बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लगानीकर्ता धमाधम बिक्री गरेर बाहिरिएसँगै शिवम् सिमेन्टको सेयर मूल्य इतिहासकै सस्तो

आइतबार, फागुन २८ २०७९
लगानीकर्ता धमाधम बिक्री गरेर बाहिरिएसँगै शिवम् सिमेन्टको सेयर मूल्य इतिहासकै सस्तो

घट्दो ट्रेन्डमा भए पनि शिवमको सेयर कारोबार भने उच्च छ। बिक्रीकर्ता धेरै हुँदा आइतबार पनि सबैभन्दा धेरै कारोबार भएको छ।

काठमाडौं- शिवम् सिमेन्टको सेयर मूल्य इतिहासकै सस्तो भएको छ। 

कम्पनीभित्र देखिएको लफडाले लगानीकर्ता धमाधम बाहिरिँदा कम्पनीको सेयर मूल्य लगातार घटिरहेको छ। आइतबार कारोबार भएको सेयर मूल्य पछिल्लो इतिहासकै सस्तो हो। कम्पनीको सेयर आइतबार ४४९.३० रुपैयाँमा कारोबार भएको छ।

जबकि कम्पनीले प्रतिकित्ता ३ सय रूपैयाँमा साधारण सेयर बिक्री गरेको थियो। कम्पनीको सेयर उच्च मूल्य १९१० रुपैयाँसम्म पुगेको थियो। घट्दो ट्रेन्डमा भए पनि शिवमको सेयर कारोबार भने उच्च छ। सेयर लगानीकर्ताहरू धमाधम सेयर बिक्री गरेर बाहिरिरहेका छन्। बिक्रीकर्ता धेरै हुँदा आइतबार पनि सबैभन्दा धेरै कारोबार भएको छ। आइतबार १ लाख ८१ कित्ता सेयर खरिद-बिक्री हुँदा ८ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ।  

shi.JPG

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। शिवमका प्रमोटर सेयर होल्डरहरूले २० लाख कित्ताभन्दा बढी सेयर बिक्री गरेको भन्ने चर्चा चलेपछि सर्वसाधारण लगानीकर्ता बाहिरिएको अनुमान गरिएको छ। 

प्रमोटर सेयरधनी बाहिरिएको चर्चासँगै सर्वसाधारण लगानीकर्ताले धमाधम सेयर बिक्री गरिरहेका छन्। जसका कारण उच्च कारोबारसँगै सेयर मूल्य भने न्यून बिन्दुमा आइपुगेको छ। 

पछिल्लो विवरणअनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको थियो। नयाँ सूचकसँगै दोस्रो बजारका लगानीकर्ताहरु त्रासमा देखिएका छन्। जसकारण सेयर मूल्य घटिरहेको छ। 

व्यवस्थापनमा समस्या आएपछि उत्पादन र बिक्री वितरणमा समेत असर देखिएको छ। केही समय अगाडि प्रमोटर सेयर बिक्री गरेरसमेत केही बाहिरिएका छन्। 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले बिक्रीमार्फत ३ अर्ब ३४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३७ प्रतिशत कमी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब ६० करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०.५८ प्रतिशत घटेको छ भने कुल खर्च १८.८२ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ४७ पैसा घटेर १४ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.८३ गुणा रहेको छ। ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ७० करोड १२ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : आइतबार, फागुन २८ २०७९१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend