बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २८ २०७९
मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल

अंग्रेजी वर्ष २०२३ सुरू भएयता तीन हजार छसय ६९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। मार्च महिनाभित्र ११ दिनको अवधिमा एक हजार आठसय ४४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका एक्पाप जोमसोम शाखाले जनाएको छ।

म्याग्दी- बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ। म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी-जोमसोम सडकमा चाप बढेको हो। 

मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए।

‘सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,’ उनले भने, ‘थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ।’ सन् २०२३ को मार्च महिनाभित्र ११ दिनको अवधिमा एक हजार आठ सय ४४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका एक्पाप जोमसोम शाखाले जनाएको छ।

अंग्रेजी वर्ष २०२३ सुरू भएयता तीन हजार छसय ६९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। जनवरीमा एकसय ३१ र फेब्रुअरीमा एक हजार छसय ९९ पर्यटक आएका थिए। सन् २०२२ मा ४८ देशका ६५ हजार नौसय ४० जनाले मुस्ताङ भ्रमण गरेकामा ४६ हजार सातसय २४ जना सार्क र १९ हजार दुईसय छ जना तेस्रो मुलुकका थिए।

सार्क राष्ट्रमध्ये धेरै पर्यटक भारतका हुन्। म्याग्दी भएर दैनिक ५० वटा बस र एकसय ५० जीप (पर्यटक सवारीसाधन) बाट मुस्ताङ भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। अनुकुल मौसम, सडक यातायात र होटलको सहजतासँगै मुस्ताङमा पर्यटकको आगमन बढेको होटल व्यवसायी सम्झना थकालीले बताए।

विदेशीको तुलनामा स्वदेशी पर्यटक बढी छन्। आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट पनि समूह बनाएर भ्रमणमा आएका छन्। चीनको सिमानास्थित कोरला नाकासम्म सडक पुगेको छ। यातायातको सहज पहुँचसँगै यात्राको खर्च घटेको र समय छोटिएको छ।

मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीका व्यवसायीलाई पनि राहत मिलेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष बाबुराम आचार्यले बताए। बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटल पाहुनाले भरिन थालेका छन्। रासस 


प्रकाशित : आइतबार, फागुन २८ २०७९०६:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend