बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

आन्तरिक पर्यटकको रोजाइमा मैस्याङटार

images
शनिबार, फागुन २७ २०७९
images
images
आन्तरिक पर्यटकको रोजाइमा मैस्याङटार

पालिका र प्रदेश सरकारको लगानीमा पर्यटन प्रवर्द्धनको काम सुरु भएसँगै घुमफिर तथा दृश्यावलोकनका लागि आउने बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको स्थानीयले बताएका छन्। 

images
images

खोटाङ- दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित पर्यटकीयस्थल मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। चारैतिर घना जंगलको बीचमा अग्लो डाँडामाथि हरिया चउर रहेको मैस्याङटार गाउँपालिका र प्रदेश सरकारको लगानीमा प्रवद्र्धन थालिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो।

images
images
images

यहाँ नयाँ वर्ष, दसैँ, तिहार, साकेला उभौली तथा मङ्सिरपछि आन्तरिक पर्यटक पुग्नुका साथै स्थानीय बासिन्दा वनभोज (पिकनिक) जाने गरेका थिए। प्राकृतिकरुपमा सुन्दर भएकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस क्षेत्रमा उद्यान तथा पदमार्ग निर्माण गरिएको छ।

प्रवद्र्धनको काम थालिएसँगै पछिल्लो समय यहाँ घुमफिर र भ्रमण गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए। 'यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुव स्मृति उद्यान, मैस्याङटारको शिरमा पुग्ने पदमार्गलगायत संरचना बनिसकेका  छन्', उनले भने। वडाध्यक्ष राईले सुम्नीमा-पारुहाङ उद्यान निर्माण भइरहेको उल्लेख गर्दै निर्माणाधीन अवस्थामा पनि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको बताए। 

images

एक हजार एक सय रोपनी क्षेत्रफलमा रहेको मैस्याङटार घुम्न आउनेका लागि विभिन्न ठाउँमा मनोरञ्जन गर्न तथा आराम गर्न मिल्ने फलैँचा बनाइएको छ। पालिका र प्रदेश सरकारको लगानीमा पर्यटन प्रवर्द्धनको काम सुरु भएसँगै घुमफिर तथा दृश्यावलोकनका लागि आउने बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको स्थानीयले बताएका छन्। 

images

आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परे पनि दिप्रुङ चुइचुम्माको मैस्याङटार रोजाइमा पर्ने गरेको छ। यहाँबाट तराईका विभिन्न फाँट तथा सप्तकोसीस्थित भीमनगरको पुलसमेत देख्न सकिन्छ। यहाँसम्म पुग्न कच्ची सडक बनिसकेको छ। सडकबाट उत्तिस र सल्लाको जंगल पार गर्दै करिब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ। 

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको लगानीमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको पालिका अध्यक्ष प्रमुख लोकेन्द्र राईले जानकारी दिए। 'प्रदेश सरकारले गत वर्ष १५ लाख रुपैयाँ विनियोजन गरेको थियो। यस वर्ष १० लाख विनियोजन गरेको छ', उनले भने, 'मैस्याङटारको चौतर्फी विकास गर्न स्थानीय अकिराज राईको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेर काम थालिएको छ।'

मैस्याङटारको चौतर्फी विकासका लागि चार करोड ८८ लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको छ। डीपीआरअनुसार यहाँ किराँती राजा यलम्बर, बुद्ध, शिव, पार्वती र गणेशको मूर्ति स्थापनाका साथै अतिथि भवनलगायतका संरचना निर्माण गरिनेछ। मैस्याङटारबाट उत्तरी क्षेत्रमा पर्ने सगरमाथादेखि दक्षिणमा तराईका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ।  रासस


प्रकाशित : शनिबार, फागुन २७ २०७९११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend