बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

निर्माण सम्झौताको अढाई वर्षपछि बिजुलीको खम्बा सार्न सुरसार

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २८ २०७९
images
images
निर्माण सम्झौताको अढाई वर्षपछि बिजुलीको खम्बा सार्न सुरसार

निर्माण कम्पनीले सडक निर्माणका क्रममा करिब तीनसय खम्बा हटाउनुपर्ने अवस्था रहेको जनाएको छ। सडक निर्माण योजनाअन्तर्गत हालसम्म १४ किमी सडक कालोपत्रमध्ये साढे नौ किमी सम्पन्न भइसकेको छ।

images
images

महेन्द्रनगर- विकास निर्माणका काममा सहकार्य र सहजीकरणको अभाव हुँदा योजना सुरू भएको अढाई वर्षभन्दा बढी समयपछि मात्र कञ्चनपुरको महेन्द्रनगरमा बिजुलीको खम्बा स्थानान्तरणका लागि अग्रसरता देखाइएको छ।

images
images
images

महेन्द्रनगर बजार र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई लक्ष्य गरी मझगाउँसम्म निर्माण गरिएको सडकमा जथाभावी बिजुलीका खम्बा छरपस्ट देखिएपछि सडक दुर्घटनाको जोखिम बढ्ने भन्दै स्थानीयवासीले विरोध गरेकाले उक्त आयोजना पुनर्विचार गरेर नयाँ भेरिएसन स्वीकृतिका लागि पहल भएको छ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा महेन्द्रनगर बजार गल्लीको सडकका साथै मदनचोकदेखि मझगाउँसम्मको नमुना सडक जेडआईसीसी लामा जेभीले निर्माण गरिरहेको छ।

images

‘सडक स्तरोन्नति भएका धेरै ठाउँमा कालोपत्र गर्दा बिजुलीका खम्बा नहटाएरै काम गरिएपछि सो विषयमा पटकपटक छलफल पनि भयो’, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले भने, ‘विद्युत् प्राधिकरणको नियममा ११ मिटर लम्बाइको खम्बा राख्नुपर्नेमा निर्माण कम्पनीले नौ मिटरको खम्बा राख्ने अनुमति पाएपछि सोही कारणले समस्या निम्तियो।’ 

images

बजारमा अस्तव्यस्त तरिकाले काम गरिँदा जनतालाई समस्या भएको गुनासो आएपछि उक्त विषयमा सहजीकरणका लागि निर्माण पक्षसित धेरै पटक खम्बा व्यवस्थापनका लागि आग्रह गरिएको प्रमुख बोहराको भनाइ थियो। ‘रिभ्यालुएसनका लागि फाइल अघि बढाइएको भन्ने छ’, उनले भने, ‘त्यो स्वीकृत भएर आए खम्बा हटाएर सडक कालोपत्रको काम हुन्छ।’

त्यसैगरी नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तले बजार क्षेत्रमा सडक स्तरोन्नति भइरहेको क्षेत्रमा बिजुलीका खम्बा हटाउने विषयमा निर्माण कम्पनीसित सहमति भएर काम अघि बढिसकेको बताए।

‘निर्माण कम्पनीको सम्झौतामा नौ मिटरको पोल नै रहेछ, अहिले ११ मिटर गर्नुपर्ने विषयमा कम्पनीले पुनःस्वीकृतिका लागि फाइल माथि पठाइसक्यो’, प्रमुख श्रीवास्तले भने, ‘सो स्वीकृत भएर आएर खम्बा हटाउने र जडानका क्रममा हाम्रो प्राविधिकलगायतको सहयोग रहन्छ।’

उनले आयोजना सुरू हुनुअघि बन्ने विस्तृत परियोजना प्रतिवेदनदेखि योजनाको ठेक्का भइसक्दासम्म सरोकारवाला निकायसित सहकार्य नहुँदा समस्या आउने गरेको बताए। ‘फिल्डमा काममा समस्या आइपरेपछि मात्रै समन्वय गर्न आउने प्रचलन जस्तै बन्यो’, प्रमुख श्रीवास्तले भने, ‘अहिले बजारमा सडक कालोपत्र तर खम्बा बीचमा हुँदा कुरुप देखिएको छ।’

उनले ११ हजार हाइटेन्सन लाइनमा ११ मिटर र घरलगायत ससाना उद्योग प्रयोजनका लागि लाइनमा नौ मिटरका विद्युत्का खम्बा राख्नुपर्ने बताए। दीर्घकालीनरुपमा समस्या नआउने गरी यहाँ विद्युत्को खम्बा राख्ने विषयमा आफू सचेत रहेको श्रीवास्तको भनाइ थियो।

चौध किमी सडक निर्माणका लागि क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीले निर्माण कम्पनीसित २०७७ असारमा ८८ करोड रूपैयाँमा सम्झौता भएको थियो। पहिलो पटक म्याद थप गरेर गत पुसमा सकिँदा पनि निर्माण पक्षले खम्बा हटाउने विषयमा ठोस पहल नगरेकै कारण समस्या यथावत रहन पुगेको स्थानीयवासीको आरोप थियो।

जेडआईसीसी लामा जेभीका इञ्जिनीयर भूपेन्द्र सिंहले आयोजनाको निर्माण ठेक्कामा आफूहरुलाई नौ मिटरको खम्बाको विषय मात्रै उल्लेख भएको बताए। ‘हामीले सम्झौताअनुसार नै काम गर्नसक्ने भएकाले उक्त विषयमा ‘भेरिएसन’ का लागि पुनःविभाग पठाएका छौँ’, उनले भने।

निर्माण कम्पनीले सडक निर्माणका क्रममा करिब तीन सय खम्बा हटाउनुपर्ने अवस्था रहेको जनाएको छ। ‘धेरै ठाउँमा त खम्बा नहटाएरै बाध्यताले सडक कालोपत्र गरेका छौँ’, इञ्जिनीयर सिंहले भने, ‘सडकमा पर्ने खम्बा हटाउने र नयाँ राख्ने काम ‘भिओ’ स्वीकृत भएर आइसकेपछि मात्रै हुनेछ।’ सडक निर्माण योजनाअन्तर्गत हालसम्म १४ किमी सडक कालोपत्रमध्ये साढे नौ किमी सम्पन्न भइसकेको छ।

उक्त योजनामा यहाँ सडक स्तरोन्नतिका साथै नाली, नमुना सडकमा सौर्यबत्ती जडान, साइकल लेन तथा फुटपाथलगायत संरचना निर्माणाधीन अवस्थामा छन्। योजनाको दोस्रो पटक म्याद थप भएर आगामी असार मसान्तभित्र काम सक्न भनिएको इञ्जिनीयर सिंहको भनाइ थियो।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुदूरपश्चिम प्रदेशका चार सहर, धनगढी, महेन्द्रनगर, अत्तरिया र झलारीमा आधुनिक सडक निर्माण भइरहेको छ। सडक स्तरोन्नतिसँगै चारवटै पालिकामा फोहर प्रशोधन केन्द्रकोसमेत निर्माण हुनेछ। फोहर प्रशोधन केन्द्रका लागि भीमदत्त नगरपालिकाबाहेक अन्य पालिकाले जग्गाको टुंगाे लगाएर काम अघि बढाइसकेका छन्। रासस 


प्रकाशित : आइतबार, फागुन २८ २०७९०८:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend