंघको प्रभाव बढाउनु पर्ने विषयमा काम गर्नुपर्नेछ। निश्चित रुपमा पनि हामी बलियो रुपमा प्रस्तुत हुनु पर्छ। अर्को कुरा हामी व्यवसायी पनि जिम्मेवार हुनु पर्छ। हामी व्यवसायी जिम्मेवार भएको अवस्थामा हाम्रो सम्मान पनि बढ्ने हो।
जिम्मेवार भएर आफ्नो मानसम्मानलाई बढाउने काम गर्ने वातावरण बनाउने हो। व्यवसायीले गर्वका साथ व्यवसाय गर्ने वातावरण बनाउने नै हाम्रो प्रमुख एजेन्डा हो। अर्को संगठनात्मक सुदृणीकरण गरेर अझ शसक्त रुपमा लैजाने नै हो।
पछिल्लो समय महासंघ निर्वाचनमा विधान संशोधनको विषय सधैँ किन उठिरहेको छ?
हामीले यो नै विषयमा विधान संशोधन गर्छौं भन्नेभन्दा पनि आजको आवश्यकताअनुसार हुन्छ। विधान भनेको एक पटक बनेपछि सधैँ त्यही हुनुपर्छ भने कुरा पनि होइन। विधान समय सापेक्षित संशोधन हुन्छ। तर व्यवसायीको आवश्यकताअनुसार हुने हो। कुनै एक व्यक्ति विशेष केन्द्रित भएर विधान संशोधन हुँदैन। सम्रगमा आवश्यकताअनुसार हुन्छ।
तपाईंहरू तल्लो तहसम्म पुग्दै गर्दा बैंक व्याजदरलगायतका विषयमा आन्दोलन चर्किरहेको छ। यसै बीचमा अरु गतिविधि पनि बढिरहेको छ। मुख्यतः व्यवसायीको गतिविधि चल्दै गर्दा बाह्य समूहबाट पनि केही गतिविधि अगाडि बढेको छ। यो समस्याको माथिबाट बुझेर जाँदा र तल्लो तहमा रहेको समस्याको बुझाइमा फरक के रहेछ?
यसमा तलबाट हेर्ने र माथिबाट हेर्ने भन्दा पनि सबैतिर समस्या छ। हिमालमा व्यापार गर्नेदेखि पहाड र तराईमा व्यापार गर्ने सबैमा समस्या छ। समस्याबाट कोही पनि अछुतो छैन। सबै व्यवसाय तथा व्यवसायीमा पीडा छ। पीडामा पनि एकातिर ब्याजदर तथा तरलताको समस्या छ।
अर्कोतिर चाहिँ बजार संकुचन हुँदै गएको विषय छ। बजार संकचित हुने तर लोनको ब्याजदर बढ्ने विषय जटिल छ। यस्तो कारण कतिपय व्यवसायी व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेका छन् र कतिपय पलायनसमेत भइसकेका छन्। बजारमा सन्त्रास छाएको छ।
व्यापार गरेर केही कमाएर खाउँला भने स्थिति नै देखिन छोडेको छ। योभन्दा पनि गम्भीर विषय त कोठा तथा घरभाडा नै तिर्न नसक्ने अवस्थामा पुगेको छ। यसले अर्थतन्त्रमा नै गम्भीर असर ल्याउँछ कि भन्ने मेरो बुझाइ हो।