मंगलबार, जेठ १ गते २०८१    
images
images

एमसीसीले निर्माण गर्ने ३१२ किलोमिटर लामो प्रसारण लाइनले बिजुली निर्यातमा खोल्नेछ नयाँ ढोका

images
images
images
एमसीसीले निर्माण गर्ने ३१२ किलोमिटर लामो प्रसारण लाइनले बिजुली निर्यातमा खोल्नेछ नयाँ ढोका
images
images

काठमाडौं- नेपालमा विद्युत विकासमा प्रसारण लाइन निर्माण नै मुख्य जटिल समस्या हुने गरेको छ। एउटा टावर निर्माण गर्नु नै एउटा आयोजना जस्तो जटिल बनिरहेको छ। अमेरिकी सहयोग सम्झौता एमसीसीले भने पाँच वर्षभित्रै ३ सय १२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्दै छ। जुन प्रसारण लाइनले नेपालको बिजुली निर्यातामा अर्को 'ब्रेकथ्रु' गर्ने छ। 

images
images
images

कुल ३ सय १२ किलोमिटर लामो प्रसारण लाइन ४ सय केभी क्षमताको हुनेछ। त्यसमा ८ सय ५६ टावर निर्माण हुनेछ। प्रसारण लाइन १० जिल्लाका ३० पालिका र ९२ वडा भएर जान्छ। 

images

प्रसारण लाइनले नेपालबाट भारतसम्म जोड्ने पूर्वाधार तयार गर्नेछ। बुटवलबाट भारतको गोरखपुरसम्म नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने अन्तरदेशीय प्रसारण लाइन निर्माणको कार्यलाई उक्त पूर्वाधारले सहयोग पुर्‍याउनेछ। 

images

नेपालतर्फको कुल २० किलोमिटर र भारततर्फ कुल १ सय २० किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ। न्यू बुटवल हाल नेपाल विद्युत् प्राधिकरणको सबस्टेशन रहेकै स्थानमा ४ सय केभी क्षमताको सबस्टेशन समेत निर्माण हुनेछ। प्रसारण ग्रिड कम्पनीको गुरुयोजनाअनुसार बुटवलमा हव स्टेशन निर्माण गर्ने योजना धेरै पहिल्यै अगाडि सारिएको हो।

images
images

एमसीसीको सहयोगमा निर्माण हुने ३१२ किलोमिटर लामो डबल सर्किटयुक्त प्रसारण लाइनअन्तर्गत तीनवटा नयाँ ४ सय केभी क्षमताको ‘इन्डोर ग्यास इन्सुलेटेड सब-स्टेशन’ निर्माण हुने एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट बताउँछन्।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सब-स्टेशन, तनहुँ जिल्लाको दमौलीमा सब-स्टेशन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा न्यू बुटवल सब-स्टेशन निर्माण गरिनेछ। एमसीसीसँग जोडिएको प्रसारण लाइन काठमाडौंको लप्सीफेदी र मकवानपुर जिल्लाको हेटौँडास्थित सब-स्टेशनमा जोडिनेछ। काठमाडौं उपत्यका, हेटौँडा, नारायणगढ, बुटवल दाङ र पोखरामा सहज रुपमा बिजुली उपलब्ध गराउन ती प्रसारण लाइनको महत्वपूर्ण भूमिका रहनेछ।

कुल ४ सय किलोभोल्ट क्षमताको डबल सर्किट प्रसारण लाइनले झन्डै तीन हजार मेगावाट बराबरको बिजुली आयात निर्यात गर्न सकिन्छ। सहरी क्षेत्रमा विद्युत् खपत बढाउन तथा अमेरिकी डलर खर्च गरेर आयात गरिने पेट्रोलियम पदार्थको खपतसमेत कम गर्न सकिन्छ।

एमसीए नेपालका कार्यकारी निर्देशक विष्टका अनुसार काठमाडौंको उत्तर पूर्वमा रहको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्म एउटा प्रसारण लाइन जानेछ। रातमाटेबाट भने एउटा प्रसारण लाइन हेटौँडा जानेछ। अर्को प्रसारण लाइन दमौली जान्छ। नेपाल प्राधिकरणले हाल हेटौँडा-ढल्केबर- इनरुवा प्रसारण निर्माण गरिरहेको छ। रातमाटेबाट गएको प्रसारण लाइन सोही प्रसारण लाइनसँग जोडिन्छ। त्यसबाट पूर्वको बिजुली सहज रुपमा आयात गर्न सहयोग पुग्ने प्राधिकरणको बुझाइ छ।

यस्तै दमौलीबाट  कुल ८० किलोमिटर लामो प्रसारण लाइन दक्षिणतर्फ गएर नवलपरासीस्थित नयाँ बुटवल सबस्टेशनमामा जोडिन्छ। सो सबस्टेशनबाट नेपाल भारत सीमा क्षेत्रसम्म पुग्न थप २० किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्नुपर्छ।

नेपाल सरकार र अमेरिकी सरकारको एमसीसीबीच सन् २०१७ मा हस्ताक्षर भएको थियो। प्रसारण लाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी जिल्ला भएर जान्छ। प्रसारण लाइन निर्माण हुने जिल्लाका प्रभावित क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनलगायत काम सम्पन्न भएका छन्। अब जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति लिन बाँकी छ।

सम्झौताअनुसार आयोजना अगाडि बढेपछि नेपालले आगामी पाँच वर्षभित्र अमेरिकी सरकारबाट झन्डै ५० करोड अमेरिकी डलर (करिब ६० अर्ब रूपैयाँ) अनुदान सहयोग प्राप्त गर्नेछ। एमसीसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ४० करोड डलर विद्युत् प्रसारण लाइन निर्माणमा खर्च हुनेछ।

एमसीसीको पाँच करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको चन्द्रौटा, धानखोला, भालुवाङ, लमही हुँदै शिवखोलासम्मको सडक स्तरोन्नति गनिरेछ। यस्तै, झन्डै १०० किलोमिटर सडक मर्मतमा खर्च गरिनेछ।

प्रसारण लाइन निर्माण हुने क्षेत्रमा मात्रै करिब दुई लाख १७ हजार बराबर रूखबिरुवा काट्नुपर्छ। त्यसमा रूखभन्दा पनि बुट्यान धेरै रहेको एमसीए नेपालको अध्ययनमा देखिएको छ।

एमसीए नेपालले गरेको सामान्य हिसाबमा मुआब्जाका लागि झन्डै आठ अर्ब बराबरको खर्च हुनेछ। त्यसमध्ये डेढ अर्ब रुपैयाँ नुवाकोटको रातमाटेमा वितरण भइसकेको छ। त्यहाँ सबस्टेशन निर्माण हुन्छ। पहाड तथा डाँडाकाँडा भएर प्रसारण लाइन जाने हुनाले धेरै खर्च नपर्ने देखिन्छ।

images

प्रकाशित : आइतबार, फागुन २८ २०७९०४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend