शनिबार, मंसिर १५ गते २०८१    
images
images

झापामा पहिलोपटक शिवसताक्षी नगरपालिकाले सञ्चालनमा ल्यायो फोहर जलाउने अत्याधुनिक इन्सिनेरेटर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २६ २०७९
images
images
झापामा पहिलोपटक शिवसताक्षी नगरपालिकाले सञ्चालनमा ल्यायो फोहर जलाउने अत्याधुनिक इन्सिनेरेटर

झापामा १५ पालिकामध्ये इन्सिनेरेटर भित्र्याउने शिवसताक्षी पहिलो पालिका हो।

images
images

झापा- झापामा पहिलोपटक शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ।

images
images
images

नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटरको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताए। 

images

प्रतिघण्टा ३०० केजी फोहर जलाएर नष्ट गर्नसक्ने क्षमताको सो उपकरण दुई वर्षअघि नै खरिद गरेर नगरपालिका कार्यालय परिसरमा राखिएको थियो। सो उपकरणले फलामबाहेक प्लास्टिकजन्य फोहरलाई सुरक्षितरुपमा च्याम्बरभित्र जलाएर क्षणभरमै खरानीमा परिणत गरिदिन्छ।

images

इन्सिनेरेटर खरिदमा एक करोड र व्यवस्थापन केन्द्र निर्माणमा दुई करोड रूपैयाँ खर्च भइसकेको जनाउँदै यस परियोजनाका लागि सम्पूर्ण संरचना निर्माण गर्न १२ करोड रूपैयाँ लगानी हुने नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए। 

फोहर छुट्याउने चेम्बर, गाडी पार्किङलगायतस्थाल निर्माण गरेर एक महिनापछि फोहर व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनमा ल्याइने उनले ताए। फोहर व्यवस्थापन केन्द्रभित्र आकर्षक बगैँचा बनाउने नगरको योजना छ।

झापामा १५ पालिकामध्ये इन्सिनेरेटर भित्र्याउने शिवसताक्षी पहिलो पालिका हो। फोहर प्रशोधन केन्द्र सञ्चालनपछि नगरको फोहर व्यवस्थानमा सहज हुने उनको भनाइ थियो। फोहर प्रशोधन केन्द्रको व्यवस्थापनमा लाग्ने इन्धन, कर्मचारी र गाडीको व्यवस्थापनका लागि स्रोत जुटाउन नगरपालिकाले फोहर उत्पादन हुने प्रकृति हेरी नगरवासीसँग न्यूनतम शुल्क असुल गर्ने जनाएको छ। 

घर, पसल र बजारबाट संकलन गरिएको फोहरलाई प्रशोधन केन्द्रसम्म ल्याउन खर्च लाग्ने हुँदा न्यूनतम शुल्क लिने निर्णय गरिएको नगरप्रमुख थोप्राले बताए। इन्सिनेरेटर सञ्चालन गर्न विद्युत् र डिजेल इन्धन आवश्यक पर्छ। प्रतिकेजी फोहर जलाउन औसत १२ रूपैयाँसम्म लागत पर्ने हुँदा यसको प्रयोग महँगो हुने देखिएको छ। 

उक्त उपकरणको  क्षमताअनुसार शिवसताक्षी नगरभित्र फोहर उत्पादन कम हुने भएकाले छिमेकी पालिकासँग सहकार्य आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए। ‘प्रतिघण्टा ३०० केजी फोहर जलाउने क्षमता उक्त उपकरणको  छ, बजार क्षेत्र धेरै नभएका कारण शिवसताक्षी नगरभित्र त्यति धेरै फोहर उत्पादन हुँदैन’, अधिकृत राईले भने, ‘छिमेकी पालिकाकोसमेत फोहर जलाउने व्यवस्था मिलाएर लागत शेयरिङ गर्ने हाम्रो योजना छ।’ 

झापामा दमक, विर्तामोड र मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै फोहरमैला उत्पादन हुने गरेको छ। विर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकाले कनकाइको जामुनखाडीमा फोहरबाट जैविक ग्यास र कम्पोस्ट मल बनाउने संयुक्त परियोजना निर्माण गरेका छन्। दमकले एकल प्रयासमा फोहरबाट जैविक ग्यास उत्पादन गर्न थालिसकेको छ भने मेचीनगरमा अहिलेसम्म खोला किनारमा जथाभावी फोहर फ्याँक्ने गरिएको छ। रासस 


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९०८:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend